पहिले ६ छक्का, अहिले वरीयतामा छलाङ

पहिले ६ छक्का, अहिले वरीयतामा छलाङ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : एसीसी टीट्वेन्टी प्रिमियर कप क्रिकेटअन्तर्गत कतारविरुद्धको खेलमा लगातार ६ छक्का प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयतामा पनि छलाङ मारेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको टीट्वेन्टीतर्फको अलराउन्डरमा दीपेन्द्रले छलाङ मारेका हुन् । 

एसोसिएटतर्फका अलराउन्डरमा शीर्ष स्थान हासिल गरेका दीपेन्द्रले १४ स्थान सुधार गर्दै ११औं स्थानमा उक्लिएका छन् । यसअघि उनी आईसीसीको वरीयतामा २५औं स्थानमा थिए । दीपेन्द्रले टीट्वेन्टी ब्याटरतर्फ पनि १६ स्थान सुधार गरेका छन् । उनी टीट्वेन्टी ब्याटरको सूचीमा ६१औं स्थानमा छन् । टीट्वेन्टी ब्याटरको वरीयतामा कप्तान रोहितकुमार पौडेल ५४औं स्थानमा छन् । उनी दुई स्थान तल झरेका हुन् ।

टीट्वेन्टीतर्फको अलराउन्डरमा एसोसिएट राष्ट्रबाट दीपेन्द्रपछि नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् । वरीयताको शीर्ष १० मा भने टेस्ट राष्ट्रका खेलाडीको बाहुल्यता छ । टीट्वेन्टी अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा छन् । 

श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, दक्षिण अफ्रिकाका अइडन मार्कम चौथो, अस्ट्रेलियाका मार्कस स्टोइनिक्स पाँचौं, जिम्बावेका सिकन्दर राजा छैटौं, भारतका हार्दिक पान्ड्या सातौं, इङ्ल्यान्डका लाइम लिभिङस्टोन आठौं, इङ्ल्यान्डका मोइन अली नवौं र पाकिस्तानका सदाव खान १०औं स्थानमा छन् ।

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याचको पुरस्कारसमेत जितेका थिए । उनले कतारविरुद्धको खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका थिए । कतारका बलर कमरान खानको अन्तिम ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेका थिए । उनले २१ बलमा सात छक्का र तीन चौकाको मद्दतमा अविजित ६४ रन बनाएका थिए । उनले १९ बलमै अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रोपटक हो । यसअघि चीनको हाङआचोमा गत असोजमा भएको १९औं एसियाली खेलकुदमा उनले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाउने क्रममा दुई ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने दीपेन्द्र पाँचौं खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्स, सन् २००७ मै भारतका युवराज सिंहले टीट्वेन्टी विश्वकपमा इङ्ल्यान्ड, वेस्ट इन्डिजका काइरन पोलार्डले श्रीलंका र अमेरिकाका जसकरण मलहोत्राले पपुवा न्युगिनीविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । युवराज सिंह र काइरन पोलार्डले टीट्वेन्टी र हर्सल गिब्स र जसकरण मलहोत्राले एकदिवसीय क्रिकेटमा ६ छक्का प्रहार गरेका हुन् ।

टीट्वेन्टी अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल २७औं स्थानमा छन् । उनले पाँच स्थान सुधार गरेका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल भने ६ स्थान खस्किँदै ६२औं, गुलशन झा ६९औं र करण केसी तीन स्थान खस्किँदै ८०औं स्थानमा छन् । टीट्वेन्टी ब्याटरमा ओपनर आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औं र नौ स्थान सुधार गर्दै कुशल मल्ल १००औं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.