नमुना बस्तीबाट नसिक्नुपर्ने पाठ

नमुना बस्तीबाट नसिक्नुपर्ने पाठ
सुन्नुहोस्

अछामको चाफामाडौंको चिलेत्रामा आकर्षक घर छन् तर रित्ता । बस्न योग्य छन् । तर कोही बस्दैन । बस्न पाएको छैन । बाढीपहिरोको जोखिमका दलित परिवारका लागि घर बने तर हस्तान्तरण भएनन् । कारण के भने घर बनेको जग्गा नै व्यक्तिकै नाममा छ, जसलाई दिनुपर्ने हो उनीहरूको नाममा जान सकेको छैन ।

रामारोशन गाउँपालिकाले प्रदेश सरकारसँग मिलेर ती घर बनाएको हो । समपूरक बजेटबाट डेढ करोडमा बनेका घर यस्तो बेला अझै खाली छन्, जतिबेला फेरि बाढीपहिरोको जोखिम मुखैमा आएको छ । बर्खा लागिसकेको छ र फेरि दलित परिवार त्रासमा छन् । पालिकाले व्यक्तिको ५६ रोपनी जमिन सरकारी बनाउनुपर्ने थियो । र, मात्रै नमुना घर बनाउनुपर्ने थियो । न त्यो जग्गाका धनीलाई मुआब्जा नै दिइयो, न सरकारी नाममा ल्याइयो । पालिका चुकेको त्यहीं हो । 

यो पालिकाको चूकमात्रै होइन, नेपाली राज्य प्रणालीको काम गराइको एउटा नमुना नै हो । त्यसरी नै पहिला रिक्सा अनि घोडाजस्ता तरिकाले काम हुँदै आएको छ र त परिणाम आउँदैन, नतिजा आउँदैन । बरु राज्यकै स्रोतको नोक्सानी हुन्छ । अहिले अछामको रामारोशनको नमुना बस्तीको हकमा पनि राज्यको लगानी भइसक्यो तर लाभग्राहीलाई लाभ भएन । न गाईको थुनमा न बाच्छाको मुखमा जस्तो अवस्थामा भयो । 

गोरखाको गुप्सीपाखामा बनेको नमुना बस्तीमा पनि लाभग्राही खासै बसेनन् । स्थानीयको आवश्यकता र जीवनशैलीलाई ख्यालै नगरी धमाधम भूकम्प पीडितलाई भनेर घर बनाइयो र पछि खाली नै रहे । कताकतिबाहेक घरमा मान्छे बसेनन् । 

सिन्धुपाल्चोकमा सीमान्तीकृतका लागि कलाकार श्वेता खड्कालगायतले बनाइदिएको बस्ती ऋणको बोझमा प¥यो । मुलुकमा यस्ता धेरै नमुना बस्ती छन्, जसबाट नसिक्नुपर्ने पाठ धेरै छन् । भनेको नमुना बस्ती भनेर हतारमा कुनै योजना बनाउनुभन्दा पहिला धरातलीय यथार्थ र आवश्यकता ख्याल गरिनुपर्छ भन्ने चाहिँ सिक्नुपर्ने पाठ हो । अनि नेपाली जीवनशैली र रहनसहन सुहाउँदा हुनुपर्छ बस्ती र घर । कुचुक्क घरमात्रै र थुक्ने आँगन पनि नभएको अपार्टमेन्ट वा हाउजिङ शैलीको बस्ती नेपाली गाउँघरका लागि व्यावहारिक होइन । सँगसँगै पालिकाजस्ता स्थानीय सरकार वा जुनसुकै सरकारले पनि घर निर्माणअघि पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगर्नुचाहिँ निकै ठूलो कच्चापना हो, जुन अछाम रामारोशनमा भयो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.