आगन्तुक चरालाई पनि संरक्षित सूचीमा राख्नुपर्छ
नेपालमा राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, सामुदायिक वनहरू लगायतका चराका ३७ वटा महत्वपूर्ण क्षेत्रहरू छन्। नेपाल सरकारले बाघ, हात्ती, गैंडालगायतका जनावरहरू संरक्षणमा केही पहल गरेको छ। चराहरू संरक्षणमा एकदमै कम छ। कुनै–कुनै संस्थाले खरमजुरलगायतका लोपोन्मुख चराहरूको अध्ययन गरिरहेका छन्।
नेपाल सरकारको संरक्षण सूचीमा परेका चराहरूमा ९ वटा प्रजातिमध्ये तराई क्षेत्रमा ६ वटा प्रजाती पाइन्छन्। यसमध्ये खरमजुर १४ वर्षदेखि बर्दियामा देखिएको छैन। बर्दिया राष्ट्रिय निकुञ्जले यसमा अध्ययन गरिरहेको छ। त्यस्तै शुक्लाफाँटामा पनि अध्ययन जारी छ। नेपालमा ८ सय ९४ प्रजातिका चराहरू सूचीकृत भएको पाइन्छ। बर्दियामा मात्र ५ सय १३ प्रजातिका चराहरू छन्। सामाजिक सञ्जालले गर्दा पहिलेभन्दा अचेल संरक्षण बढेको छ। एसियालगायत नेपालबाटै ९९ प्रतिशत गिद्धहरू लोप हुँदै गएकाले नेपाल सरकार र पन्छी संरक्षण संघले गिद्ध संरक्षणमा केही काम गरेको छ।
माछा मार्ने क्रममा विषादी हाल्नाले पानी चराहरू मर्ने गरेका छन्। केहीले चरालाई पासो हाल्ने र गुलेलीले हान्ने गर्छन्। चितवनमा पनि पानीमा विष हालेका कारणले हिउँदे आगन्तुक चराहरू मरेको पाइएको छ। कृषि क्षेत्रमा प्रयोग गरिने विषादीले चराहरूलाई धेरै असर पारेको छ। बटाइ चराहरू खुलेआम बेचबिखन हुने गरेको छ। अन्य चराहरूलाई पनि मारेर बटाइ भन्दै बेच्ने गरेको पाइन्छ। त्यस्तै सुगाहरू पाल्ने र बेच्ने गर्छन्। यसले चरा संरक्षणमा चुनौती थपिएको छ।
सरकारले बाघ, हात्ती, गैंडाबाहेक सुनगोहोरो, चरालगायत संकटापन्न अवस्थामा पर्ने जीवहरूलाई महत्व दिएको छैन। जस्तै घडीयाल गोही बाघभन्दा २० गुणा महत्वपूर्ण छ तर नेपाल सरकारले यसको संरक्षणमा त्यति महत्व दिएको देखिँदैन। चराहरू एकै ठाउँमा बस्दैनन्। हिउँद र गर्मी याममा नेपालमा साइबेरियादेखि चराहरू आउँछन्। सरकारले पालिकाहरूमा चरा संरक्षणसम्बन्धी तीव्र जनचेतना जगाउनुपर्छ।
(शाही चरा विज्ञ एवम् वरिष्ठ प्रकृति पथप्रर्दशक हुन्।)