अस्पताल शिलान्यास भएको १ वर्षपछि बल्ल डीपीआर
![अस्पताल शिलान्यास भएको १ वर्षपछि बल्ल डीपीआर](https://annapurnapost.prixacdn.net/media/albums/dpr_Ek5lYTv9Vz_M0Rshvacc7.jpg)
धनकुटा : साँगुरीगढी गाउँपालिका–९ आहालेमा गत वर्ष १५ शय्याको अस्पताल भवन निर्माणको शिलान्यास हुँदा स्थानीय नगेन्द्र राई खुसी देखिन्थे। गाउँमै सुविधायुक्त भवन निर्माण भएपछि स्वास्थ्य सेवा पाउने आस उनको थियो। तर, शिलान्यास भएको वर्ष दिन बित्दासमेत भवन निर्माण सुरु हुन सकेको छैन। भवन निर्माण सुरु नहुँदा उनी जस्तै गाउँका अन्य स्थानीय बासिन्दा अहिले निराश छन्।
गत वर्ष फागुन १० गते एक भव्य समारोहकाबीच तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं वर्तमान खानेपानी मन्त्री राजेन्द्रकुमार राईले १५ शय्याको अस्पताल भवनको शिलान्यास गरेका थिए। शिलान्यासपछि पनि भवन निर्माणको काम सुरु हुन सकेन। सरकारको ‘एक पालिका एक अस्पताल’ बनाउने योजनाअनुसार आहालेमा अस्पताल निर्माण हुन लागेको थियो। अस्पताल निर्माणका लागि स्थानीय ध्रुवदेव राई र कृष्णमाया राईले ७÷७ रोपनी गरी १४ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए।
आहालेमा अस्पताल निर्माणका लागि योजना फाइनल भए पनि डीपीआर नबनेका कारण गत वर्ष भवन निर्माणको काम सुरु हुन नसकेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। डीपीआर नबनेसम्म सरकारले बजेट विनियोजन गर्दैन। डीपीआर नहुँदै शिलान्यास भयो। त्यसकारण तल्काल भवन निर्माण काम सुरु हुन सकेन। यो आर्थिक वर्षमा बल्ल स्वास्थ्य मन्त्रालयबाट डीपीआर फाइनल भई अर्थ मन्त्रालयमा पुगेको उनको भनाइ छ। तर, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित नहुँदा ठेक्का लाग्न सकेको छैन। ‘अहिले बल्ल डीपीआर फाइनल भएको छ। तर, बजेट छैन’, उनले भने, ‘बजेट सुनिश्चितताका लागि डीपीआरको डकुमेन्ट अर्थ मन्त्रालयमा रोकिएको छ। त्यो बेला हतारमा शिलान्यास भयो। पछि बुझ्दै जाँदा डीपीआर नै फाइनल भएको रहेनछ। बजेट सुनिश्चितताका लागि पटक–पटक अर्थ मन्त्रालय धाइसकियो। काम हुन सकेको छैन।’
बजेटको लागि आफू पटक–पटक काठमाडौं गएको उनी बताउँछन्। काठमाडौं पुग्दा काम भइहाल्छ भन्ने आवश्वासन पाइने भए पनि काम हुन नसकेको उनले सुनाए। चालु आर्थिक वर्षमा बजेट विनियोजन हुनेबित्तिकै तत्काल काम सुरु गर्ने उनको भनाइ छ।
डीपीआर अनुसार उक्त अस्पतालको निर्माण लागत भ्याटसहित करिब १९ करोड ६३ लाख रुपैयाँ छ। अस्पताल भवनभित्र बिरामी उपचार कक्ष, सेमिनार हल, कर्मचारी बस्ने क्वाटर र बाटोसहितको संरचना निर्माण हुने साँगुरीगढी गाउँपालिका इन्जिनियर दीपक राईले बताए।
तर, साँगुरीगढी गाउँपालिका–९ का वडाध्यक्ष जितबहादुर राई भने शिलान्यास भएको वर्ष समयमै डीपीआर नबनेका कारण बजेट फ्रिज भएको बताउँछन्। ‘पोहोर डीपीआर तयार भए पनि तत्कालीन सरकारले बजेट बिनियोजन गरेन’ उनले भने, ‘अहिले बजेट बिनियोजनका लागि स्वास्थ्य मन्त्रालयमा पुगेको छु।’ उनका अनुसार तोकिएकै समयमा निर्माण सुरु भएको भए यति बेला निर्माण सम्पन्न भई सञ्चालनमा आउने उनको भनाइ छ। अस्पताल निर्माण सम्पन्न नहुँदा जनताले धेरै दुःख पाएको उनी बताउँछन्।
साँगुरीगढी गाउँपालिकाको अन्य वडामध्ये आहाले भौगोलिक रूपमा विकट छ। यो क्षेत्रको ९ र १० वडा पुग्नका लागि गाउँपालिका केन्द्र भेडेटारदेखि धरान हुँदै जानुपर्छ। गाउँपालिकाले भेडेटारदेखि महाभारत हुँदै आहाले जोड्ने सडक सञ्चालनमा ल्याए पनि पानी पर्नेबित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुने गर्छ। यस क्षेत्रका स्थानीय बासिन्दालाई सामान्य उपचारका लागि स्वास्थ्यचौकी भएपछि जटिल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने बाध्यता छ। आहालेमा अस्पताल निर्माण भएपछि वडा नं. ९ सहित १०, ७ र ८ वडाका स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा पाउन सक्छन्। यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने यहाँका स्थानीय बासिन्दाको माग छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)