पर्यटन प्रवर्द्धननमा प्रविधि

पर्यटन प्रवर्द्धननमा प्रविधि

मनोरम पर्यटकीय गन्तव्यका रूपमा मुलुकलाई चिनाउन सूचना, सञ्चार र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ।

सन् २०२३ मा विश्वका २ सय १९ देशका पर्यटक नेपाल घुम्न आए। भूपरिवेष्ठित मुलुक नेपालमा धेरै देशका पर्यटक आउनुमा आजको सूचना, सञ्चार र प्रविधिको प्रयोगले सम्भव भएको मान्नुपर्ने हुन्छ। यसले के देखाउँछ भने, कुनै पनि देशका लागि विदेशी पर्यटक आगमनमा सूचना, सञ्चार र प्रविधिको प्रयोगले कति प्रभावकारी ढंगले भूमिका खेल्न सक्छ।

सूचना, सञ्चार र प्रविधिको विकास र त्यसको व्यापक प्रयोग विश्वभर भइरहेको छ। जुनसुकै देशका सरकार र पर्यटन व्यवसायीहरूले विश्वका जुनसुकै मुलुकका कुनामा बस्ने नागरिकलाई पर्यटक भई घुम्न निक्लनका लागि आकर्षित गर्न सक्छन्। सन् २०२३ मा नेपाल घुम्न आउने विभिन्न देशका (विश्वका २ सय १९ देशका) पर्यटकहरूमध्ये ४० वटा देशका पर्यटक एक जनादेखि १० जनाको संख्यामा रहेका थिए। त्यसैगरी ४१ देशका पर्यटकहरू १० जनादेखि ५० जनाको संख्यामा रहेका थिए भने १७ वटा देशका पर्यटकहरू चाहिँ ५० जनादेखि एक सय जनाको संख्यामा नेपाल घुम्न आए।

निश्चय नै संख्यात्मक हिसाबले हेर्दा विदेशी पर्यटकहरू आगमनको संख्या एक जनादेखि एक सय जनामात्रै नेपाल आउनु भनेको पनि हाम्रा लागि गर्व गर्न लायक कुरो हुन नसक्ला। तर प्राकृतिक रूपमा अद्वितीय, असल व्यवहार, भौगोलिक, जातीय, भाषिक एवं धार्मिक विविधता, विविध भेषभूषा, जैविक विविधता, सेताम्मे हिमालका लहर, छङछङ गर्दै खस्ने, झर्ने छहरा, हरिया वनजंगल, पहाडपर्वत, चुरे क्षेत्र, खोलानाला, वन्यजन्तु, वनस्पति आदिले पर्यटकलाई आकर्षण गरिरहेको छ।

पर्यटकको आगमन र बसाइ अवधि बढाउन हवाई क्षेत्रलाई प्राथमिकता दिनुपर्छ। सुरक्षित, विश्वसनीय र सर्वसुलभ हवाई सेवाको सुनिश्चित हुनुपर्छ।

पर्यटकका रूपमा घुम्न आएका २ सय १९ देशका पर्यटकहरू हामीले आफैं सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर, प्रचारप्रसारमा विशेष ध्यान दिएर नेपाल आएका होइनन्। पछिल्लो पटक विकसित सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर नेपाल भन्ने देश (ठाउँ) गुगलमार्फत सर्च गरेर पत्ता लगाएर आफ्नै अग्रसरतामा आएका हुन् भन्न सकिन्छ। निश्चय नै त्यसमा केही देशका पर्यटकका साथै साथीभाइ अनि उनीहरूका आफन्त तथा नातागोताको अनुरोध वा आग्रहमा नेपाल भ्रमण गर्न आएका हुन सक्छन्। किनभने आजभोलि विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भइसकेको भन्ने आम भनाइ रहेको छ। त्यसैले आज नेपालीसमेत पर्यटकका रूपमा विश्वका प्रायः सबै देश अर्थात् कुनाकाप्चामा पुगिसकेका छन्। नेपालीहरू जहाँजहाँ पुग्छन्, ती देशका बारेमा साथीभाइ, आफन्त र नातागोतालाई सुनाउने गर्छन्।

अब हामीले पनि पछिल्लो पटक द्रुत गतिमा विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गर्नुपर्ने आवश्यकता छ। धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरैभन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउनका लागि लागि प्रविधिको उपयोग गर्नुपर्ने देखिन्छ। यसका लागि सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीहरू जस्तै होटल एसोसिएन अफ नेपाल (हान), नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), ट्रेकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट (नारा) लगायत निजी क्षेत्रका पर्यटनसँग आबद्ध अन्य संघसंस्थाहरूले पहल गर्नुपर्ने देखिन्छ।

 सरकार अभिभावक हो। त्यसैले सरकारले नै पर्यटन प्रवर्द्धननमा पनि मुख्य जिम्मेवारी एवं दायित्व बहन गर्नुपर्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड (एनटीबी)ले यसमा अगुवाइ लिनुपर्ने देखिन्छ। आजको जस्तो सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको अवस्थामा अहिले व्यापक प्रचलनमा रहेको फेसबुक, एक्स (ट्विटर), म्यासेन्जर, वी च्याट, इन्स्ट्राग्राम, ब्लग, युट्युब, टिकटक, ह्वाट एप्स, इमो, टेलिग्रामलगायत सामाजिक सञ्जालको उपयोग गर्नुपर्छ। मुलुकको पर्यटकीयस्थल, प्राचीन सहर, प्राचीन स्मारक, प्राचीन कला, प्राचीन वास्तुकलाका साथै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा अग्ला हिमालमध्ये नेपालमा आठ हजार मिटरभन्दा माथिका आठवटै हिमाल पर्छन्।

आठ हजार मिटरभन्दा कम, सात हजार मिटरभन्दा माथि उचाइ भएका हिमालका प्रोफाइल, सात हजार मिटरभन्दा कम ६ हजार मिटर उचाइ भएका हिमालका प्रोफाइल, ६ हजार मिटरभन्दा कम र पाँच हजार मिटरभन्दा बढी उचाइ भएका हिमालका सामान्य चिनारी र प्रोफाइल बनाएर वेब पोर्टल–वेबसाइटमा राख्न सकेदेखि पर्यटन वृद्धिमा सहयोग पुग्थ्यो।

त्यस्तै, मुलुकको भाषिक विविधता, जातीय विविधता, धार्मिक विविधता, भेषभुषा, गरगहना, नाचगान, बाजागाजा आदिका सम्बन्धमा पनि सामान्य परिचय, चिनारी र प्रोफाइल बनाएर वेबसाइटमा राख्न सकिन्छ। नेपालमा वार्षिक २८–३० लाखदेखि ३५–४० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ। त्यसका लागि हामीले हवाई सेवाको विकास र व्यापक विस्तार गर्न सक्नुपर्छ। अन्त्यमा विदेशी पर्यटक आगमनमा बढोत्तरी गर्नका लागि हामीले सूचना, सञ्चार र प्रविधिको प्रयोगमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.