कांग्रेसको बटमलाइन : सहकारी ठगीमा संलग्न लामिछानेमाथि छानबिन हुनैपर्छ
काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले सहकारी अपचलनमा मुछिएका रास्वपाका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको बटमलाइन भएको जनाएको छ।
आज बिहान बसेको संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको आफ्नो माग पूरा नगरे संसद् बैठक चल्न नसक्ने बटमलाइन बनाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनले संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने जनाएको छ। ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिगठन कांग्रेसको बटमलाइन हो। सरकारले प्रतिपक्षको मागलाई बेवास्था गरेको छ, संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार स्वयम हुन्छ।’ उनले बैठकपश्चात भने,‘सहकारीबाट नागरिकको बचत रकम फिर्ता गर्न र रकम हिनामिनामा गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ।’
लेखकले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताए। कांग्रेसले लामिछाने जोगाउनलाई राज्य संयन्त्रको दूरुपयोग भएको दाबी गरेको छ।