नुवाकोटका अधिकांश औषधि पसल मापदण्ड विपरीत

औषधि राख्ने फ्रिजमा पेय पदार्थ, चार पसल सिल

नुवाकोटका अधिकांश औषधि पसल मापदण्ड विपरीत
अनुगमनका क्रममा मापदण्ड विपरीत भेटिएका फार्मेसी सिल गरिंदै। तस्बिर : देवचन्द्र भट्ट।

नुवाकोट : नुवाकोटको विभिन्न स्थानमा रहेका अधिकांश औषधि पसल मापदण्डविपरीत रहेको पाइएको छ। स्थलगत छड्के अनुगमनका क्रममा औषधि पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि सिल गरिएको छ। 

विदुर नगरपालिकाभित्र सञ्चालित औषधि पसलहरुमा जिल्ला बजार अनुगमन समितिले औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले गरेको संयुक्त अनुगमनको क्रममा अधिकांश औषधि पसलहरुले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको हो। विदुर नगरपालिका- १, २, ४, ५ र ९ मा सञ्चालित १९ वटा औषधि तथा फार्मेसी पसलहरुले मापदण्डको पालना नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

अत्याधिक तापक्रममा कतिपय फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको छ। कतिपय फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको पनि पाइएको छ।

उच्च तापक्रम भएको अस्थायी घुम्ती टहरोमा औषधि राखिनु, औषधि पसलमा मापदण्ड पूरा गरेको नपाइएछि चार वटा औषधि पसल बन्द गरिएको छ। कोलोनीमा दुई, विदुर र देवीघाटमा रहेको एक-एक फार्मेसीमा ताला लगाइएको हो। 

औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र राखेर अर्कैले फार्मेसी चलाएको, दर्ताविना नै चलाइएको पाइएको, बिलमा म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नम्बर उल्लेख नभएको, औषधि पसलमा हुनुपर्ने सरसफाई नपाइएको, औषधि भण्डारण स्थल र औषधि राख्ने फ्रिजमा गैह्र औषधि(विभिन्न पेय पदार्थ) राखिएको पनि पाइएको अनुगमनमा सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले बताए।

‘यो जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो’, अनुगमनमा सहभागी औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम मण्डलले भने, ‘मानवलाई असुरक्षित बनाउने यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन। गम्भीर गल्ती गरेकाको ताला लगाइएको छ।’ 

मापदण्ड विपरीत रहेको विदुर ९ बाघटारमा रहेको अनुप मेडिकल हल, पिपुल्स च्वाइस फार्मेसी, विदुर २ विदुर बजारमा रहेको स्टार अस्पताल फार्मेसी र विदुर ५ देवीघाटमा रहेको जालपा मेडिकल हलमा ताला लगाइएको छ। ती औषधि पसल तथा फार्मेसीमा दर्तावाल नभइ असम्बन्धित व्यक्ति भेटिएको र औषधि व्यवस्था विभागमा दर्ता नभइ औषधिको बेचबिखन गरेको पाइएपछि ताला लगाइएको औषधि व्यवस्था विभागले जनाएको छ। 

कोलोनी बाघटारमा रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली परिसरमा सञ्चालित साझा स्वास्थ्य सेवा फार्मेसी दर्ता नवीकरण नभएको पाइएको छ। औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले १९ वटा औषधि पसल तथा फार्मेसी अनुगमन गरेको  हो। 

फार्मेसी अनुगमन टोलीका अनुसार कोल्ड चेन कुनैमा पनि मेन्टेन नहुने भएकाले सर्वसाधारणलाई मापदण्ड पालना नगरेका औषधि पसलमा कुनै पनि खोप नलगाउनसमेत सचेत गराएको छ।  कतिपय औषधि पसलमा सर्जिकल र एलोपेथिक औषधि पाउनुको साथै असम्बन्धित व्यक्तिले औषधि बिक्री गरेको भेटिएको छ। अनुगमनका क्रममा तत्काल सुधार गर्नु पर्नेलाई सुधार गरिहाल्न निर्देशन दिइनुका साथै अधिकांश औषधि पसल तथा फार्मेसीलाई आवश्यक सक्कल कागजातसहित तीन दिनभित्र औषधि व्यवस्था विभागमा आउन विभागको टोलीले पत्र काटेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.