कानुन निर्माणमा बेवास्ता, सत्तामा मस्त

कानुन निर्माणमा बेवास्ता, सत्तामा मस्त

सामान्य अवस्थामा संसद्को अधिवेशन वर्षमा दुईपटक चल्छ । बर्खे अधिवेशन बजेटमा केन्द्रित हुन्छ । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा परिचित हुन्छ । कानुन बनाउन केन्द्रित हुने विधेयक अधिवेशनको प्रतिनिधिसभाको हालैको संस्करणको उपलब्धिचाहिँ एउटामात्रै कानुन हो । सांसदको मुख्य काम कानुन निर्माण हो । तर उनीहरूले यो वर्ष जम्मा एउटा कानुन बनाए । जबकि मुलुकमा नयाँ संविधान अनुकूल कानुन बनाउनुपर्ने ठूलो खाँचो छ । आवश्यक कानुन निर्माणको कामको चाङ नै चाङ छ । तर सांसदहरू संसद् अधिवेशनको मुख्य कर्ममा भन्दा धेरै सत्ता गठन र विघटनकै खेलमा मात्रै सीमित रहे । मुख्य कामले प्राथमिकता नै पाएन ।

सांसदहरूलाई कानुन निर्माणबारे कतिसम्म बेमलतव छ भने कुनै विधेयकमाथिको छलफल हुँदा कुन विषयसम्बन्धी कानुन हो भन्नेसम्म हेक्का हुँदैन । विद्युतीय कारोबार ऐनसम्बन्धी विधेयकमाथि उनीहरू बिजुली व्यापारका कुरा गर्छन् । कानुनका केस्राकेस्रा केलाएर कमजोरी र सबल पक्ष छुट्याउनुपर्ने मुख्य काम सांसदको हो । पुराना कानुनमा परिमार्जन र नयाँ निर्माण गर्नुपर्ने गुरुत्व दायित्व उनीहरूमा छ । तर मुलुकलाई अहिले अत्यावश्यक भएको शिक्षासम्बन्धी कानुन अलपत्र छ संसद्मा । प्रहरी समायोजना र निजामतीसम्बन्धी कानुन नबन्दा मुलुकमा संघीयता संस्थागत हुन सकेको छैन । 

शान्तिप्रक्रिया सुरु भएको दुई दशक हुन लाग्दा पनि सत्य निरूपण र मेलमिलापसम्बन्धी कानुनमा दलीय द्वन्द्व छ । यी र यस्ता कानुन पनि सत्ता निर्माण र विनिर्माणको बार्गेनिङको अस्त्र बनिरहेका छन् । वास्तवमा संसद् सत्ताको छायामा सीमित भएको छ । जबकि सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ । तर संसद्लाई नै सरकारले पो पेन्डुलमजस्तो बनाइरहेको छ । यसमा मुख्य दोषी चाहिँ आफ्नो दायित्व भुलेर सत्ताकै खेलको भुलभुलैयामा पर्ने सांसदहरूको हो । 

उनीहरू दलीय शीर्ष नेताको रस्साकस्सीको सहयात्री खेलाडीमात्रै भएका छन् । जबकि संसद्मा जनताका आवाज उठाउने र सरकारको ध्यानाकर्षण गर्ने दायित्व पनि उनीहरूको हो । दुई चारजना मुख्य नेताहरूले जसो चाह्यो, त्यसैमात्रै भइरहने हो भने सांसदहरूले आफ्नै अस्तित्वमा प्रहार गरेको ठहरिन्छ । जसले मुलुक र जनताको पनि हित गर्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.