सिर्जनशील शिक्षा
कामको सिलसिलामा एक बिहान एउटा सरकारी विद्यालय पुगें। ठूलो चौरमा, रुखमुनि रहेको बेन्चमा बसेर विद्यार्थी भेला भएको हेर्न आनन्द लागिरहेको थियो। कोही बच्चाहरू सुकिलामुकिला देखिन्थे भने कतिको कमिजको कुहिना र पाइन्टको घु“डामा दुलो परेका थिए। कोही चप्पलमै विद्यालय पुगेका थिए। सबै बच्चाहरू विद्यालय रमाएर आइरहेका थिए। केही समयमै विद्यार्थीको संख्या बढ्यो र उनीहरू आ–आफ्नो समूह बनाएर खेल्न थाले। खेल रोचक थियो, यस कारणले पनि कि उनीहरूले खेलिरहेको खेलमा सम्पन्न र विपन्न वर्गका केटाकेटीहरूको विभेद थिएन। चुँगी अनि चुँगीको बम ब्लास्ट, काठ छुँदैछुँदै एक ठाउँबाट अर्को ठाउ“मा पुग्ने खेल खेल्दा बच्चामा देखिने आनन्द सबै वर्गका केटाकेटीमा एकनासको थियो। उही हाँसो, उही निश्चलता। त्यो उज्यालो मुस्कान हेर्दा कुन वर्गको परिवारका बच्चा हुन कसैले छुट्ट्याउन सक्दैन। बालबालिकाले बोक्ने झोला, बोतल आदिले भने उनको परिवारको आर्थिक पृष्ठभूमि बयान गर्दो रहेछ।
केटाकेटी खेलिरहेको हेर्दा मलाई खेलको महŒव झन् प्रस्ट भएर आयो। खेलले परिवार, टोल, समाज, देश, विश्वलाई नै एक सूत्र, एक भावमा जोडेको हुन्छ। कुनै सभा सम्मेलन वा गोष्ठीको बारेमा केही वर्गले चासो राख्छन् भने विश्वकप चलिरहँदा ठूलो समुदाय उत्साही भएको हुन्छ। प्रायःजसो एउटा खेलाडीको जित राज्यको गौरव बन्छ, देशको पहिचान बनेको हुन्छ। तर पनि खेलाडीले उचित सम्मान पाउन सकेका छैनन्। खेल र खेलाडीका लागि पूर्वाधार तथा नीतिहरू अझ सशक्त ढंगले आउनु पर्नेछ।
हाम्रो विद्यालयमा पनि केही अब्बल खेलाडीहरू छन्। समयले साथ दिँदै, उनीहरूले पाउने मौका र सही अभिभावकत्व पाए उनीहरू अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न लायक छन्। विद्यालयभित्र छिर्दा खेल दिवसबाहेक अरू दिन उनीहरू छाती चौडा गर्न सक्दैनन्, पढाइ कमजोर छ, बिहान बेलुका खेल अभ्यास गर्छन्, कहिले गृहकार्य पनि पूरा हुँदैन। उनीहरूको जीवनमा पनि पढाइको महŒव उत्तिकै छ जति अरू बच्चाको जीवनमा छ तर भविष्यमा डाक्टर, इन्जिनियर, वकिल बन्ने बच्चा र सानै कक्षादेखि नै खेलकुदलाई आफ्नो पहिचान बनाइसकेका बच्चाको पाठ्यक्रम एक नासको कसरी हुन सक्छ ? खेलाडीले चारवटा कोठामा रङ लगाउन कति पैसा लाग्छजस्ता गणितका मेन्सुरेसन वा मनी एक्सचेन्जका पाठ जान्नैपर्ला तर अरू विविध पाठलाई परिमार्जन गरी अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई स—सम्मान समावेश गर्न सकिन्थ्यो।
हाम्रो पाठ्यक्रम सबैका लागि एक छ किनकि सायद हामीले सरल काम गर्छौं र त्यो सम्पन्न गरेर सफल भएको ठान्छौं। यसका लागि यो पाठ्यक्रम, अर्को समूहका लागि भिन्न पाठ्यक्रम गर्दा काम र उपलब्धिमूलक चुनौती अवश्य पनि बढ्छ। हामीले काम र सकारात्मक चुनौतीलाई अनावश्यक बोझ ठान्नु हुँदैन। विशेष प्रतिभा भएका बालबालिकाको पहिचान गरी, उचित मापदण्डबाट उनीहरूको मूल्यांकन गरेर अतिरिक्त अंक दिने हो भने, राष्ट्रको झण्डा नै ओढेर अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने यी रत्नले, शैक्षिक क्षेत्रका अन्य रत्नको सामु आफूलाई होचो ठान्नुपर्ने थिएन। विदेशमा पनि स्वदेशको गौरव र झण्डा बोकेर राष्ट्रको पहिचान बढाउने यी खेलाडीलाई उचित सम्मान र सम्बोधन गर्ने रचनात्मक प्रणालीको कमी खट्किन्छ।
हामी सिर्जनशील भएरै होला बजारमा विभिन्न थरीका कोर्सहरू छन्। त्यो कोर्स कसले पढ्ने भन्ने कुरा विद्यालय स्तरबाटै पहिचान हुने र सबै थरीका प्रतिभालाई सम्बोधन गर्ने शिक्षा नीति र राष्ट्रिय योजना बन्यो भने, नेपालका विद्यालयमा रत्नैरत्न छन्। उनीहरूले सही जुहारी र मौका पाएका छैनन्।
विचार फराकिलो हुनुपर्छ, नियमित काम सरल र सोझो होला तर थोरै काम बढाएर अलिकति सिर्जनशील शिक्षा प्रणाली भए, राष्ट्रिय विभूति लोप हुनु पहिल्यै पहिचान, कदर र प्रवद्र्धन हुनेछ।
जसरी बगैंचामा थरीथरीका फूलहरू हुन्छन्, त्यस्तै हाम्रो देश पनि थरीथरी प्रतिभाले भरिएको छ। कोपिला अवस्थामा नै यी प्रतिभाको पहिचान गरी, उचित तालिम दिन सक्ने हो भने देश प्राकृतिक सम्पदा मात्र होइन, विलक्षण प्रतिभावान् व्यक्तित्व बस्ने उद्गमस्थल बन्नेछ। जसरी सयपत्री, मखमली, स्वस्थानी फूलहरूले आआफ्नो महत्त्व बोकेको छ, प्रत्येक प्रतिभा बोक्ने व्यक्तित्वको आफ्नो अलग पहिचान हुन्छ। माछा उड्न नसक्नु वा चरा पौडन नसक्नुलाई कमजोरी होइन विविधता मानिन्छ, ठीक त्यसैगरी सबै बालबालिकाका आफ्ना कलाकौशल समयमा नै पहिचान हुने हो भने उनीहरूले सम्मानजनक जीवन जिउन पाउनेछन्।
मेरो पहुँचले भ्याएसम्मका बालबालिकाहरूलाई भन्ने गरेकी छु— आफ्नो प्रतिभा चिन, आफ्नो पहिचान बुझ, आफूलाई माया गर, सम्मान गर। पढ्न, लेख्न अति आवश्यक छ, यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्छ। आफ्ना विद्यार्थीले सानै उमेरमा केही गरी खाने बाटो समाएको देख्दा निकै आनन्द आउँछ। केही विद्यार्थीहरू त बहुप्रतिभाका धनी छन्, सानै उमेरमा आफ्नो काम, लगन र सीपले अरूमा प्रभाव पार्न सफल छन्, आफ्नो खुट्टामा उभिएका छन्। तर विडम्बना हाम्रो शिक्षा नीतिको परीक्षा प्रणालीले उनीहरूलाई असफल ठह¥याउँछ। त्यो परीक्षा उनीहरूको लागि नै होइन, उनीहरूलाई मूल्यांकन गर्ने नीति र प्रणाली फरक हुनुपर्छ।
त्यसो त वैकल्पिक उपायको खोजी गरी, व्यावहारिक शिक्षाको व्यवस्था नरहेको होइन तर कुन धारबाट आएका विद्यार्थीले कति सम्मान र मौका पाउँछन्। समाजले उनीहरूलाई कसरी हेर्छ जस्ता कुराले विद्यालय र पढाइको रोजाइ गर्ने गरेको पाइन्छ।
पढ्नु जरुरी छ, पढाइको विकल्प छैन। कसले के पढ्ने र कसरी पढ्ने भन्ने कुरामा भने हामी अझै सिर्जनशील हुन सकेका छैनौं। प्रत्येक विद्यार्थीले पढाइको महŒव बुझेर, पढाइले उनीहरूको जीवनमा ल्याउने सकारात्मक परिवर्तन र अनगिन्ती मौकाबारे जानेर पढ्नुपर्छ। हामीले पनि विद्यार्थीमा पढ्न सक्ने क्षमता र इच्छा बाल्यकालदेखि बसाल्न सक्नुपर्छ। हामीले बुझ्नुपर्छ, हातको पाँच औंला एकनास नभए जस्तै, प्रत्येक बिद्यार्थी फरक छन्। सबैको मनोविज्ञान बुझेर हामीले उनीहरूलाई जीवनमा ससम्मान गरी खान सक्ने बनाउनुपर्छ।