मौलाउँदै मानव बेचबिखन

मौलाउँदै मानव बेचबिखन

सहरी क्षेत्रका दोहोरी साँझ, डान्स बार, मसाज सेन्टरलगायतबाट बेचबिखनका लागि लैजाने गरेका घटना बढी छन्।

पछिल्लो समय मानव बेचबिखनको अवस्था जर्जर रूपमा देखा पर्दै गएको छ। मानव बेचबिखन, मानव अंग प्रत्यारोपणका लागि बेचबिखन, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि मानिसको अवैध व्यापारका रूपमा मौलाएको हो। आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरूमा पनि परिवर्तन हुँदै गएको पाइन्छ। रोजगारीको लालचमा डान्स बार, क्याबिन, रेस्टुरेन्ट, खाजा घरलगायत क्षेत्रमा आन्तरिक मानव बेचबिखन अझ बढ्दै गएको छ। बदलिँदो मानव जीवनशैली र वैदेशिक रोजगारका नाममा पनि यस्ता घटना बढ्दै गएका छन्।

सिन्धुपाल्चोककी पिन्की (नाम परिवर्तन) २०७२ को भूकम्पपछि रोजगारीका लागि काठमाडौं आइन्। गलैंचा उद्योगमा काम गर्न थालिन्। अभाव सधैं उस्तै रह्यो। गाउँकै दाइ पर्नेले विदेशमा धेरै पैसा कमाइ हुने लालच देखाए। पिन्की भारत हुँदै कुबेत पुगिन्। तर काम बच्चा जन्माइदिने रहेछ। कुबेत पुगेपछि नजरबन्दमा परिन्। चार वर्ष बसिन् र नेपाल फर्किइन्। धादिङकी रसिला (नाम परिवर्तन) आफन्तसँग कामको खोजीमा काठमाडौं पुगिन्। रेस्टुरेन्टमा काम लगाइदिए। रेस्टुरेन्ट मालिकले रसिलालाई डान्स बार पु¥याए। त्यहाँबाट उनी दुबई पुगिन् र नर्तकीका रूपमा काम गरिन्। नेपालको रेस्टुरेन्टदेखि दुबईको डान्स बारसम्म काम गर्दा रमिलाले भन्दा अरूले फाइदा लुटे। तीनवटै ठाउँमा बन्धक भएर काम गर्नुप¥यो।

केही महिनाअघि बुटवलबाट दाङ जाँदै थिएँ। अघिल्लो सिटमा दुई युवा थिए। अनि मसँगै सिटमा बस्ने तिनीहरूका मालिक रहेछन्। दुवैलाई कतै पनि बसबाट ओर्लन दिएनन्। उनीहरू नेपालगन्जको धम्बोजी हिँडेका रहेछन्। पोखराको होटलमा भन्दा दुई सय रुपैयाँ बढी दिने सर्तमा बाँके लगिएको थियो। यी चार जना पात्रको आर्थिक समस्या थियो। कसैले भूकम्पमा अभिभावक गुमाएका, केहीका श्रीमान् बितेका र गरिबीका कारण सिर्जित समस्याले उनीहरू प्रलोभनमा परे र आफूसँगै श्रम बेच्न बाध्य भए। यसरी महिला, बालबालिका, पुरुष सबै अञ्जानमै यसको सिकार बन्ने गरेका छन्। प्रभावितहरूमा प्रायः बहिष्करणमा परेका समुदाय, महिला र बालिकाहरू हुने गरेका पाइन्छन्।

केही दशकअगाडिसम्म बेचबिखन भन्नासाथ भारतका कोठीहरूमा गाउँका युवतीहरूलाई पु¥याइने काम भन्ने आमबुझाइ थियो। यस्ता युवती गरिब, अशिक्षित, सूचनाबाट वञ्चित र दलालको फन्दामा छिट्टै पर्न सक्ने सम्भावना रहेको भन्ने धारणा पनि उत्तिकै थियो। देशमा भएका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनहरू र अस्थिरतासँगै आप्रवासनको दर बढ्दै गयो। बेचबिखन र आप्रवासनको अन्तरसम्बन्ध छुट्ट्याउन गाह्रो र पेचिलो बन्दै गयो। अवसरको खोजीमा होस् वा बाध्यात्मक परिस्थितिमा परेर, हरेक वर्ग र लिंगका मानिस देशभित्रै वा बाहिर ओसारपसार हुने दर बढ्यो।

आप्रवासन जीवन धान्ने परिवर्तनको आधार मात्र बनेन। आधारभूत मानव अधिकारको सूचक पनि बन्दै गयो। सीमान्तकृतहरूको स्वेच्छिक रोजाइ हुनुपर्नेमा विभिन्न कारणले बाध्यात्मक बन्न पुग्यो। मानिस यसका निम्ति जस्तोसुकै मूल्य चुकाउन पछि परेनन्। बेचबिखनका परिवर्तित आयामसँगै युवती र महिलाका साथै ठूलो संख्यामा बालबालिका तथा पुरुषहरू पनि बेचबिखनको जालोमा फस्न थाले। सीमान्तकृत समाज, परिवार र व्यक्तिहरूको अभाव, गरिबी, अशिक्षा र कम चेतनास्तरबाट व्याप्त अभाव सिर्जित आवश्यकता र बाध्यताको मनोभावबाट ठूलो र सजिलै नाफा कमाउन सक्ने अवसर देखेका, बिचौलिया, दलाल र तस्करहरूले परिस्थितिको उच्चतम् फाइदा उठाउन थाले।

आर्थिक मन्दी, चरम गरिबी, आर्थिक असमानता, विभेद, बेरोजगारी, द्वन्द्व, राज्यविहीनता, जलवायु परिवर्तन, श्रम बजारमा सस्तो श्रमको माग र आपूर्ति, सञ्चारमा आएको परिवर्तन जस्ता कारणले संसारभर नै आन्तरिक र बाह्य आप्रवासनको दर बढ्दो छ। र, बढ्दो आप्रवासनकै अनुपातमा मानव बेचबिखन, तस्करीलगायतका अपराधको बजार र नाफा पनि मौलाउँदो छ। श्रम गर्ने शक्ति छ तर रोजगारको अवसर छैन। खेती गरौं भूमि छैन। जीवन धान्न सकस भएकाहरू विभिन्न प्रलोभनमा परे। र, असुरक्षित मानव ओसारपसारको चक्रव्यूहमा फसे। आफ्ना नागरिकलाई श्रम गर्ने सीप र स्थान दिएर स्वदेशमा टिकाउन नसक्ने नेपाली राज्यका लागि टिक्ने र बाँच्ने ठूलो आर्थिक आधार भयो आप्रवासन।

अझ लाजमर्दो कुरा त यस्तो जघन्य अपराधमा पनि शीर्ष नेताहरूको चोचोमोचो, ठूला दलहरूको मिलेमतो र राजनीतिक सम्झौताका आधारमा मानव बेचबिखन मौलाएका परिदृश्य हाम्रासामु छन्। यसको एउटा उदाहरण हो, नक्कली भुटानी शरणार्थी प्रकरण। देशभित्र श्रमजीवी युवाको असन्तोष पनि निर्यात गर्न र तिनीहरूबाटै उल्टै लाखौंलाख असुल्न पाइने धन्दा खासमा राज्यबाटै प्रवद्र्धित मानव बेचबिखन र ओसारपसारको अर्को रूप हो। हिजो क्रान्ति, मानव मुक्ति वा प्रजातन्त्रको ठूला भाषण ठोक्ने नायकहरू नै आज यस्ता गिरोहमा संलग्न छन्। नेतृत्वकर्ताले नै मानव बेचबिखन र ओसारपसारलाई प्रोत्साहित गर्छन्। र, उनका आसेपासेहरूले पनि राज्यबाटै प्रवद्र्धित मानव बेचबिखनमा ठूलो भाग पाउन तस्करी वा अवैध बाटो समातेका तथ्य भुटानी शरणार्थी काण्डले छर्लंग पारेको छ।

असुरक्षित वैदेशिक रोजगार, सरकारको कमजोर नीति र अनुगमनका कारण मानव बेचबिखनको जोखिम अझै बढ्दै गयो। सस्तो श्रमको सजिलै आपूर्ति हुने देखेपछि छिमेकी भारतदेखि खाडी राष्ट्रहरू, चीन हुँदै अन्तर्राष्ट्रिय तह र बहुर्राष्ट्रिय कम्पनीसम्म दलाल र तस्करहरूको जालो फैलिँदै गयो। परिणामस्वरूप, यस अपराधमा पेसागत अपराधीहरू त छँदै थिए, राजनीतिक दलहरू र कर्मचारीतन्त्रका उच्च पदस्थहरूसमेत भागीदार रहेका वास्तविकता बिस्तारै बाहिरिँदैछ। नक्कली भुटानी शरणार्थी प्रकरणले समेत यसको पुष्टि गर्दैछ तर अपराधको जालो यस घटनामा मात्र सीमित छैन।

श्रम तस्करहरूले नेपाली पुरुष, महिला र बालबालिकाको शोषण नेपाल, भारत, मध्यपूर्व र दक्षिण–पूर्वी तथा पूर्वी एसियाका निर्माण क्षेत्र, कारखाना, खानी, घरेलु काम, भीख माग्ने काम र वयस्क मनोरञ्जन उद्योगमा गर्छन्। अधिकांश पुरुषहरू साउदी अरब, कतार र यूएईमा निर्माण कार्यमा छन्। नेपालीले बाध्यात्मक श्रम जस्ता अत्याचारपूर्ण अवस्थामा पनि काम गर्छन्। कति वैदेशिक रोजगारदाताहरूले कामदारको राहदानी नियन्त्रणमा लिन्छन् र महिनौं तलब भत्ता दिँदैनन्। कति नेपाली यसरी खाडी मुलुकमा बिचल्ली भई अन्त्यमा राजदूतावासको शरणमा पुग्छन्। धेरै तनाव र यातना सहेर खाली हात नेपाल फर्किएका घटना धेरै छन्। खाडी मुलुक साउदी अरेबिया, कुबेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बहराइन, इराक, लिबिया र लेबनानसहितका नौ देशमा असुरक्षित भएको भन्दै महिला कामदार पठाउन नेपालबाट रोक लगाइएको छ। तर तस्करहरूले चोर बाटो हुँदै लैजाने मानव बेचबिखनका घटना बढिरहेका छन्। जसलाई राज्यले नियमन गर्न कठिन भइरहेको छ। मानव बेचबिखनको घटनामा बाह्यभन्दा आन्तरिक बेचबिखनको अवस्था बढेको मानव अधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख छ। आयोगको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०८८ मा मात्र १ सय ३६ वटा आन्तरिक मानव बेचबिखन तथा ओसारपसारका घटना देखिएका छन्।

मुलुकका विभिन्न सहरी क्षेत्रमा दोहोरी साँझ, डान्स बार, मसाज सेन्टरलगायत क्षेत्रमा सो घटना बढी हुने गरेको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक बेचबिखनको अलावा भारत, चीनलगायत देशमा मानव बेचबिखन हुने गरेको छ। भारतमा देह व्यापार, श्रमिकका रूपमा र चीनमा विवाह, सांस्कृतिक कार्यक्रम, घुमफिर, रोजगारीका बहानामा बेचबिखन तथा ओसारप्रसार हुने गरेको प्रतिवेदनमा छ। मानव बेचबिखन रोक्न सचेतनासहित प्रभावकारी रूपमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.