रेमिट्यान्स वृद्धिले सञ्चितिको आकार अधिक
काठमाडौं : महिनैपिच्छे रेमिट्यान्स वृद्धि भएर समग्र मुलुकमा वैदेशिक मुद्रा सञ्चितिको आकार बढ्दै गएको छ। यसले बाह्य क्षेत्र बलियो बनाउन टेवा पनि पुगेको छ। तत्काललाई यो राम्रो संकेत हो तर दीर्घकालीन रूपमा भने रेमिट्यान्ससँगै देशको आन्तरिक उत्पादनलाई नै बढाउनुपर्ने सरोकारवालाहरू बताउँछन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले रेमिट्यान्स २१ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो। रेमिट्यान्स वृद्धिले समग्र बाह्य क्षेत्र धानेको देखाउँछ। अघिल्लो आर्थिक वर्षझैं चालु आर्थिक वर्षको आठ महिना समाप्तिसम्म विप्रेषण आप्रवाह उल्लेख्य दरले बढेको छ।
विप्रेषण आप्रवाहको बढोत्तरीले विदेशी विनिमय सञ्चितिदेखि बाह्य क्षेत्रतर्फको चालु खाता र शोधनान्तर स्थितिमा बचत कायम भएको छ। गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २ चालु आवको फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ। उक्त सञ्चितिले आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। सामान्यतया नेपालजस्तो मुलुकका लागि कम्तीमा पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न वैदेशिक मुद्रा प्रर्याप्त हुन्छ। तर यतिबेला मुलुकमा अधिक सञ्चिति छ। यसले वैदेशीक लगानीकर्तालाई केही आकर्षित गर्न मद्दत गर्न सक्छ। तर धेरै सञ्चिति थुप्रिरहनु पनि अर्थतन्त्रका लागि उपयुक्त नहुने सरोकारवालाहरू औंल्याउँछन्।
यद्यपि नेपालबाट बाहिरिने वैदेशिक मुद्राभन्दा भित्रिने मुद्रा अधिक हुँदा शोधनान्तर लामो समयदेखि बचतमा छ। गत आवको फागुनसम्ममा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले बचतमा रहेकोमा यसपटक झन् बढेर ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा छ। यससँगै चालु खाता पनि निरन्तर बचतमा छ। गत आवको फागुनमा ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यस आवको सोही अवधिमा भने १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा छ।
रेमिट्यान्स वृद्धिसँगै आयातमा आएको संकुचनले शोधनान्तर बचत बढेको देखिन्छ। किनभने पछिल्लो समय कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ कायम भएको छ। विशेष गरेर तयारी पोसाक, सवारीसाधान तथा स्पेयर पार्टपुर्जा, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ।
यस अवधिमा कुल वस्तु निर्यात भने ४ प्रतिशतले कमी आई १ खर्ब ६२ करोड रुपैयाँमात्रै भएको छ। यसो हेर्दा निर्यातको तुलनामा आयात १० गुणा अधिक नै छ। जस्ले गर्दा मुलुकले ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँबराबरको व्यापारघाटा व्यहोर्नु परेको छ।
समग्र अर्थतन्त्रका बाह्य सूचक राम्रो देखिए पनि यो दिगो नभएको अर्थविद्हरू टिप्पणी गर्छन्। यसै क्रममा अर्थविद् डा. चन्द्रमणि अधिकारी रेमिट्यान्स बढ्नाले बाह्य क्षेत्र राम्रो देखिएको तर यो बलियो अर्थतन्त्रका लागि नटिक्ने बताउँछन्। यो स्थितिले मुलुकको परनिर्भरता बढ्ने भएकाले वास्तवमै अर्थतन्त्र बलियो बनाउन आन्तरिक लगानीमा जोड दिन ध्यानाकर्षण गर्छन्। उनी भन्छन्, ‘आन्तरिक लगानी नबढ्नाले अर्थतन्त्रको ग्याप देखाउँछ, किनकि निर्यात ४ प्रतिशतले घटेको छ।’
शिक्षा र भ्रमणबाट बढी बाहिरियो मुद्रा
नेपालबाट विदेशी मुलुकमा अध्ययन गर्ने र भ्रमण गर्ने जमात बढ्दै गर्दा ठूलो आकारमा यसको बाहिरीने मुद्रा पनि बढेको छ। परिणामस्वरूप समग्रमा मुलुकको सेवा खाता घाटा चुलिँदै छ। तथ्यांकअनुसार फागुनसम्ममा खुद सेवा आय ४४ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ। यसबीच सेवा खाताअन्तर्गत भ्रमण आय ४२.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने भ्रमण व्यय ४५.७ प्रतिशतले वृद्धि भई १ खर्ब २२ अर्ब ८१ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय ८० अर्ब १४ करोड रुपैयाँ छ। गत आवको सोही अवधिमा भ्रमण व्यय रु.८४ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु. ५४ अर्ब ७० करोड रहेको थियो।
मरमसलाको मूल्य अधिक
समग्रमा फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा सीमित छ। तर यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ। मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ७.११ प्रतिशतले बढेको छ। यस्तै, घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ११.७९ प्रतिशतले घटेको छ।