नयाँ वर्षमा पर्यटकले भरियो बन्दीपुर

नयाँ वर्षमा पर्यटकले भरियो बन्दीपुर
सुन्नुहोस्

तनहुँ : नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ। नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन्।

बन्दीपुरमा शुक्रबारदेखि ११औँ सडक खाना महोत्सवसमेत सुरु भएको छ। बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए। उनले भने, ‘नयाँ वर्ष मनाउन बन्दीपुर पर्यटकले खचाखच छ। हजारौँ पर्यटक नयाँ वर्ष मनाउन बन्दीपुर आउनुभएको छ। होटल पनि भरिभराउ छ।’ नयाँ वर्षमा घुम्ने संस्कृतिको विकास भएका कारण बन्दीपुरमा पर्यटक बढेका हुन्।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा सुरु सडक खाना महोत्सव वैशाख २ गतेसम्म सञ्चालन हुनेछ। 

सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ। मगर, नेवार, गुरुङ, ब्राह्मणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको प्रधानले बताए। आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ। यहाँ विशेषगरी चिनियाँ पर्यटकको संख्या बढी छ। नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन्। 

यस वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्यांक छ। बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ।

बन्दीपुरमा आयोजना हुने सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिल्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ। गाउँपालिकाका अध्यक्ष थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ। 

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ। 

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ। 

बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। यसैगरी नयाँ वर्षकै अवसरमा जिल्लाको धार्मिक गन्तव्य छाब्दीवाराही र ढोरवाराही मन्दिरमा समेत भक्तजनको घुइँचो लागेको छ। भीडभाडका कारण दर्शनका लागि घण्टौं समय कुर्नुपर्ने अवस्था थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.