वन्यजन्तु अपराधमा निमुखा समात्ने बहादुरी

वन्यजन्तु अपराधमा निमुखा समात्ने बहादुरी
फाइल तस्बिर।

गएको वर्ष दिनमा वन्यजन्तु अपराधका १६ वटा मुद्दा फैसला भएका थिए। १४ वटामा दोषी ठहर भएकाहरूको विवरण हेर्दा ती गरिब, पिछडिएको, आदिवासी र निमुखो वर्गका मानिस छन्। गैंडालाई पासोमा पारेर मारेको आरोपमा पक्राउ पर्ने त्यही वननजिक बसोबास भएका गरिब मानिस हुन्छन्। जसले गैंडा मा¥यो र पक्राउ प¥यो, उसले त्यसको व्यापार गर्दैन। एक सिंगे गैंडाको खागको बजार कहाँ उसलाई थाहा हुन्न। तर, जसले त्यसको व्यापार गर्ने हो र गैंडा मार्ने योजनाबद्ध सेटिङ गर्छ, त्योचाहिँ पक्राउ पर्दैन। ओसारपसार गर्नेसम्म पक्राउ पर्छ।

२०७९ र २०८० मा वन्यजन्तु अपराधका १४ भन्दा धेरै घटनामा पक्राउ परेकाहरू वनजंगल वरिपरि बसोबास गर्ने निमुखा वर्ग, दलित र आदिवासी समुदायका भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तथ्यांकले देखाउँछ। प्रहरीको तथ्यांकले वन्यजन्तु अपराधमा संलग्नहरूलाई पक्राउ गर्ने सफलता देखाउँछ। तर, त्यो सही र वास्तविक होइन नै। किनभने अपराधको मुख्य योजनाकार अर्कै हुन्छ, जसलाई भने प्रहरीले पक्रेकै हुँदैन। त्यसैले त बर्सेनि फेरिफेरि अपराध भइरहन्छ। उसले वनजंगलमा अपराधका लागि फेरिफेरि मान्छे सेटिङ गर्छ। कानुनका नजरमा प्रमाण भेटिएको व्यक्ति दोषी हुनु स्वाभाविक हो। वन्यजन्तु मार्ने व्यक्ति दोषी हुने भइहाल्यो नै। तर, उसलाई अह्रनखटन गर्नेको खोजी नै नगरी वास्तविक अपराधी पक्राउ गरेकोजस्तो ‘बहादुरी प्रदर्शन’चाहिँ भ्रममात्रै हो। मुख्य र वास्तविक अपराधी उम्कन दिने तर निमुखामाथि कानुनको डन्डा चलाइरहने गर्नाले नै अपराध नघटेको हो। 

संगठित रूपमा नै वन्यजन्तुमाथि अपराध हुन्छ। तर त्यस्तो संगठित अपराधीको मूल नाइकेहरू भने स्वदेश वा विदेशबाट रिमोट चलाइरहन्छ। सधैं उन्मुक्तिका साथ अपराधकर्ममा निरन्तर हुन्छन्। अपराध अनुसन्धानको सुई उनीहरूसम्म भने पुग्न सकेको छैन। राज्यका निकायहरूमा त्यस्ता अपराधीसम्म पुग्ने क्षमता नहुनु दुःखद हो। मात्रै निमुखाहरूमाथि डन्डा चलाएरचाहिँ कहिल्यै अपराध रोकिन्न। वनजंगल छेउछाउमा बस्ने गरिब, आदिवासी, दलित र निमुखालाई न कानुनको ज्ञान हुन्छ न वन्यजन्तु महत्व नै। दुईचार पैसाको प्रलोभनमा फसेकाहरू नै कानुनी पञ्जामा परेका छन्। वन्यजन्तुमाथि अपराधको जालो केवल नेपाल सीमित नभई अन्तर्राष्ट्रिय बजारसम्मको हुन्छ। त्यसका लागि सरकारी निकायले अन्तर्राष्ट्रिय समन्वयन र सहकार्य नै गर्नुपर्छ र वास्तविक अपराधीसम्म पुग्न सक्नुपर्छ। त्यो जालो भेटेर नचुँडालेसम्म भने वन्यजन्तुमाथिको अपराध रोकिन्न। निमुखा नागरिकमाथि कानुन चलाएरमात्रै वन्यजन्तुको संरक्षण सम्भव छैन। अपराधको जरोसम्म पुग्ने र वनजंगल अनि वन्यजन्तुको महत्व तथा कानुनबारे सचेतना फैलाएरमात्रै संरक्षण सम्भव हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.