पेट्रोलियम उत्पादनमा लगन नकटोस्

पेट्रोलियम उत्पादनमा लगन नकटोस्
सुन्नुहोस्

संसारमा पेट्रोलियम पदार्थको युग समाप्त हुँदा यहाँ उत्पादन भयो भने त्यो प्रयोजनविहीन हुन बेर लाग्दैन । तसर्थ लगन कट्न दिनु हुँदैन ।

नेपालले आयात गर्ने वस्तुहरूको पहिलो नम्बरमै आउँछ पेट्रोलियम पदार्थ । पोहोर सालमात्रै मुलुकमा ३ अर्ब ५३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । त्यसमा पनि पेट्रोल झन्डै ६७ अर्ब रुपैयाँको त पेट्रोलमात्रै थियो । अरू डिजेल र ग्यास हुन् ।

आयात त्यस्तै वस्तुको गरिन्छ, जुन आफूसँग छैन । तर नेपाल त आयातमा यसरी फसेको छ कि नुनदेखि सुनसम्ममात्रै होइन यही भूमिमा भएका र उत्पादन हुन सक्ने वस्तु पनि आयातमात्रै गरिरहेको छ । भान्साका धेरै वस्तु आयातीत हुन्छन् भने अरू त के कुरा ? पेट्रोलियम पदार्थको कुरा गर्दा पनि नेपालमै त्यो वस्तु नभएको होइन । तर उपयोगमात्रै नभएको हो । नेपालका धेरै ठाउँमा पेट्रोलको खानी छ भन्ने पत्ता लागिसकेको छ । तर त्यसको उपयोग गर्नपट्टि नलागी आयातमा निर्भर हुनु परेको छ । आफैंकहाँ भएको प्राकृतिक स्रोत त्यत्तिकै छाडेर आयात गर्नु पक्कै पनि हितकर काम होइन । 

अहिले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । त्यहाँ पेट्रोलियम पदार्थ पत्ता लगाएर उपयोगमा ल्याउन जमिन खनिएको छ । चार हजार मिटरमुनिसम्म खोतलेर खनिज पदार्थ पेट्रोलियमको परीक्षण गरिँदैछ । केही महिनामा सर्भेक्षण पूरा हुने छेकछन्द छ । अहिलेसम्म जमिनमुनि थन्किएको स्रोत उत्खननको सुरुआती काम हुनु स्वागतयोग्य नै हो । तर सुरु भएको काम पूरा नहुने वा ढिला हुनेचाहिँ नेपालको रोग छ । त्यस्तोचाहिँ नहोस् । नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको मानिन्छ । मोरङमा पनि उत्खनन गर्न खनखान गरिएको थियो, तर त्यहाँ भेटिएन । दैलेखमा भने जमिनको सतहमै आगो बल्नेलगायत उदाहरण भएको हुँदा त्यहाँ पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण देखिन्छ । 

दैलेखमा पेट्रोल वा ग्यास जे छ त्यो उत्खनन गरी प्रशोधन गरेर नेपालले उपयोग गर्न सके उत्तम हो । तर त्यसका लागि लाग्ने खर्च र आयात तथा भएको उत्पादनको परिणामको हिसाबकिताब पनि गर्नुपर्छ । भावनाका भरमा महँगो लगानी र खर्च चाहिँ गर्नु हुँदैन । पेट्रोलियम पदार्थको खपत विस्तारै कम हुने दिन पनि आउँदै छ । संसार जीवाष्म इन्धनको विकल्पमा जाँदैछ र गइरहेको छ । तसर्थ नेपालले गर्ने उत्खनन र उत्पादन यस्तो नहोस् कि लगनपछिको पोते । संसारमा पेट्रोलियम पदार्थको युग समाप्त हुँदा यहाँ उत्पादन भयो भने त्यो प्रयोजनविहीन हुन बेर लाग्दैन । तसर्थ लगन कट्न दिनु हुँदैन ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.