अर्थतन्त्रको आकार ठूलो बागमतीको, विस्तारित गण्डकीको

अर्थतन्त्रको आकार ठूलो बागमतीको, विस्तारित गण्डकीको

काठमाडौं : चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकका अनुसार कुल गार्हस्थमा बागमतीको योगदान ३६.४ प्रतिशत हुने अनुमान गरिएको हो।

अर्थतन्त्रको आकारमा हुने वृद्धिदरमा भने गण्डकी प्रदेश पहिलो नम्बरमा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा मुलुकको अर्थतन्त्र आकार ३.८७ प्रतिशतले विस्तार भई करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएको छ।

अघिल्लो आर्थिक वर्षको संशोधित अनुमानबमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको बताइएको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको कार्यलयको रिपोर्टमा उल्लेख छ। 

यसैगरी राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत, लुम्बिनी प्रदेशको १४.३ प्रतिशत, मधेस प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान कार्यालयको छ। 

कुल अर्थतन्त्रको आकारमा २० खर्ब ७४ अर्ब बागमतीको, ९ खर्ब ३ अर्ब कोशीको, ८ खर्ब १४ अर्ब लुम्बिनको, ७ खर्ब ४८ अर्ब मधेस प्रदेशको, ५ खर्ब १७ अर्ब गण्डकीको, ४ खर्ब ४ अर्ब सुदूरपश्चिमको र २ खर्ब ४४ अर्ब कर्णाली प्रदेशको योगदान हुने अनुमान कार्यलयको छ।

विस्तारित अर्थतन्त्र गण्डकीको

अनुमान गरिएको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशतभन्दा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको वृद्धिदर धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ। कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको हुने तथ्यांकले देखाउँछ। ४.५५ प्रतिशतले गण्डकी प्रदेशमा अर्थतन्त्रको आकार बढ्ने अनुमान गरिएको हो।

कुल गार्हस्थ्य उत्पादनमा गण्डकीको अर्थतन्त्रको आकार ९.१ प्रतिशत अर्थात् ५ खर्ब १७ अर्बको भए पनि अर्थतन्त्रको आकारको वृद्धिदर भने विस्तारित भएको तथ्यांकले देखाएको छ। सबैभन्दा थोरै वृद्धिदर कर्णालीको ३.३९ प्रतिशत हुने भनिएको छ। अर्थतन्त्रको वृद्धिदरमा दोस्रोमा लुम्बिनी प्रदेश(४.०५प्रतिशत)को देखिएको छ। 

सबै प्रदेशमा आ.व.२०७८/७९ को वृद्धिदरभन्दा आव२०७९/८० को वृद्धिदर कम देखिन्छ भने आव२०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै देखिन्छ।

प्रदेशगत औद्योगिक क्षेत्रको योगदान

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिने उल्लेख छ। बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिन्छ ।

बागमती र मधेस प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ। बागमतीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनसम्बन्धी क्रियाकलाप र मधेसमा खनिज तथा उत्खनन क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ। व्यापार क्षेत्रले मधेस प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ। त्यसैगरी, चालु आर्थिक वर्षमा औद्योगिक वर्गीकरणअनुसार, औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर आवास तथा भोजन सेवाको सबैभन्दा धेरै (२१.८४ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएको छ। लुम्बिनी प्रदेशबाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान छ।

लुम्बिनी प्रदेशमा विद्युत् क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ। त्यसैगरी सुदूरपश्चिम र कोशी प्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ भने अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून छ। निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेशबाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ। राष्ट्रिय तहमा पनि यी दुई क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ। 

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी बागमतीको

चालु वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको योगादन हुने देखिन्छ। यस वर्ष २४८४ अमेरिकी डलर प्रतिव्यक्ति आय बागमतीको हुने भनिएको छ। देशको औसत प्रतिव्यक्ति आय भने १४३४ डलर हुने अनुमान गरिएको छ। अघिल्लो वर्षमा पनि बागमती कै प्रतिव्यक्ति आय अन्य प्रदेशको भन्दा बढी हुने संशोधित अनुमान गरिएको छ। सबैभन्दा थोरै भने मधेस प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ। मधेस प्रदेशको प्रतिव्यक्ति आय ८९२ अमेरिकी डलर हुने देखिएको छ।

यसैगरी दोस्रोमा गण्डकी प्रदेशको १५५७, कोशी प्रदेशको १३३६, लुम्बिनी प्रदेशको ११५९, सुदूरपश्चिम प्रदेशको ११११ र कर्णाली प्रदेशको १०६६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय औसत प्रतिव्यक्ति आयसँग तुलना गर्दा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ।  

 

  •     आर्थिक वर्ष २०८०/८१ मा मुलुकको अर्थतन्त्र आकार ३.८७ प्रतिशतले विस्तार भई करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएको छ। 
  •     सराष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत, लुम्बिनी प्रदेशको १४.३ प्रतिशत, मधेस प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान कार्यालयको छ।
  •     कुल अर्थतन्त्रको आकारमा २० खर्ब ७४ अर्ब बागमतीको, ९ खर्ब ३ अर्ब कोशीको, ८ खर्ब १४ अर्ब लुम्बिनको, ७ खर्ब ४८ अर्ब मधेस प्रदेशको, ५ खर्ब १७ अर्ब गण्डकीको, ४ खर्ब ४ अर्ब सुदूरपश्चिमको र २ खर्ब ४४ अर्ब कर्णाली प्रदेशको योगदान हुने अनुमान कार्यलयको छ।

कुन प्रदेशको अर्थतन्त्र कस्तो ? 

कोशी प्रदेश 
कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब(१५.८४ प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कोशीको आकार करिब ८ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशले १५.८८ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान रहेको छ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु वर्ष ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्षमा २.१३ प्रतिशत रहने संशोधित अनुमान छ। कोशी प्रदेशको यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३२.८० प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३२ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ।

गत आव २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३२.६८ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा क्षेत्रगत रूपमा यस वर्ष कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.३२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.६७ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। 

मधेस प्रदेश
मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ४८ अर्ब योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ। गत वर्षको यस्तो संशोधित अनुमान करिब ७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष १३.१२ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान सरकारी तथ्यांकको छ। अघिल्लो वर्ष १३.१४ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान रहेको छ।null

यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु वर्ष ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत वर्ष १.५० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु वर्षमा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३५.१९ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१५ प्रतिशत) योगदान खानी तथा उत्खनन क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ।

अघिल्लो वर्षमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३४.८१ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र खानी तथा उत्खनन क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको छ। मधेस प्रदेशमा क्षेत्रगत रूपमा कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२१.९५ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.१९ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो वर्षमा यस्तो वृद्धिदर सबैभन्दा धेरै (१५.६९ प्रतिशत) विद्युत् क्षेत्रको र सबैभन्दा थोरै (–३.३६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

बागमती प्रदेश 
कुल गार्हस्थ्य उत्पादनमा करिब एकतिहाइ हिस्सा ओगट्ने बागमती प्रदेशले २० खर्ब ७५ अर्बको अर्थतन्त्रको आकार रहने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्ष यस प्रदेशको यस्तो आकार करिब १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

चालु वर्ष कुल ग्राहस्थमा सबैभन्दा धेरै (२१.५३ प्रतिशत) योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने र सबैभन्दा न्यून (०.२८ प्रतिशत) योगदान पानी आपूर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत वर्षमा पनि थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको योगदान अग्रस्थान (२१.९८ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान (०.३० प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ।

बागमती प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.९३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.७१ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आव २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (१८.७० प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.९८ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान ५ खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्ष यस्तो अनुमान ४ खर्ब ८४ अर्ब रहने भनिएको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्षमा पनि यस प्रदेशले ९.०६ प्रतिशत नै योगदान पुर्‍याउने संशोधित अनुमान रहेको छ।

त्यसैगरी, यस प्रदेशको अर्थतन्त्रको आकारको वृद्धिदर चालु वर्षमा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत वर्ष ३.३० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२५.७२ प्रतिशत) योगदान कृषि, वन तथा मक्षय क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३१ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ।

गत गत आव २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२५.४३ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान गरिएको छ। गण्डकी प्रदेशमा कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.८४ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.९६ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२१.९७ प्रतिशत) विद्युत् क्षेत्रको र सबैभन्दा थोरै (–२.७६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश

चालु वर्षका लागि लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार ८ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्षमा ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.९९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.६३ प्रतिशत) योगदान कृषि, वन तथा मक्षय क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३४ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। क्षेत्रगत रूपमा हेर्दा चालु आव २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२८.९३ प्रतिशत) विद्युत् क्षेत्रको र सबैभन्दा थोरै (–१.४३ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। 

कर्णाली प्रदेश
कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान २ खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएकोमा गत वर्षको संशोधित अनुमान २ खर्ब २९ अर्ब रहेको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

चालु वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.५१ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१७ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। यस्तै, क्षेत्रगत रूपमा हेर्दा चालु वर्ष कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.५२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.०२ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। 

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको ४ खर्ब ४ अर्ब रुपैयाँको अर्थतन्त्रको आकार हुने प्रारम्भिक अनुमान गरिएको छ। यो चालु वर्षको अनुमान हो। गत वर्ष  ३ खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.५२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

चालु आव २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३३.०० प्रतिशत) योगदान कृषि, वन तथा मक्ष्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१३ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। सुदूरपश्चिम प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.३३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.८२ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.