चिकित्सकको सुरक्षाको प्रत्याभूति राज्यले कहिले दिने ?

चिकित्सकको सुरक्षाको प्रत्याभूति राज्यले कहिले दिने ?
सांकेतिक तस्बिर

हामी हजारौं बिरामीको ज्यान जोगाउन रातदिन नभनी खट्ने चिकित्सकको सुरक्षा राज्यले गर्दैन भने कसले गर्छ त ?

प्रसंग गत वैशाख १७ गतेको हो। साँझको सिफ्टमा एक जना बिरामी ग्यास्ट्रिकले गाह्रो बनायो भन्दै इमरजेन्सी वार्डमा आउनुभयो। आफैं हिँडेर आउने त्यस्तो स्टेबल बिरामीलाई हामीले ग्रिन जोनमा राख्ने गरेका छौं। 

त्यहाँ खटिएकी एक नर्सले उहाँको प्रेसर, पल्सलगायतका भाइटल्स लिनुभयो। सबै सामान्य थियो। चिकित्सकले परीक्षण गरेर ग्यास्ट्रिकको औषधि लेखिदिनुभयो र दुई जना कुरुवामध्ये एक जना कुरुवा ग्यास्ट्रिकको औषधि लिन औषधि पसलतिर लाग्नुभयो। कहिलेकाहीँ ग्यास्ट्रिकको दुखाइ भनेर बस्दा मुटुसम्बन्धी समस्या पनि हुन सक्ने भएकाले यसका लागि ईसीजी पनि गर्नुपर्छ भनेर बिरामीका आफन्तलाई सम्झाइयो। ईसीजी गर्दा १२ वटा लिड राख्नुपर्ने हुन्छ। यसका लागि बिरामीको लुगा खोल्नुपर्छ। 

ईसीजीका लागि लुगा खोल्ने क्रममा बिरामीकोे बेड पनि अलि नमिलेकोले डाक्टरले बेड माथि उठाइदिए। त्यति नै बेला बेड सिट झर्‍यो र त्यो मिलाउन बिरामीलाई तल राख्दासम्म उहाँ स्टेबल नै हुनुहुन्थ्यो।  ईसीजी गर्न ईसीजी गर्ने मेसिन बेडनजिकै ल्याउनुुपर्ने हुन्छ र सोही मुताबिक सामान लिन खटिए। यही क्रममा बिरामी बेडबाट थोरै चिप्लिएर तल झर्नुभयो। तर यही विषयलाई बिरामीको आफन्तले बिरामी लड्दा पनि अस्पतालमा कसैले वास्ता गरेन, उहाँलाई तत्कालै उठाइएन भन्ने दुष्प्रचार गरियो।

खासमा बिरामीलाई त्यतिबेला ‘कार्डिएक एरेस्ट सिनकोप’ भएको थियो। जोसुकै स्वस्थ देखिने व्यक्तिलाई पनि यस्तो खालको कार्डिएक एरेस्ट हुन सक्ने सम्भावना जहिले पनि रहन्छ। हाम्रो बिरामीको सन्दर्भमा पनि दुर्भाग्यवश यो भयो। उहाँ बेहोस हुनुभयो। त्यतिबेला वार्डमै रहेकी डा. पूजा शाह, डा. कुशल पौडेललगायतका डाक्टर, नर्सहरू पनि तत्कालै त्यहाँ पुग्नुभयो। यसरी ढलेको मानिसलाई उचाल्न निकै गाह्रो हुन्छ। मद्दतका लागि उहाँहरूले गार्डलाई बोलाउनुभयो। सबैले बिरामीलाई उचालेर बेडमा सुताएपछि गार्ड जानुभयो। बिरामीको पल्स नदेखाएपछि उहाँलाई सीपीआर दिनुपर्छ भन्ने भयो। बिरामी पक्षले किन सीपीआर पहिले नै नगरेको भन्दै थियो। तर नर्मल मानिसलाई त्यतिकै सीपीआर गर्न मिल्दैन। 

म रेड र यलो जोनका अझै सिरियस बिरामीहरूलाई हेर्दै थिएँ। तर यो अवस्थाको जानकारी पाएपछि हतारिएर आएँ। पर्दा लगाएर हामी सीपीआर गर्न लाग्यौं। तत्कालै मुखबाट पाइप हालेर भेन्टिलेटरमा पनि राख्यौं। खासमा यसका लागि बिरामी पक्षको मञ्जुरीनामा लिनुपर्ने हुन्थ्यो। तर हामीले बिरामीको एकदमै क्रिटिकल अवस्था देखेर, कागजी प्रक्रियामा समय खेर फाल्नुभन्दा बिरामी बचाउनतर्फ नै लाग्यौं र उपचारमै जोड दियौं।  

पूरै प्रोटोकल फलो गरेर करिब ३० मिनेटसम्म सीपीआर गर्‍यौं। तर उहाँ होशमा आउनु भएन। काउन्सिलिङ गर्दा बिरामीलाई अस्पताल ल्याउनुहुने उहाँको छोरी, ज्वाइँलगायतले सीपीआरलाई निरन्तरता दिनुु भन्नुभयो। त्यसैले हामीले दियौं। यसरी धेरै लामो समय गर्दा छातीमा डामहरू देखिएको हो। अझ कतिपय सन्दर्भमा त छातीको करंग नै भाँचिन पनि सक्छ। ३ देखि ५ सेन्टिमिटरसम्म दबाएर थिच्नैपर्छ। यति गर्दा पनि बिरामीलाई बचाउन नसकेपछि हामीले मृत्यु भएको त भन्नै पर्‍यो। 

अब बिरामी रहनु भएन भनेर सुनाउँदा उहाँको छोरा पनि त्यहाँ आइसक्नु भएको थियो। बुवाको मृत्युको खबरले उहाँ स्तब्ध हुनुभयो। उहाँले स्विकार्न सक्नु भएन। केहीबेरपछि कागजी प्रक्रिया पूरा गर्नुपर्‍यो भनेर हामी त्यहाँबाट हिँड्यौं। उहाँले हामी केटीहरूलाई देखेर यिनीहरू त नर्स रहेछन् भन्ठान्नु भएछ। त्यसैले नर्सले मात्र सीपीआर गरेको, डाक्टरले गरेन भनेर कराउनुभयो। यहाँको इन्चार्ज को हो, बोला भनेर चिच्याउन थाल्नुभयो।  मैले म नै हुँ यहाँको चिफ, मैले नै सीपीआर गरेको हुँ भनेँ। त्यसपछि बिरामीको ज्वाइँले मलाई साइडमा बोलाएर छोराले स्विकार्न सकिरहनु भएको छैन, उहाँलाई अझै काउन्सिलिङ गरिदिनुस् भन्नुभयो। मैले त्यसै गरेँ। मैले भनेको सही हो कि होइन भनेर उहाँले आफ्ना मान्छेलाई डाक्टरले गरेकै हो त भनेर पनि सोध्नुभयो। त्यसपछि ठीक छ म्याम, अब गर्न सक्ने यति नै रहेछ, धन्यबाद भनेर बाहिर जानुभएको थियो। 

हामीले कागजी प्रक्रिया पूरा गर्दैगर्दा त्यहाँ गौशाला प्रभागबाट एकजना डीएसपी आउनुभयो। उहाँले तपाईंहरूको यहाँ हूलदंगा हुन लागेको जस्तो खबर पायौं र आएको भन्नुभयो। हामीले घटनाका सम्बन्धमा सबै जानकारी गरायौं। उहाँ एकैछिन पछि फेरि आएर बिरामी पक्षले सीसीटीभी फुटेज हेर्न खोजिरहेको छ भन्नुभयो। त्यो त हामीले देखाउने होइन, प्रशासनलाई सोध्नुपर्छ भन्यौं। प्रशासनले स्वीकृति दिएपछि उहाँहरूले हेर्नुभयो। त्यसपछि त मृतकका छोरा निकै आक्रोशित हुँदै आउनुभयो र त्यो पाँचजना डाक्टर को हो, इन्चार्ज यहाँ अगाडि आइज, हामी पाँचै जना डाक्टरलाई अहिले नै छप्काइदिन्छौं अनि म जेल जान्छु भनेर चिच्याउन थाल्नुभयो। इन्चार्ज मै हुँ भनेर  अगाडि सर्दा मलाई अगाडिबाट टाउकोमा प्रहार गरियो।  टाउकोमा चोट लागेर म ढलें। सिसामा हान्दा टुक्रा उछिट्टिएर डा. पूजा र अरूलाई लाग्यो। अन्य डाक्टर नर्सहरूले तानेर हामीलाई भित्र कोठामा लग्नुभयो। ल आज यिनीहरूले हामीलाई मार्ने भए भन्दै हामी थरथर कापेर बसिरह्यौं। हामी महिला स्वास्थ्यकर्मीमाथि समेत हात हाल्ने भनेको त अराजकताको पराकाष्टा नै नाघेको थियो।

तर त्यहाँ ड्युटीमा खटेर आएका डीएसपी भने मूकदर्शक बनेर टुलुटुलु हेरिरहे। अस्पतालको इमरजेन्सी वार्डमा यत्रो तोडफोड हुँदा न उनले डाक्टरलाई सुरक्षा दिए न प्रदर्शनकारीलाई पक्रिए। नागरिकको सुरक्षा प्रहरीको दायित्व होइन र ? तर घटना हुँदाकै समयमा प्रहरी अगाडि नै हुँदा पनि हामीले कुटाइ खायौं। बिरामी पक्ष त आवेगमा आएर जे पनि गर्न सक्छन्, तर प्रहरीको कर्तव्य त नागरिकलाई सुरक्षा प्रत्याभूति गराउने होइन र ? हामी हजारौं बिरामीको ज्यान जोगाउन रातदिन नभनी खट्ने चिकित्सकको सुरक्षा राज्यले गर्दैन भने कसले गर्छ त ? हामी पाँचैजना डाक्टरलाई छप्काइदिन्छौं भनेको छ, प्रहरी प्रशासनले सुरक्षा प्रबन्ध जिम्मेवरीपूर्वक गर्छ कि गर्दैन ? यस्ता कयौं जिज्ञासा मेरा मानसपटलमा अझै पनि आइरहन्छन्। 

आफ्नो शतप्रतिशत प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिएन। हामीलाई पनि यसमा दुःख लागेको छ। तर यदि हाम्रो कामप्रति शंका लागेको थियो भने मेडिकल काउन्सिलमा उजुरी दिन सकिन्थ्यो। काउन्सिलले छानबिन गथ्र्यो। हामीले बिरामीको उपचार हरसम्भव प्रयास गर्दागर्दै पनि हामीमाथि नै आक्रमण गरियो। यसले हामीलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि विक्षिप्त बनाएको छ। आज कैयौं दिन बितिसक्दा पनि बिरामी जाँच्न जाँदा मनको डर हराएको छैन। यसको प्रभाव हामी डाक्टरलाई लामो समयसम्म रहन्छ। 

स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ अनुसार पुर्पक्षको लागि थुनामा राखी २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख जरिबाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ। तर कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा पटकपटक डाक्टरले पिटाइ खानुपर्ने अवस्था छ। त्यसैले सम्बन्धित निकाय र सरकारले यसमा चाँडो ध्यान दिनुपर्छ। अन्यथा आगामी पीडीका डाक्टर इमरजेन्सीमा काम गर्न कैयौं पटक सोच्न बाध्य हुनेछन्। 

प्रधान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक विभागकी प्राध्यापक तथा विभागीय प्रमुख हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.