यो भित्तोमा
एक–एक गर्दै
हप्ता र महिनाहरू झर्दै गए,
भित्तोमा अडिन नसकेपछि
गए राति क्यालेन्डर नै भुइँमा झर्यो,
हामीले देख्नु पर्नेछ–
यो भित्तोमा आज फेरि
अर्को क्यालेन्डर झुन्डिनेछ।
अब झुन्डिने नयाँ क्यालेन्डरमा
पोहोर–परारको क्यालेन्डरमा जस्तै
अबोध बच्चाहरूको फोटो राखेर
कुनै स्कुलले गर्नेछ गुणस्तरको विज्ञापन,
अथवा,
मिसावट गर्ने कुनै समाजसेवी व्यापारीले
कर छल्ने कुनै नामी उद्योगीले
मर्न बाध्य पार्ने कुनै अस्पतालले
चर्को ब्याज असुल्ने कुनै सहकारीले
रातारात छाप्नेछ रंगीन क्यालेन्डर
र, पुर्याउनेछ भित्ता–भित्तामा।
पोहोरजस्तै जागिरेहरूले
रातो थोप्ला भएका
बिदाका दिनहरू गन्नेछन्,
संघीय सरकारले दिने बिदा
प्रदेश सरकारले दिने बिदा
पालिका सरकारले दिने बिदा
वडा सरकारले दिने बिदा
जात, वर्ण र सम्प्रदायका
छुट्टाछुट्टै बिदाहरूको ठूलो पोको बोकेर
अब अर्को क्यालेन्डर
यो भित्तोमा फेरि झुन्डिनेछ।
नयाँ क्यालेन्डरका पत्र–पत्र पानाहरूमा
त्यो तिथि र बार
कसैले देख्न सक्ने छैन
जहाँ... पर...
अर्कै संसार जस्तो बुझिने
जुम्लाको बच्चालाई ज्वरो आउँदा
सिटामोल खान पाउने दिन
लेखिएको हुनेछैन,
भेरी नदीको किनारमा
जातीय अहंको आगोले पोलेर मारेको
नवराज विश्वकर्माको प्रेमले
न्याय पाउने मिति लेखिएको हुनेछैन,
परिवारबाट दपेटिएर
वृद्धाश्रममा पुग्न विवश
आमा–बा घर फर्किने मिति
लेखिएको हुनेछैन,
न्यायको मेरुदण्ड भाँचेर
जेल परेका अमानवहरू छुट्ने
गणतन्त्र दिवस ठुला अक्षरमा
लेखिएको हुनेछ नयाँ क्यालेन्डरमा।
नयाँ क्यालेन्डरमा
दुर्गमको कुनै बच्चाले स्कुल जाँदा
तुइन चढ्नु नपर्ने दिन
लेखिएको हुनेछैन,
सृष्टि सम्हालेकी भाउजूले
छाउगोठ जानु नपर्ने दिन
लेखिएको हुनेछैन,
भ्रष्ट नेता सत्तामा नपुग्ने
चुनावको मिति लेखिएको हुनेछैन,
परिवार पाल्नकै लागि
किड्नी बेच्न विवश
प्राइभेट हस्पिटलको गेटमा उभिएको
तन्नेरी युवा हाँस्न पाउने मिति
लेखिएको हुने छैन।
अनुहारभरि मुजा परेकी आमा
छातीभरि अभिशप्त घाउ बोकेर,
मुटुभरि प्रेम बोकेकी नवयौवना
हृदयभरि पीडाका पिरा सुस्केरा बोकेर
सरकारले कृपासाथ बनाइदिएको
भ्यु टावरमा स्वाँ स्वाँ गर्दै चढ्नेछन्
र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
रातो बाकसमा भरिएर आएको आफ्नो मान्छेलाई
आधा मासु मन बोकेर पर्खिनेछन्
अहँ नयाँ क्यालेन्डरलाई यो सब
केही थाहा हुने छैन।