इतिहास रच्ने दाउमा मछिन्द्र र पुलिस

इतिहास रच्ने दाउमा मछिन्द्र र पुलिस
सुन्नुहोस्

सिमराः जगदम्बा जितपुरसिमरा गोल्डकपको १४औं संस्करणको फाइनल खेल सोमबार साँझ सिमरा रंगशालामा हुँदैछ। प्रतियोगिताको उपाधिका लागि विभागिय टिम नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्।

गोल्डकपको फाइनल खेल भव्य समारोहकाबीच सम्पन्न हुँदै गर्दा १४औं संस्करणले नयाँ इतिहास रच्ने निश्चित छ। यो वर्ष पनि आयोजकले उपाधि विजेताका रुपमा नयाँ टिम पाउनेछ भने उपाधि उचाल्ने टिमले पनि जितपुरसिमरा गोल्डकपको टाइटल जित्नेको सूचीमा नाम लेखाउनेछन्। 
फाइनल खेल्न लागेका दुबै टिमले हालसम्म जितपुरसिमरा गोल्डकपको उपाधि उचाल्न सकेका छैनन्। 

त्यसैले दुवै टिमले फाइनल भिडन्तलाई इतिहास रच्ने अवसरका रुपमा लिएका छन्। पुलिस आठ वर्षपछि दोस्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मछिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो। यसअघि रुस्लान छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।  

यता मछिन्द्र भने म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो। मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मछिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो। 

हालै विराट गोल्डकपको उपाधि समेत उचालेर सिमरा आएको मछिन्द्रले यो टाइटललाई महत्वका साथ हेरेको छ। यो वर्ष पाँच वटा टाइटल जित्ने लक्ष्य बोकेको मछिन्द्रले यो उपाधि जिते चौथो हुनेछ। यसअघि विराट गोल्डकप, केपी ओली कप र बागमती गोल्डकपको उपाधि मछिन्द्रले उचालिसकेको छ।
 
यता युवा खेलाडीले भरिएको पुलिस भने यो सिजनकै ठुलो उपाधि उचाल्ने दाउमा छ। पुलिसले यो सिजनमा वीरगन्ज गोल्डकपको उपाधि मात्रै उचालेको छ। पुलिसका कप्तान रामचन्द्र वाजेले जितपुरसिमराको टाइटल उचाल्न आफ्नो टिम आतुर रहेको बताए। ‘युवा खेलाडीले भरिएको टिमका लागि यो उपाधि निकै महत्वपूर्ण छ। यो पटक विजेता बन्दै आठ वर्षअघि उपाधिबाट बञ्चित हुनुपरेको दिनलाई समेत बिर्सन चाहन्छौं’ वाजेले भने ‘त्यसैले हामी सम्पूर्ण मेहनत लगाएर फाइनल खेल्नेछौं।’

पुलिसका प्रशिक्षक चेतन घिमिरे पनि कप्तान वाजेको कुरामा सहमती जनाउँछन्। १४ वर्षको इतिहास बोकेको जितपुरसिमरा गोल्डकपको उपाधि विजेताको सूचीमा पुलिस क्लबलाई उभ्याउनका मछिन्द्रविरुद्धको खेल महत्वपूर्ण हुने घिमिरेले बताए। विभागिय डर्बीमा एपीएफलाई पराजित गर्दै फाइनल प्रवेश गरेका कारण टिमको मनोबल उच्च रहेको बताउँदै घिमिरेले उपाधि जित्नेमा आफू आशावादी रहेको बताए।

पहिलो खेलमा आयोजक नवजनजागृति क्लब र दोस्रो खेलमा एपीएफ क्लबलाई पराजित गर्दै उपाधि होडमा उभिएको पुलिसले फाइनल खेलमा घरेलु दर्शकको समर्थन पाउने सम्भावना कम छ। एपीएफविरुद्धको विभागिय डर्बीमा पनि घरेलु दर्शक पुलिसको पक्षमा देखिएनन्। पुलिसका प्रशिक्षक घिमिरे फाइनल जित्नका लागि दर्शकको समर्थन महत्वपूर्ण हुने बताए। ‘आयोजक विरुद्धको जितका कारण सेमिफाइनमा हामीले दर्शकको समर्थन पाउन सकेनौ। दर्शकको समर्थन पनि महत्वपूर्ण पाटो हो’ घिमिरेले भने ‘आशा छ हामीले फाइनलमा दर्शकको साथ र समर्थन पाउनेछौं।’

पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ। दोहोरो पहेलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन्। शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए। 

यता स्टार खेलाडी बिमल घर्तिमगर, मनिष डांगी सम्मिलित मछिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन। मछिन्द्र प्रतियोगिताको उपाधि उचाल्ने दावेदार टिम हो। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको मछिन्द्रले सिरहाको सलहेश युवा क्लबलाई पन्छाउँदै फाइनल प्रवेश गरेको थियो। मछिन्द्र फाइनल जित्नेमा विश्वस्त देखिन्छ। 

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पुलिसलाई पराजित गरेर टाइटल जित्नेमा आफू निकै आशावादी रहेको बताए। ‘यो सिजनमा पाँच वटा टाइटल जित्ने गरी तीन महिनादेखि तयारीमा छौं’ न्यौपानेले भने ‘तीन वटा जितिसक्यौ। यो चौथो हो, जसरी पनि जित्नेछौं।’ पुलिस बलियो प्रतिस्पर्धी भएपनि आफ्नो टिम लय र खेलाडीको प्रदर्शनका कारण उपाधि उचाल्नेमा विश्वस्त रहेको न्यौपानेले बताए। 

मछिन्द्रका कप्तान तथा गोलरक्षक बिशाल श्रेष्ठले पनि यो पटकको उपाधि आफ्नो टिमले उचाल्ने दावी गर्छन्। ‘यो सुन्दर अवसर हो। हामी सुन्दर फुटबल खेलेर उपाधि जित्छौ’ विशालले भने ‘यो ट्रफि हाम्रा लागि महत्वपूर्ण पनि छ। हामी जित्न चाहन्छौं।’ 

दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल भिडन्त खेलप्रेमी दर्शकका लागि समेत रोमाञ्चक हुने बताउँछन्। गोल्डकपको फाइनल खेलमा १० हजार भन्दा बढी दर्शक आउने आकलन गरिएको छ। यसअघिका संस्करणको फाइनल खेलमा सोही संख्यामा दर्शकको उपस्थिति रहँदै आएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.