![‘ब्रेक थ्रु’ भयो नागढुंगा सुरुङमार्ग](https://annapurnapost.prixacdn.net/media/albums/Pm_visit_in_surung_marg_f3Z8WXOOY4_WoMFYsvQ7v.png)
काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ लगायतको उपस्थितिमा बाँकी रहेको २ मिटर सुरुङ विस्फोटक पदार्थमार्फत आज खनेसँगै ‘ब्रेक थ्रु’ भएको हो ।
नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’ को अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो। सोफासहित बस्ने व्यवस्था मिलाइपछि उनको आलोचना हुन थालेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पहिलो सडक सुरुङमार्गको २०७६ साल कात्तिक ४ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो। सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच २०७६ साल असोज ६ गते सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो। कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो। आयोजनाको उद्धार सुरुङ(रेस्क्यू टनेल)भने गत साउनमै छिचोलिसकेको छ।
सुरुङ मार्गबाट सवारीसाधन सञ्चालन गर्न भने अझै १ वर्ष लाग्ने आयोजनाले जनाएको छ। आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनीबेसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ। सुरुङ सञ्चालनमा भएपछि थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।
स्थानीय तहको अवरोध र कोभिडका कारण आयोजनाको काम समयमै काम सक्न गाह्रो भएको आयोजनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)