हाम्रै माटोमा खोज्दा व्यावहारिक शिक्षा भेटिन्छ

हाम्रै माटोमा खोज्दा व्यावहारिक शिक्षा भेटिन्छ
कुलदीप न्यौपाने प्रिन्सिपल, गोदाबरी रेसिडेन्सियल स्कुल

हाम्रो शिक्षा नीति कस्तो छ ?

नीति राम्रै छ। तर, नीति निर्मातालाई पनि के हो लेखिएको थाहा हुनु जरुरी छ। शिक्षा नीतिसम्बन्धी सम्पूर्ण अभिलेखमा भएका अवधारणाहरू राम्रा छन्। तर, ती अवधारणाहरू भित्र लुकेको ‘काम आफैं हुन्छ’ भन्ने अवधारणा गलत छ। नीति बनिसकेपछि त्यसको सही कार्यान्वयन गर्ने मानवस्रोत तयार गरिनु आवश्यक छ। शिक्षण सिकाइ र परीक्षा प्रणाली एक अर्कामा मेल खाँदैनन्। मिलाउन जरुरी छ। 

विद्यालय बालमैत्री भएनन्, किताबको झोला मात्र बोकाउँछन् भन्ने गुनासो गरिन्छ नि ?

नीतिलाई राम्रोसँग कार्यान्वयन गर्दा यो समस्या आउँदैन। नीतिमा यो छैन। कार्यान्वयन गर्नेलाई बुझाउन नसक्दाको समस्या हो यो। सानो उदाहरण कक्षा १–३ सम्म इन्ट्रिगेटेड टिचिङ भनिएको छ। जबरजस्ती लाद्न खोजिएजस्तो। किताब (हरू) बनाइएका छन्; न नीति बनाउनेलाई थाहा छ, ठ्याक्कै के चाहीँ गर्न लागेको हो भन्ने, न त किताब लेख्नेलाई थाहा छ, न पढाउनेलाई। बेच्नेलाई बेच्न मात्र पाए भइगो। अनि त समस्या आइहाल्छ नि। सबै विद्यालयमा यस्तो छैन। किताबको भारी बोकाएर ज्ञान प्राप्त हुँदैन, त्यसलाई दिमागभित्र बोकाउनुपर्छ।

हाम्रो शिक्षा व्यावहारिक बनाउन के–के गर्नुपर्छ ?

यस प्रश्नमा भएका तीन वटा प्रमुख शब्दहरू ‘शिक्षा’, ‘व्यवहार’ र ‘बनाउनु’ लाई सम्बन्धित सबै सरोकारवालाहरूले बुझ्नुपर्छ। शिक्षा के हो भनी छलफल गर्नुपर्छ। त्यसका धेरै परिभाषामध्ये हामीले चाहेको के हो प्रस्ट हुनुपर्छ। ‘हामीले’ चाहेको ‘मैले’ चाहेको होइन। व्यवहार के हो बुझ्नुपर्छ। हामीले चाहेको व्यवहार कस्तो हो परिभाषित गर्नुपर्छ। ‘बनाउनु’ सजिलो छैन। यो कठिन कार्यका लागि सबै सरोकारवालाहरू तयार रहनुपर्छ। व्यावहारिक भएन भनेको दशकौं भयो। झन्झन् अव्यावहारिक हुँदैछ किन ? किनकि फिनल्यान्डमा यसो गर्छन् रे, अमेरिकामा उसो गर्छन् रे भन्दै त्यहाँका कुराहरू टपक्क टिपेर यहाँ ल्याउँदा झन् अव्यावहारिक हुन्छ। यही माटोमा खोजौं व्यावहारिक शिक्षा भेटिन्छ। हाम्रो स्कुलमा पाठ सिकाउँदा विद्यार्थीलाई ‘मेहनती’, ‘आत्मअनुशासित’ र ‘समय व्यवस्थापन’ गर्न सक्ने बनाउँछौं।  

सार्वजनिक र निजी गरी दुईखाले शिक्षा छ, यसबाट विद्यार्थीको भविष्य निर्माणमा कस्तो असर पर्छ ?

सार्वजनिक र निजी जुन स्कुल भए पनि सिकाउनेले दत्त, चित्त भएर मेहनत साथ सिकाए विद्यार्थीको भविष्यमा राम्रो असर पर्छ। सिकाउनेले नसिकाए नराम्रो। सिकाउने भन्नाले यहाँ व्यवस्थापन समितिदेखि विद्यालयका सहयोगी कर्मचारीसम्मले गर्ने कार्यहरू पर्छन्। पाठ्यक्रमलाई बुझ्नुपर्छ सबैले। सिलेवसलाई हेरेर मात्र हुँदैन। राष्ट्रिय पाठ्यक्रममा आधारित भएर विद्यालयको आफ्नो पाठ्यक्रम बनाउनु पर्छ। हामीले स्कुलमा राष्ट्रिय पाठ्यक्रम अध्ययन र अन्तर्राष्ट्रिय पाठ्यक्रम अनुसन्धान गरी वार्षिक पाठ्यक्रम बनाउँछौं। दिन, घण्टा र मिनेट गनेर लागू गर्छौं। 

निजी क्षेत्रको शिक्षा निकै महँगो भयो, यसैकारण निजी विद्यालय अव सार्वजनिकमा रूपान्तरण गर्नुपर्छ भन्ने माग बारे के भन्नुहुन्छ ?

निजी विद्यालयलाई सार्वजनीकरण गरेर गुणस्तर बढ्ने हो ? हो भने गरौं। सुरु मबाटै गरौं। हरेक कुराको मूल्य प्रथम चरणमा लगानीको आधारमा हुन्छ। दोस्रो चरणमा माग र आपूर्तिको आधारमा हुन्छ। गुणस्तरीय वस्तुको मूल्य बढी हुन्छ किनकि त्यसको माग बढी हुन्छ। गुरुकुल शिक्षा पनि बिनालगानी प्राप्त हुँदैनथियो। समयको लगानी, गुरुकुटीको सेवा, गाईबस्तुको रेखदेख सबै लगानी नै हो। बिनालगानी केही पनि प्राप्त हुँदैन। मेरो घर छेउमा किराना पसल छ, त्यहाँँ पाउने सबै चिज मेरा आवश्यकताका भए पनि म त्यहाँ किन्दिनँ। कुनै सामान किन्न सुपरमार्केट जान्छु। कुनै किन्न दसौं किलोमिटर यात्रा गरेर अर्को ठाउँमा जान्छु। तपाईंले गर्ने पनि त्यही हो। किनकि मैले खोजेको गुणस्तर र तपाईंले दिन खोजेको गुणस्तरको परिभाषा एउटै हुँदैन। विश्व प्रजातन्त्रमा छनोटको स्वतन्त्रता हुन्छ। त्यो नहुनु भनेको भेडा–बाख्रा बनाउनु हो। भेडा–बाख्रा मात्र भएर इको सिस्टम चल्दै चल्दैन। तिनीहरूलाई उपभोग गर्ने मान्छे र मान्छेलाई पनि चुनौनी दिने केही न केही माध्यम विकास भएकै हुन्छ सन्तुलन ल्याउनलाई।  

एसईई खारेज नै गर्नुपर्छ भन्ने माग पनि उठेको छ, यसबारे तपाईंको धारणा के हो ?

परीक्षण हुनुपर्छ। तर, हामीले लिइरहेको जस्तो परीक्षा फालिदिए पनि हुन्छ। केही फरक पर्दैन। विद्यार्थीले ‘वातावरण सफा राख्नु हाम्रो कर्तव्य हो’ विषयमा निबन्ध लेखेर १० मा १० पाउँछ र परीक्षा हलबाट बाहिर गएपछि चकलेट खाएर खोल बाटोमा फालेर हिँड्छ। अनि हाम्रा परीक्षाहरूमा आउने प्रश्नका उत्तरहरू घोकेर मात्र केही काम छैन। 

स्थानीय तह मातहत विद्यालय शिक्षा राख्न कानुन बनाउन खोजिँदैछ, यो कति उचित छ ?

व्यवस्था जे भए पनि गर्ने मानिसले हो। गर्ने मानिस राम्रा भए भने जसको मातहतमा राखे पनि केही फरक पर्दैन। तर अहिले जस्तो स्थानीय पाठ्यक्रमका नाममा कक्षा १ देखिका छोराछोरीलाई तपाईंको मेयरको नाम के हो ? वडाध्यक्षको नाम के हो ? जस्ता कुराहरू पढाउन थालियो भने राजा महाराजाको गुणगानले उहिलेको शिक्षा प्रणाली भरिएजस्तै हुन्छ। अहिले कक्षा १ मा पढ्ने बच्चाले कण्ठ गरेको मेयर ऊ श्रम बजारमा आउँदासम्म भ्रष्टाचारले जेलमा पनि हुन सक्छ। समाजमा तिरस्कृत भइसकेको पनि हुन सक्छ। वा मरिसकेको हुन सक्छ। त्यसले उसको सीपमा केही फरक पार्दैन। गोदावरी रेसिडेन्सियल स्कुलमा कक्षा १२ सम्म अध्ययन गरेका विद्यार्थी संसारको कुनै पनि कुनामा गएर चुनौतीको सामना गर्न सक्छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.