धनगढीमा रमाउँला, ६ लेनमा सेल्फी खिचौंला

धनगढीमा रमाउँला, ६ लेनमा सेल्फी खिचौंला

धनगढी : जब रात पर्दै जान्छ– धनगढी–अत्तरिया सडकको चमक बढ्दै जान्छ। ६ लेनको सडक, रंगीचंगी बिजुली, सडक छेउमा हरिया बिरुवाका लस्कर, जो कोही मन्त्रमुग्ध हुन्छन्। यो सडकमा राति यात्रा गर्नेले भन्छन्, ‘युरोप, अमेरिकाजस्तै सडक रहेछ।’ रातिको दृश्य खिच्न जो कोही लालायित हुन्छन्।  

सुदूरपश्चिमको राजधानी धनगढीमा रात परेपछि घरभित्रभन्दा मान्छेहरू ६ लेन सडकतिर पुग्छन्। खल्तीबाट मोबाइल निकालेर फोटो खिच्न थाल्छन्। मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरू पनि एकछिन रोकिएर मोबाइलमा रातिको दृश्य कैद गर्छन् नै।  धनगढी—१३ का रमेश ठगुन्ना भन्छन्, ‘हरेक दिन बेलुकी पसल बन्द गरेर घर फर्किंदा अत्तरिया–धनगढी सडकको फोटो खिच्न मन लागिहाल्छ।’

हुन त, धनगढी–अत्तरिया ६ लेन सडक धनगढी उपमहानगरपालिकाले बनाएको होइन। १५ किलोमिटरको यो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गरेको हो। यो सडकमा धनगढी उपमहानगरको क्षेत्र भनेको झन्डै ९ किलोमिटरमात्रै हो। तर स्थानीय तहलाई दिइएको स–साना काम र समन्वयको जिम्मेवारीमा धनगढी उपमहानगर अब्बल देखिएको छ। सौन्दर्य उपमहानगरले बढायो। नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारीमा उपमहानगरले आफ्नो सिमानामा रंगीन लाइट जडान गर्‍यो। 

गोपाल हमालले स्वतन्त्रबाट मेयरमा चुनाव जितेपछि आफ्नो नीति तथा कार्यक्रममा ल्याएको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी झिलिमिली भएको हो। ‘६ लेन सडकमात्रै होइन, क्याम्पस रोड–मनोहरा सडक पनि झिलिमिली भएको छ। धनगढीको मुख्य सडक पनि विस्तार भइरहेको छ। ट्राफिक चौराहा–कैलाली पुलको सडकको विस्तारको काम अन्तिम चरणमा पुगेको छ। त्यसको बीचमा पनि सडक बत्तीका पोलहरू गाडिसकिएका छन्। 
कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक फराकिलो भएर निर्माण भइरहेको छ। चार लेनको सडक र दुुवैतिर नाली निर्माणको काम भइरहेको छ। यो सडक पनि उपमहागरको बजेटमा होइन, प्रदेश सरकारले दिएको ६३ करोडको बजेटमा निर्माण भइरहेको हो। स्वतन्त्र जितेका मेयर हमालले सडक चौडा गर्न घरहरू भत्काउन प्रोत्साहन नगरेको भए यो सडक बन्थेन। हमालभन्दा अघिका मेयर नृपबहादुर ओडले पनि सडक चौडा पार्ने प्रयास गरेका थिए, तर उनी दलको दबाबमा असफल रहे। बरु उनले सडकको ६ मिटर चौडाइ घटाएर टेन्डर गर्न लगाए। 

झिलिमिलीमात्रै होइन, स्वतन्त्र मेयर हमाल आएपछि धनगढीको मुहार फेरिन थालेको छ। उनले सरसफाइमा गरेको कार्य नमुनायोग्य छ। अहिले उनले ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सञ्चालन गरेका छन्। धनगढी उपमहानगरभित्रका हरेक विद्यालय र टोलमा गएर सरसफाइ अभियानहरू चलिरहेका छन् भने फोहोरको वर्गीकरण स्रोतमै छुट्ट्याउने बानीको विकास भएको छ। धनगढी उपमहानरले हरेक दिन फोहोर संकलनका लागि टोलटोलमा दुुई वटा ट्याक्टर पठाउँछ। त्यसमा एउटा ट्याक्टर कुहिने र अर्को नकुहिने फोहर बोक्छ। ट्याक्टरले कुहिने र नकुहिने एकै भाँडामा हालेर ल्याए उसले फर्काइदिन थालेपछि स्थानीयले घरबाटै वर्गीकरण गरेर दिन थालेका छन्।

फोहोरका लागि त्यतिमात्रै होइन, धनगढी उपमहानगरपालिका— २ मा कुहिने फोहोरको मल र बायोग्यास उत्पादन गरिन्छ भने नकुहिने फोहोर छानेर बिक्री गर्ने गरिन्छ। ‘यसपालि हामीले नकुहिने फोहोरबाट १३ लाख आम्दानी गरेका छौं’, मेयर हमालले भने, ‘सुरुमा कुहिने र नकुहिने एउटैमा मिलाएर ल्याउने गर्थे, अहिले सबैमा त्यो बानीको विकास भइसकेको छ।’

उपमहानगरका फोहोर संकलनका लागि टोलटोलमा जाने ट्याक्टरमा लुनानामक जीपीएस जडान गरिएको छ। त्यस जीपीएसबाट फोहोरको गाडी कहाँ पुुग्यो र आफ्नो  घरसम्म कतिखेर आईपुुग्छ ? भन्ने नगरवासीले थाहा पाउन सक्छन्। अर्कोतर्फ फोहोरको गाडी तोकिएको रुटमा गए, नगएको उपमहानगरबाटै पनि मोनिटर गर्न सकिन्छ।

हाल हरेक वडामा महिनाको एक दिन विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिकको आयोजना गरिन्छ। धनगढीमा १९ वडा छन्। फिजिसियन, स्त्रीरोग, भिडियो एक्सरे, घुम्ती प्रयोगशाला र निःशुल्क औषधि वडा क्लिनिकले दिने सेवा हुन्। त्यसमा हरेक वडामा, आँखा शिविर, दन्त शिविर, मुटु र क्यान्सरका शिविरहरू पनि सञ्चालन हुन्छन्। ‘यसले न्यून आम्दानी भएका नागरिक, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई बढी सहज बनाएको छ’, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले भने। मेयर हमालले आफूूले सरकारी गाडी नचढ्ने भनेपछि उनले चढ्ने गाडी वडा क्लिनिकमा प्रयोग भइरहेको  छ।

विगतमा नगर प्रहरी भन्नेबित्तिकै आगो लागेमा निभाउन मात्रै आउने नगरका प्रहरी भन्ने बुझाइथियो। तर अहिले स्वतन्त्र मेयर हमालले नगर प्रहरीलाई ‘मल्टिपर्पोज’ बनाइदिएका छन्। नगरवासीको घरमा सर्प पस्यो, टोल फ्रि नम्बरमा फोन गर्नेबित्तिकै नगर प्रहरी पुुगिहाल्छ। 

  • ६ लेनको सडक, रंगीचंगी बिजुली, सडक छेउमा हरिया बिरुवाका लस्कर, जो कोही मन्त्रमुग्ध हुन्छन्।
  •     जब रात पर्दै जान्छ– धनगढी–अत्तारिया सडकको चमक बढ्दै जान्छ। 

नगरभित्र रातिबरात कोही अलपत्र पर्‍यो, घर जाने साधन पाएन, त्यसको सारथि नगर प्रहरी भएको छ। केही खाएर फोहोर फाल्यो, त्यसको जनचेतनाका लागि नगर प्रहरी खटिएको छ। सडकमा ‘नो पार्किङ’ मा पार्किङ गरेको ट्राफिक प्रहरीभन्दा पनि बढी नगर प्रहरीले पत्ता लगाउँछन्। 
नगर प्रहरीका लागि उपमहानगरभित्रै एसी ब्यारेक निर्माण गरिएको छ। उनीहरूलाई साइरनसहितका मोटरसाइकल दिइएका छन्। नगरवासी कसैको मृत्यु भयो र उसलाई अन्तिम संस्कारका लागि समस्या छ भने नगर प्रहरी पाँच हजार रुपैयाँसहित आफन्तको घरमा पुुगेर सलाम गरेर आउन थालेपछि नगर प्रहरीप्रति नगरवासीको अझ आत्मीयता बढेको देखिन्छ।

धनगढी उपमहानगर भइसकेपछि त्यहाँ सेवाग्राहीको भिडभाड हुने गर्छ। त्यो स्वाभाविक नै हो। विगतका वर्ष उपमहानगरमा आएका सेवाग्राही रुखमुनि बसेर आफ्नो काम गर्थे तर यसपालि मेयर हमालले सेवाग्राहीहरूका लागि एसीसहितको प्रतीक्षालय निर्माण गरेका छन्। त्यस प्रतीक्षालयमा टेलिभिजन जडान भएको छ। त्यहाँ डिजिटल नागरिक बडापत्र राखिएको छ। उनीहरूका लागि चिसो, तातोपानीको व्यवस्था गरिएको छ। जस कारण सेवाग्राहीलाई सहज भएको छ।

धनगढी उपमहानगरपालिका भित्र ‘आमा बचाउ अभियान’ पनि सञ्चालनमा छ। हरेक गर्भवती महिनालाई अस्पताल ल्याउन र घर पुुर्‍याउन उपमहानगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएको छ। ‘कतिपय आमालाई अस्पताल आउने साधन नपाएर ज्यान नै गुमाउनु परेको देखेर यस्तो गरिएको हो’, मेयर हमालले भने, ‘स्थानीय सरकार भनेकै स्थानीयको सहयोगका लागि हो। हामीसँग पूर्वाधार निर्माणका लागि अर्बौं बजेट हुँदैन। भएको बजेटको परिधिभित्र रहेर जनतालाई बढीभन्दा बढी सेवा दिने हो।’

उपमहानगरपालिकाले पर्यावरण संरक्षणमा अझ बढी जोड दिएको छ। ‘हाम्रो धनगढी ग्रिन’ धनगढी अभियानअन्तर्गत हजारौं बिरुवा रोपिएका छन्। नगरवासीले एक बिरुवाबापत पाँच हजार रकमका दरले उपमहानगरलाई सहयोग पनि गरेका छन्। बिरुवा र त्यसको ट्री गार्ड उपमहानगरले लगाउने र त्यसमा आफ्नो पितृ, आफन्त वा व्यवसायको नाम लेखेबापत उपमहानगरले करोडौंं रकम सहयोग पाएको छ। 

धनगढी बजार क्षेत्रमा पाँचवटा खोलानाला छन्। २०२१ सालको नापीअनुसार अहिले खोलाकिनारहरूमा अतिक्रमण बढेको छ। धेरैले नगर विकास समितिका नाममा खोलानाला छेउछाउको जग्गा आफ्नो नाममा पारिसकेका छन्। तर ऐलानी रहेको र खोलाको क्षेत्राधिकारभित्रको धेरै स्थानको अतिक्रमण हटाइएको छ। 

शिक्षाका लागि पनि उपमहानगरमा भारतको राजधानी दिल्लीको केजरीवाल मोडेल लागू गराउने प्रयासको सुरुवात भएको छ। गत शैक्षिक सत्रमा धनगढीभित्रका १७ सामुदायिक र एक निजी विद्यालयको नतिजा शूून्य आएको थियो। त्यो अवस्था देखेर यसपालि नमुना विद्यालय बनाउने, विद्यालयका शिक्षकहरूलाई अध्यापनप्रति उत्तरदायी बनाउन विभिन्न स्किमहरू उपमहानरले सार्वजनिक गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.