राष्ट्रिय पुस्तकालयहरूका भवन कहिले ?

राष्ट्रिय पुस्तकालयहरूका भवन कहिले ?
फाइल तस्बिर।

माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यू,

विदेशबाट पढेलेखेका युवा शिक्षामन्त्रीज्यूले अवश्य पनि सरकारको नीति तथा कार्यक्रममा पुस्तकालयलाई पनि स्थान दिनुहोला भन्ने पुस्तकालय प्रेमीहरूमा ठूलो आशा र भरोसा थियो। तर त्यो हुन सकेन। अझै पनि सरकारको प्राथमिकतामा यो पर्नुपर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय छन्। तीन वटा पुस्तकालयको कुरा गर्ने हो भने सबै दाताका संकलनबाट स्थापित भएका पुस्तकालय हुन्।

नेपाल राष्ट्रिय पुस्तकालयः सबै देशमा राष्ट्रिय पुस्तकालयको स्थापना र व्यवस्थापन सरकारले नै गरेको हुन्छ र यो देशको गौरवको रूपमा हुन्छ। जस्तै, अमेरिकाको लाइब्रेरी अफ कांग्रेस, बेलायतको ब्रिटिस म्युजियम लाइब्रेरी, जापानको नेसनल डाइट लाइब्रेरी, चीनको राष्ट्रिय पुस्तकालय, भारतको राष्ट्रिय पुस्तकालय आदि। नेपालमा राष्ट्रिय पुस्तकालयको आवश्यकतालाई देखेर होला २०१३ सालमा राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पण्डित हेमराज पाण्डेको निजी संकलन किनेर नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना भएको हो।

आज नेपाल राष्ट्रिय पुस्तकालय स्थापना भएको पनि ६८ वर्ष भइसक्यो। एक विद्वान्ले भनेका थिए राष्ट्रिय पुस्तकालय भ्रमण गरेपछि त्यो देशको विकास कति भएको छ भनेर थाहा पाउन सकिन्छ। हाम्रो राष्ट्रिय पुस्तकालय हेरेपछि शिर ठाडो गर्ने ठाउँ रहेन। यसैबाट देशको विकास थाहा हुन्छ। नेपालको ऐतिहासिक सिमानाको नक्सा खोज्न प्रख्यात सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अमेरिका र ब्रिटेनको राष्ट्रिय पुस्तकालयमा अध्ययन गर्न धाउन परेको तीतो सत्य छ। यदि हाम्रो राष्ट्रिय पुस्तकालयलाई गौरवशाली बनाउन सकेको भए त्यसरी विदेश धाउनुपर्ने अवस्था आउने थिएन। नेपालमा २०४६ सालमा बहुदलीय शासन व्यवस्था आएपछि नेपाल राष्ट्रिय पुस्तकालयको आफ्नो छुट्टै भवन बनाउन जग्गा खोज्ने काम भयो। तत्कालीन शिक्षामन्त्री योगप्रसाद उपाध्यायले त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्दै आएको शिक्षा मन्त्रालयको जमलको जग्गा उपलब्ध गराउने वचन दिए पनि त्यसबखत सो काम हुन सकेन। राष्ट्रिय पुस्तकालयलाई पुनः सुदृढीकरण गर्न २०५१ सालमा युनेस्को डानिडाको पाँचवर्षे परियोजना लागू भयो। जसको भवन निर्माण गर्न सरकारले जग्गा उपलब्ध गराउने भएमा युनेस्को÷डानिडा भवन निर्माण गर्न इच्छुक थियो। त्यसैले पुनः जग्गा खोज्ने काममा तीव्रता आयो। शिक्षा मन्त्रालयको आफ्नै जग्गा सानोठिमीमा भएकोले युनेस्को÷डानिडाको प्रतिनिधिले उक्त जग्गा हेरेपछि सबै सरकारी कार्यालयले घेरिएको तर सर्वसाधारणलाई भने पायक नपर्ने देखेपछि सो काम पनि अगाडि बढ्न सकेन।

त्यसपछि पुरातŒव विभागको अगाडि र स्वास्थ्य मन्त्रालयसँगै रहेको खाद्य संस्थानको जग्गा दिने भनेर आवास तथा भौतिक मन्त्रालयले मन्त्रिस्तरीय निर्णय ग¥यो। खाद्य संस्थानसँग खरिद गर्नुपर्ने भएकाले सो पनि कार्यान्वयन हुन सकेन। तर विडम्बना उक्त पुस्तकालयका लागि जग्गा खरिद गर्न नसक्ने सरकारले उक्त जग्गा सरकारी वकिलको कार्यालयका लागि खरिद गरी भवन निर्माणसमेत गरिसकेको अवस्था छ। यसबाट के थाहा पाइन्छ भने देशको गौरवमय इतिहास भएको राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न सरकारको प्राथमिकता नहुँदो रहेछ। सिंहदरबारको सिक्री ढोकाबाट २०१९ सालमा हरिहर भवन सरेको राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पले ध्वस्त हुन पुग्यो। तत्कालिन राष्ट्रिय पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाको सुझबुझले पहिलो भूकम्पपछि तुरुन्तै पुस्तकहरू सार्न सकेकाले, पछिल्ला कम्पनले भवन भत्के तापनि अमूल्य पुस्तकादी सामग्री नोक्सान हुन पाएनन्। दोस्रो भूकम्प जाँदा त पुस्तकालय प्रमुखको कोठासहित भवन ढल्यो नै। पुस्तकहरू गोदाममा थन्किए।

तदोपरान्त, बाध्यतावश पुनः तेस्रोपटक भवन निर्माणका लागि जग्गा खोज्ने कामले तीव्रता पायो। पुस्तकालय अभियन्ताहरू समेतको अथक प्रयासपछि २०७५ असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार जमलको झन्डै ८ रोपनी जग्गामा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्कने डिजाइनसहितको नेपाल राष्ट्रिय पुस्तकालय भवन बनाउने भनेर निर्णय भयो। उक्त निर्णय गराउनमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ठूलो योगदान रहेको हो। त्यसलगत्तै जमलस्थित त्रिविले ओगटिरहेको शिक्षा मन्त्रालयको जग्गा २०७५ कात्तिक २९ गते मालपोत कार्यालयबाट यस पुस्तकालयको नाममा जग्गाधनी पुर्जा प्राप्त गरी नामसारी भयो। त्यसपछि भवन निर्माणका लागि सबै प्रक्रिया पूरा गरी विस्तृत परियोजना प्रतिवेदन तयार भयो। टेन्डर आह्वान गर्ने अघिल्लो दिन २०७७ साउन ५ गते मन्त्रिपरिषद्ले अर्को व्यवस्था नहुन्जेल भवन निर्माणकार्य नगर्नू, नगराउनू भन्ने निर्णय गरिदियो। सरोकारवाला स्तब्ध भए। पुस्तकालयप्रेमी, पुस्तकालयविद्, विद्वतवर्ग र विभिन्न संघसंस्थाले मन्त्रिपरिषद्को उक्त कार्यको घोर निन्दा गरे।

यसरी भएन भनेर पुनः ५९ सामाजिक अभियन्ता र देशका प्रबुद्ध वर्गहरू जसमा सत्यमोहन जोशी, केदारभक्त माथेमा, संस्कृतिविद् हरिराम जोशी, डा. जयराज आचार्य, प्रा.डा. अर्जुन कार्की, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. कृष्ण खनाल, डा. द्वारिकानाथ ढुंगेल, संस्कृतविद् रवीन्द्र पुरी आदिको सहमति लिएर भोलानाथ शर्माबाट २०७७ कात्तिक ९ गते प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निवेदन दिने काम भयो। फलस्वरूप मन्त्रिपरिषद्बाट भवन निर्माणको काम अगाडि बढाउन निर्णय भयो। टेन्डर आह्वान भई काम अगाडि बढेकोमा केही समयपछि अदालतमा उजुरी प¥यो। र काम रोकिएको अवस्था छ। अतः यहींनेर माननीय मन्त्रीज्यूको ध्यान आकर्षित गर्न चाहन्छु।

केशर पुस्तकालयः केशरशमशेर १५ वर्षको उमेरमा नै बुबा प्रधानमन्त्री चन्द्रशमशेरसँग बेलायतको भ्रमणमा गएका रहेछन्। पढाइमा रुचि भएको कारण केशर शमशेरले त्यहाँको ब्रिटिस म्युजियम लाइब्रेरी घुमेपछि त्यहींबाट पुस्तकहरू ल्याएर केशर पुस्तकालयको स्थापना गरे। विदेशी प्रख्यात विद्वानहरू– सिल्भाँ लेभी, सिसिल वेन्डाल, हरप्रसाद शास्त्री, जुसेप टुची आदिले यस पुस्तकालयको प्रयोग गरेका थिए। यो पुस्तकालय भ्रमण गरेका जवाहरलाल नेहरू, भारतका उपराष्ट्रपति राधाकृष्णजस्ता व्यक्तिहरू पुस्तकालयबाट अति प्रभावित भएका थिए। त्यतिखेर यो पुस्तकालय एसियामा नै नाम कहलिएको पुस्तकालय थियो। केशर शमशेरको मृत्युपश्चात् उनका परिवारले सन् १९६८ मा केशरमहल, केशर पुस्तकालय, स्वप्नबगैंचासहित ३४ रोपनी जग्गा सर्वसाधारणले अध्ययन गर्न पाऊन् भन्ने अभिप्राय राखेर नेपाल सरकारलाई केशर पुस्तकालयको नाममा हस्तान्तरण गरेका थिए। नेपाल सरकारमा आएपछि शिक्षा मन्त्रालयअन्तर्गत सर्वसाधारणले पुस्तकालय प्रयोग गर्न पाउने गरी सञ्चालन हुँदै आएको पनि हो। अब त नेपाल सरकारको मातहतमा आएको पनि ५५ वर्ष पुगी सक्यो। २०७२ सालको भूकम्पले भवनको धेरै भाग क्षति पुगेकोले रेट्रोफिटिङको कामसमेत सम्पन्न भइसकेको छ।

सुन्नमा आएको छ यो भवन र जग्गाहरू समेतमा चलखेल हुन थालेको छ। त्यत्रो भवन पुस्तकालयलाई किन ?

एउटा छेउमा दिए त भइहाल्यो नि ! तत्कालीन सम्माननीय राष्ट्रपति विद्या भण्डारीले समेत केशर पुस्तकालय हाता अन्य गतिविधिमा प्रयोग हुन सक्ने भएकाले लाइब्रेरियनहरू चनाखो हुनुपर्ने कुरा लाइब्रेरियनहरूसँगको भेटमा भन्नुभएको थियो। केशर पुस्तकालय केन्द्रमा भएकोले यसको पूरा भवन पुस्तकालयले नै सदुपयोग गर्न निम्नलिखित कार्यक्रम गर्न सकेमा पुस्तकालयको मात्र होइन देशकै गर्व हुने कुरामा दुइमत हुँदैन।

  •  केशर पुस्तकालयमा पुस्तकालय सेवा त छँदैछ, यसको अलावा सांस्कृतिक केन्द्रको रूपमा विकास गर्न प्राचीन र आधुनिक मिश्रण गरी तीन÷चार वटा हलको व्यवस्था गर्ने। जसमा विदेशबाट आएका पाहुनाहरूलाई नेपाली संस्कृति झल्कने विभिन्न जनजातिहरूको नाच गान, भेषभूषा, वाद्यवादनहरूको बाह्रैमहिना प्रस्तुति गर्ने।
  •  नेपालमा अहिलेसम्मका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरूको विषयमा लेखिएका कागजात वा ताम्रपत्रहरू, उहाँहरूले प्राप्त गर्नुभएका उपहारहरू, सन्धिसम्झौताहरू, पत्रहरू, फोटोहरू संकलन गरी सबैको भिन्दाभिन्दै कोठाहरूमा प्रदर्शन गरिराख्ने।
  •  नेपालमा हालसम्म प्रकाशन भएका हुलाक टिकटहरूको प्रदर्शन गरी राख्ने।
  •  नेपाल सरकारले र अन्य विदेशीहरूले भ्रमण गर्दा खिचेका फोटोहरूको संकलन गरी प्रदर्शन गरिरहने।
  •  राणाकालीन तथा विभिन्न जनजातिहरूको सांस्कृतिक परम्परा, भेषभूषा आदिको संकलन गरी राख्ने।
  •  नेपालीले बनाएका चित्रहरूको समेत संकलन गरी प्रदर्शन गरी राख्ने।
  •  कम्तीमा दुई वटा हलहरूमा पुस्तक, फोटो, चित्रकला आदि समय समयमा प्रदर्शन गरी राख्ने।
  •  पुस्तकालयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहज पहुँचको व्यवस्था गर्ने।
  •  नेपाल सरकारले प्रकाशन गरेका प्रकाशनहरू रहने छुट्टै शाखाको रूपमा व्यवस्था गर्ने।
  •  मदिरारहित राम्रो रेस्टुराँको व्यवस्था गर्ने।
  •  अझ सकिन्छ भने यसलाई २४ सै घण्टा खोल्नका लागि प्रबन्ध गर्ने।
  • यसबारेमा अन्यान्य विज्ञहरूको समेत राय लिई तद्अनुरूप विकास गर्नु राम्रो हुनेछ।

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयः माननीय मन्त्रीज्यू, अब म अन्तिममा वरिष्ठ राजनीतिज्ञ एवं इतिहासकार डा. डिल्लीरमण रेग्मीले आफ्नै जीवनकालमा आफ्नो मृत्युपश्चात् नेपाल सरकारलाई हस्तान्तरण गरेको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयबारे केही लेख्दैछु। डा. डिल्लीरमणको मृत्युपश्चात् ‘डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति’ गठन आदेश २०६० जारी गरी पुस्तकालय तथा संग्रहालय सञ्चालन र व्यवस्थापनका लागि सात सदस्यीय सञ्चालक समितिको व्यवस्था गरी २०६१ पुस ३ गतेबाट पुस्तकालय सर्वसाधारणका लागि खुल्ला गरिएको हो। २०७२ सालको भूकम्पले यस पुस्तकालयलाई पनि क्षति पु¥यायो। नयाँ भवन निर्माणको लागि डीपीआरसमेत तयार भई भवन निर्माणको काम अगाडि बढिरहेको अवस्थामा डा.डिल्लीरमणकी नातिनीले काठमाडौं जिल्ला अदालत र सम्मानित सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरू दायर गर्नुभएकाले भवन निर्माणको काम रोकिएको छ। डिल्लीरमण पुस्तकालयलाई नेपाल राष्ट्रिय पुस्तकालयमा गाभ्ने कुरासमेत उठ्यो। तर दाताले कुन प्रयोजनको लागि दिएको हो सो को मर्मविपरीत अन्यत्र कतै गाभ्ने कुरा त सोच्न पनि सकिन्न। यस पुस्तकालयले प्रत्येक दुुई वर्षमा डा. डिल्लीरमण राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्ति पुरस्कारहरू प्रदान गर्दै आएको छ। यो वर्षको पनि नाम घोषणा भइसकेको छ। यसरी शिक्षा मन्त्रालयअन्तर्गत छुट्टै अस्तित्व भएको तीन वटा पुस्तकालयको अवस्थाको बारेमा माननीयमन्त्रीज्यूलाई संक्षिप्तमा जानकारी गराउन चाहे। माथिका तीनवटै पुस्तकालयको आआफ्नै छुट्टै विशेषता भएकाले तिनलाई राष्ट्रिय गौरवको रूपमा स्थापित गर्न मन्त्रीज्यूबाट तुरुन्त पहल गर्नुुपर्ने देखिन्छ।

सर्वप्रथम, नेपाल राष्ट्रिय पुस्तकालयको गौरवशाली भवन जतिसक्दो चाँडो जमलमै बनोस्। दोस्रो, केशर पुस्तकालय सांस्कृतिक केन्द्रको रूपमा विकास गरियोस्। तेस्रो, डिल्लीरमण पुस्तकालयको भवन पनि छिट्टै बनोस्। राजधानीभित्रका यी तीन पुस्तकालयलाई देशको शानको रूपमा विकास गरियोस्। सकिन्छ भने काठमाडौं महानगरपालिकासँग समन्वय गरेर भृकुटीमण्डपभित्र रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई पनि महानगरको सिटी पुस्तकालयको रूपमा विकास गरियोस्। संसारको सबैभन्दा उत्कृष्ट देशबाट डिग्री हासिल गरेर फर्कनु भएका तपाईंलाई पुस्तकालयको महŒवको बारेमा हामीले भनिरहन त पर्थेन। तपाईंकै हातमा छ, पुस्तकालय विकासको मूल साँचो !

तीन दशक तीन सरकारी पुस्तकालयमा काम गरेका श्रेष्ठ पुस्तकालयविद् हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.