‘बोरा’भित्र के छ ? आमा...

पत्रकार भण्डारीको नयाँ उपन्यास

‘बोरा’भित्र के छ ? आमा...
पत्रकार तथा लेखक अखण्ड भण्डारीद्वारा लिखित उपन्यास ‘बोरा’ शुक्रबार काठमाडौंमा सार्वजनिक गरिँदै  । तस्बिर : अशोक दुलाल।
सुन्नुहोस्

काठमाडौं : पर्दा खुल्छ, दुईवटा कुर्सीको छेउमा रहेको टेबलमा एउटा बोरा देखिन्छ। कार्यक्रममा सहभागी सबैमा जिज्ञासा जाग्छ– आखिर बोराभित्र के होला ?

बाँधिएको बोराको जुइनो खोल्न पुगे तीन आमा। बोराभित्रबाट निकाले अरू धेरै बोराहरू ! तीनैजनाले एउटा एउटा बोरा हातमा लिए र देखाए सबैलाई। केहीबेरको रहस्य उद्घाटन भयो। अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक कार्यक्रममा शुक्रबार राजधानीमा उनकै आमा ९० वर्षीया गंगाकुमारी भण्डारी, उनकै सासू जीवन्तकुमारी घिमिरे र उनकै गुरुआमा मैयाँदेवी ढुंगेलले बोराको जुइनो फुकाउँदै बोरा नामक उपन्यास सार्वजनिक गरेका हुन्। मलाया एक्सप्रेसका लेखक भण्डारीको यो दोस्रो उपन्यास हो।

बोराको अनुहार त सहभागी सबैले देख्न पाए तर बोराभित्र के छ ? अर्को रहस्य ज्युँदै थियो सबैको मनमा। कार्यक्रम सञ्चालक साहित्यकार मुकुन्दराज शर्माले बोराबारे व्याख्या गर्न थाले, ‘सानामा बोरामा खेल्थ्यौं। बुबा भन्नुहुन्थ्यो– ऊ जोगी आयो, बोरामा हालेर लैजान्छ। केही कुरो जतन गरेर राख्ने पनि बोरा। कसैका लागि बोरा मखमली ओछ्यान पनि। अनेक प्रयोगमा आउने बोराभित्र के छ त ? उपन्यासकारबाटै सुनौं ।’ कार्यक्रमको निम्ता पाउनेहरूले भने केही छनक पाइसकेका थिए। निम्तापत्रमा लेखिएको थियो– ‘आफ्नै छोराले आमालाई कसरी फाल्दैछन् ‘बोरा’मा हालेर ?’ जसमा हँसिली आमा बोराभित्रबाट हाँसिरहेको तस्बिर थियो। निम्तासँगै सोधिएको प्रश्नले आगन्तुकमा मजैले जिज्ञासा जगाएको आभास हुन्थ्यो।

‘एउटा छोराले बोरामा हालेर नदीकिनारमा छोडेको कथा छ बोराभित्र’, ‘बोरा’भित्र के छ ? भनेर संवादमार्फत खोतल्ने प्रयास गर्न थाले एपीवान टेलिभिजनका समाचार प्रमुख निरज जोशी। उनको जिज्ञासामा उपन्यासकार भण्डारीले भने, ‘तर उपन्यास ती आमा हाँसेपछि टुंगिएको छ। आमा न हो, छोराले जे गरे पनि आमा खुसी नै हुन्छिन् भन्ने पनि उपन्यासले देखाएको छ।’ 

‘कसरी भेट्नु भयो ती आमालाई ?’ भण्डारीले भने– ‘यो सत्य घटनामा आधारित उपन्यास हो, भलै ठाउँ, पात्र र परिवेश परिवर्तित भएका छन्। ती आमालाई एक दशकअघि भेटाएँ। म ज्युँदो हुँदै लेखिसक्नू भन्नुहुन्थ्यो तर अहिले उहाँ यस धरतीमा हुनुहुन्न। आमा भन्नुहुन्थ्यो– यस्तो किताब लेख्नु ता कि त्यसले समाज परिवर्तन गरोस्।’

nullउपन्यासकार भण्डारी सवालका जवाफहरू दिन थाले– आमालाई ज्युँदै बोरामा फालेको घटना समाचार बनाउनु पथ्र्यो पत्रकारका नाताले तर मैले उपन्यास बनाउने विचार गरें। सरल भाषामा मीठो प्रस्तुति गरेर सबैमाझ पुग्ने विधा उपन्यास लाग्यो र लेखें। सञ्चारकर्मी भएकाले फरक सूत्र प्रयोग गरेर छोरासँग भेटें। नेपालका सबै वृद्धाश्रम पुगें। आमामात्र होइन, बुबाहरूलाई पनि भेटें, संवाद गरें। मूलपात्र आमा भए पनि बुबाहरूका विषय परोक्ष ढंगले समेटिएका छन्। आमालाई यस्तो घटना हुनुको सही कारण बकाउन हम्मे प¥यो तर त्यो वातावरण पनि बनाएँ र यो बोरा लेखें। पारिवारिक एवं सामाजिक यस्ता विकृति न्यूनीकरणमा यो उपन्यासले भूमिका निभाउने छ भन्ने अपेक्षा राखेको छु।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले बोरा सामाजिक विकृति र विसंगतिलाई चिर्न सफल उपन्यास भएको बताए। ‘आमा कहिल्यै बुढी हुनुहुन्न। जहिले पनि बाबु के छ बा ? भनेर सोध्ने, के खाइस् ? भनेर जे भएको दिने आमाले बुढ्यौली भएको कहिल्यै देखाउनु हुन्न’, उनले भने, ‘यो उपन्यासमा छोराबुहारीले आमालाई बाधक ठानेको सन्दर्भ आउँछ र बुहारीले धेरै संवादपछि अन्त्यमा निष्कर्ष निकाल्दै मार्नुपर्छ भन्छिन् त्यसपछि छोराले मार्नुहुन्न फाल्नुपर्छ भन्छ र बोरामा हालेर लगेर फाल्छ।’

आमा चलचित्रकी नायिका भुवन चन्दले पहिलोपटक पारिवारिक व्यथा सार्वजनिक गर्दै ११ वर्षको उमेरदेखि आमा पालेको बताइन्। 

‘अर्को बिहे गरेपछि हेलाँमा परेकी आमा तैपनि भन्नुहुन्थ्यो– छोरी बुबाको मुख हेर्न जा।’, चन्दले भनिन्, ‘डाक्टर बनेर धनदौलत इज्जत प्रतिष्ठा कमाएको छोराले आमा फाल्नुले जीवनको अर्थ के दिन्छ ? यो कहाँसम्मको पीडा हो ? अब सबैले बुझून्, आमा पालून्।’ रिम्पोचे डोल्पो बुद्धले उपन्यासबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै भने, ‘घरमा बुबाआमा हुनु घरको उज्यालो हो, आशीर्वाद हो, खुसी हो। कसैले बुबाआमाको चित्त नदुखाउनू।’ भण्डारीकी छोरी अनुपा र उनकै साथी दीपशिखा ढुंगेलले आमा बोलको गीत गाएका थिए भने प्रकाशक पिस बुक प्रालिको तर्फबाट पार्वती भण्डारीले सबैलाई धन्यवाद दिँदै उपन्यास समाजको ऐना बनेको बताइन्। पुस्तक ४७२ पृष्ठको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.