पोखरा : आज नयाँ वर्ष २०८१ ,विक्रम संवत् सुरु भएको दिन। नयाँ वर्ष नयाँ उत्साह, नयाँ सोच र नयाँ उमंगको पर्व हो।
पछिल्लो समय नयाँ वर्षमा नेपालीमा घुम्न जाने संस्कृति बढिरहेको छ। मानिसहरु कोही छुट्टि मनाउन, धार्मिक गन्तव्यका रुपमा, कोही साथी वा आफन्त भेट्ने, नयाँ नयाँ ठाउँ घुम्न जानेहरू धेरै हुन्छन्। नेपालमा पनि पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकहरु बढिरहेका छन्।
यसैगरी पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरालाई गण्डकी प्रदेशले पर्यटकीय राजधानीसमेत घोषणा गरेको छ। पोखरा आएका पर्यटकको रोजाईमा सबैभन्दा पहिले फेवाताल र हिमाल पर्ने गर्छन्। पोखरामा पर्यटकले केबुलकारबाट पनि फेवाताल हेर्दै सराङकोट पुगेर हिमाली दृश्यावलोकन गर्न सक्नेछन्।
फेवा किनारको सेदीबाट सराङकोटसम्म ‘अन्नपूर्ण केबुलकार’ सञ्चालनमा रहेको छ। पोखरा महानगरपालिका–८ सेदीबगरमा निर्माण गरिएको केबलकारबाट उदाउँदो र अस्ताउँदो घामका साथै हिमाली र फेवातालको दृश्यावलोकनका लागि पर्यटक सराङकोट पुग्छन्। अन्नपूर्ण केबलकार पोखराको नयाँ पर्यटकीय गन्तव्य पनि हो।
माथिल्लो स्टेसनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ। तल्लो स्टेसनमा पार्किङ, गार्डेन छ। लेकसाइडबाट सराङकोट पुग्न गाडीमा पौने घण्टा लाग्छ। केबुलकारले साँघुरो, घुम्ती नै घुम्ती भएको उकालो सडक यात्राको विकल्प खोलिदिएको छ।
तस्बिर : प्रज्वल पौडेल /अन्नपूर्ण पोस्ट्