वीरगन्जको श्रीदुर्गा रोड क्यारियरमा प्रहरीको छापा

वीरगन्जको श्रीदुर्गा रोड क्यारियरमा प्रहरीको छापा
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज–१० आदर्शनगरमा रहेको एक ट्रान्सपोर्टमा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीको टोलीले छापा मारेर करिब ७० लाख रुपैयाँ मूल्य बराबरको दुई ट्रक मालसामान नियन्त्रणमा लिएको छ। 

भन्सारमा खटिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले शनिबार बिहान आदर्शनगरमा रहेको श्रीदुर्गा रोड क्यारियरमा छापा मारेर राजश्व छलीको आशंकामा कपडा, काजु, स्टिलका भाँडावर्तन, ग्याँस चुल्हा लगायतको सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले छापा मारेर सामान बरामद गरेको ट्रान्सपोर्टका सञ्चालक मदन प्रसाद कलवार (मदन रुन्चे) हुन्। 

सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बरामद गरिएका ती मालसामान सबै राजश्व छली (तस्करी)को रहेकाले बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा ल्याइएको बताए। रिजालका अनुसार शनिबार बिहान भारतबाट चार पोका कपडा बोकेर वीरगन्ज भित्रिएको एक अटो गाडीलाई सशस्त्र प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले वीरगन्ज–२ छपकैयास्थित इदगाह चोकबाट पछ्याएको थियो। 

उक्त अटो आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरमा पुगेर त्यसमा रहेको पोकाहरू उक्त क्यारियरको गोदामभित्र लगेर राख्ने क्रममा सशस्त्र प्रहरीको टोलीले छापा मारेको थियो। त्यसक्रममा दुई वटा गोदामभित्र भण्डारण गरी राखिएका करिब ७० लाख रुपैयाँको मालसामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सारमा ल्याइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए। 

रिजालले भने, ‘तस्करीको सामान भेटिएपछि हामीले भन्सारका कर्मचारीलाई बोलायौं। त्यसपछि आवश्यक प्रकृया पुरा गरेर दुवै गोदामभित्र रहेका सामानहरू नियन्त्रणमा लियौं।’ यता उक्त ट्रान्सपोर्टका सञ्चालक कलवारले भने सशस्त्र प्रहरीले बरामद गरेर लगेका सामानहरू राजश्व छलीको नभएको दाबी गरेका छन्। सबै सामानको भन्सार प्रज्ञापनपत्र र भ्याट बिल रहेको भन्दै कलवारले भने,‘सबै कागजात देखाउँदा पनि सशस्त्र प्रहरीले गोदामको ताल्चा फुटाएर सामान लिएर गयो।’ 

वीरगन्ज महानगरपालिका-१० का वडाध्यक्ष सुशील साह कानुले भने सशस्त्र प्रहरीले नेपालको कानुन मिचेर गोदामको ताल्चा फोडेर सामानहरू नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन्। उनले भने,‘यदि कुनै पनि व्यावसायिक प्रतिष्ठान वा गोदाममा सरकारी निकायले छापा मार्छ र ताल्चा फुटाउनुपर्ने अवस्था आयो भने वडाअध्यक्षको रोहबरमा मुचुल्का उठाएर मात्रै ताल्चा तोड्नुपर्ने नियम कानुनमा छ। तर सशस्त्र प्रहरीले आफूलाई कुनै खबर नै नगरी गोदामको ताल्चा फुटाएर सामानहरू लगेको छ। यो कानुनको उल्लंघन हो। म त्यहाँ पुग्दा गोदाम खाली गरेर सामान सशस्त्र प्रहरीले लगि सकेको रहेछ। सामान लगेपछि मात्रै मलाई सशस्त्र प्रहरीले फोन गरेको थियो।’

तर सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले भने वडाध्यक्ष कानुलाई खबर गरेको तर उनि ढिला गरी घटनास्थलमा आएको बताए। रिजालले भने,‘कहिलेकाँही क्वीक एक्सन लिँदा सबै प्रक्रिया पूरा गर्न भ्याइँदैन। तैपनि हामीले गोदाममा खानतलासी लिनुपूर्व प्रकृया अनुसार एउटा सूचना टाँस गरेका थियौं। त्यसपछि मात्रै गोदाममा खानतलासी गरेका थियौं। अर्को कुरा गोदाम खुल्लै थियो। ताल्चा लगाइएको थिएन।’

सशस्त्र प्रहरीले पछ्याउँदै आएको अटोमा लोड रहेको सामान ट्रान्सपोर्टको गोदाममा लगेर राख्दै गरेको भेटिएपछि मात्रै गोदाममा छापा मारेर खानतलासी गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.