आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभामा औषधी अभाव

आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभामा औषधी अभाव
फाइल तस्बिर।
सुन्नुहोस्

सङ्खुवासभा : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभामा अत्यआवश्यक औषधीको अभाव भएको छ। जिल्ला सदरमुकाम खाँदबारीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा बाथ रोग, पायलस्स, ग्यास्ट्रिक लगायतका औषधी अभाव रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राम प्रबोध चौधरीले बताए। 

सरकारले निशुल्क रुपमा उपलब्ध गराउने २३ प्रकारका औषधीमध्ये ६ प्रकारका औषधी लामो समयदेखि अभाव रहेको छ। अविपत्तिकर चुर्ण, हिंग्वाष्टक चुर्ण, महायोगराजगुग्गुल, महानारायण तेल, सितोपालदी चुर्ण, अश्वगन्धा चुर्ण औषधी लामो समयदेखि सकिएको प्रमुख चौधरीले जानकारी दिए। बाँकी औषधीहरु समेत थोरै मात्रमा रहेकाले औषधी अभावका कारण बिरामीको उपचारमा समस्या हुने उनको भनाइ छ। 

सरकारले यस आर्थिक वर्षमा औषधी खरिदका लागि ५ लाख रुपैयाँमात्र पठाएको थियो। प्रमुख चौधरीले भने, 'गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ औषधी खरिदका उपलब्ध गराउँदा त आर्थिक वर्षको अन्त्यतिर केही औषधी अपुग भएको थियो। ५ लाख रुपैयाँको औषधीले कसरी पुग्छ ?  आयुर्वेद उपचारमा विरामीको आर्कषण बढ्दो भए पनि सरकार भने औषधी नै कटौति गर्छ।'

जिल्ला आयुवेद स्वास्थ्य केन्द्र सङ्खुवासभामा आर्थिक वर्ष २०७७/७८ मा ५ हजार १०३, आर्थिक वर्ष २०७८/७९ मा ५ हजार २७६ र गत आर्थिक वर्षमा ६ हजार ३४२ जनाले विरामीले सेवा लिएका छन्। यस आर्थिक वर्षमा ३ हजार १९३ जनाले सेवा लिएको स्वास्थ्य केन्द्रको तथ्याङकमा रहेको छ। 

स्नेहन स्वेदन(औषधी युक्त बाफ) लिनका लागि स्वास्थ्य केन्द्र गएकी खाँदबारी नगरापलिका–९ रत्नकुमारी कुवरले औषधी भने महंगोमा बाहिरबाट किनेर ल्याइन्। बाथ रोगले पीडित कुँवरलाई डक्टरले एक महिनासम्म स्वास्थ्य केन्द्रमा नै आएर औषधीयुक्त बाफ लिनु पर्ने बताए पनि स्वास्थ्य केन्द्रमा भने आवश्यक औषधी छैन। कुँवरले भन्छिन्, '२६ वर्ष भयो बाथ रोग लागेको विभिन्न अस्पताल भए तर रोग निको नभएपछि अहिले आयुर्वेद स्वास्थ्य केन्द्रमा आएर बाफ लिन थालेको एक हप्ता भयो।' औषधी सहितको बाफ लिन थालेपछि दुखाइ त कम भयो तर स्वास्थ्य केन्द्रमा औषधी नै छैन बाहिरबाटै ल्याउनु पर्ने रहेछ। 

बाथको उपचार गराउन आएका खाँदबारीकै डम्बरबहादुर कार्की महंगोमा बाहिरबाटै औषधी किन्नु परेको बताउँछन्। अन्य आषैधीभन्दा आयुर्वेद औषधी महंगो पर्छ। त्यसैगरी खाँदबारी–७ सेरबहादुर वन पनि ७ वर्षदेखि ग्याष्ट्रिकको औषधी नियमित रुपमा नै आयुर्वेद स्वास्थ्य केन्द्रबाटै लगेर खाँदै आएका थिए। तर दुई महिना अघिबाट स्वास्थ्य केन्द्रमा औषधी सकिएपछि बाहिरबाटै औषधी किनेर खानु परेको वनले बताए। 

सशुल्क फार्मेसी सञ्चालन गरेर भए पनि नियमित औषधी उपलब्ध गराउनु पर्ने आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चौधरीले बताए। जिल्लाका सञ्चालित फार्मेसीहरुमा सबै प्रकारका औषधीहरु नपाउँदा बिरामीहरुलाई समस्या भएको छ। पंचकर्म विशेषज्ञसमेत रहेका डाक्टर चौधरीले स्वास्थ्य केन्द्रमा पर्‍याप्त औषधी, स्वास्थ्य केन्द्रको स्तर उन्नती नहुँदा  उपचार उपकरण नभएकाले आफ्नो विज्ञता अनुसार सेवा प्रवाह गर्न नसकिएको चौधरीले बताए। 

स्नेहन(मसाज), वमन, शिरोधारा, शिरोवस्ति, वस्ति, नस्य, रक्तमोक्ष, बिरेचन सेवा दिन सक्ने क्षमता आफु सँग भएको आवश्यव उपकरण अभाव रहेको उनको भनाई छ। स्वास्थ्य केन्द्रमा राखेर विरामीहरुको उपचार गर्नु पर्ने भएपनि पुर्वाधार नहुँदा प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राखेर विरामीको उपचार गर्न नसकिएको प्रमुख चौधरीले बताए। वेड भर्ना गरेर उपचार गर्नु पर्ने विरामीहरुलाई वेड नहुँदा घर पठाउने गरिएको छ। टाढाबाट आएका विरामीहरु होटलमा बसेर उपचार गराउन आउने गरेका छन्। 

अरुण उपत्याकामा विदुषी योगमाया आयुर्वेद विश्व विद्यायलय स्थापनाको चरणमा रहे पनि यही क्षेत्रमा आयुर्वेद औषधीको अभाव छ। सङ्खुवासभाबाट ठुलो मात्रामा जडिवुटीहरुको कच्चा पदार्थ निकासी हुने गरेको छ।

जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रमा सङ्खुवासभा सहित भोजपुर जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका विरामीहरु समेत आउने गरेका छन्।
 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाको फार्मेसी।

विरामी स्नेहन स्वेदन(औषधी युक्त बाफ) लिंदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.