हावाहुरी र असिनाले पाल्पामा तरकारी र सुन्तलामा करोडौ रुपैयाँको क्षति

हावाहुरी र असिनाले पाल्पामा तरकारी र सुन्तलामा करोडौ रुपैयाँको क्षति
सुन्नुहोस्

तानसेन : हावाहुरी र असिनाले पाल्पामा तरकारी र सुन्तलामा करोडौ रुपैयाँको क्षति भएको छ। शनिबारको हावाहुरी र असिना पानीले  तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति भएको हो। 

हावाहुरी र असिनाको कारण सबैभन्दा बढी सुन्तला खेती र अकबरे खुर्सानी खेतीमा सबैभन्दा नोक्सानी भएको छ। पाल्पामा गएको सिजनमा ४६ करोडको सुन्तला र १० करोड बराबरको अकबरे सुन्तलाको कारोबार भएको थियो। 

पछिल्लो समय अकबरे खुर्सानीबाट आफ्नो पहिचान बनाएको रिब्दिकोट गाउँपालिकामा अकबरे खुर्सानीको ७ लाख बिरुवा नष्ट भएको छ। आगामी वर्ष ७ सय रोपनी क्षेत्रफलमा लगाउने गरी निर्माण गरिएको अकबरे खुर्सानीको ब्याड पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक  रन्जिव कुवँरले बताए।  अकबरे खुर्सानी लगाउने तयारीमा जुटेको सयमा आएको असिनाले पूर्ण रुपमा नोक्सान गर्दा ७ सय रोपनी जग्गा बाझिने अवस्था आएको कृषि प्राविधिक कुँवरले बताए।  

गत वर्ष पोनी ६ करोडको सुन्तला बिक्री गरेको रिब्दिकोट गाउँपालिकामा यस वर्ष ७ करोडको सुन्तला बिक्री गर्ने  लक्ष्य लिए पनि फूल फूलेको सुन्तलाको आधा भन्दा धेरै फूल झरेको जसको कारण ठूलो नोक्सान भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताए। 

हावाहुरी र असिनाले अकबरे खुर्सानीको डेढ लाख बिरुवा नोक्सान पुर्याएको रिब्दिकोट-७ मैनादीका कृषक जनक आचार्यले बताए। ‘मैले डेढ किलो अकबरे खुर्सानीको बिरुवा रोपेको थिए, ५० हजार आफ्नै बारीमा लगाउने र एक लाख बिरुवा प्रति गोटा २ रुपैयाँको दरले  बाहिर बिक्रीका लागि अडर थियो, तर एक छिनको हावाहुरी र असिनाले मेरो मात्र खुर्सानीमा दुई लाख रुपैयाँभन्दा बढी र सुन्तलामा १० लाख रुपैयाँ भन्दा नोक्सानी भएको छ।’ गत वर्ष १२ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेको कृषक आचार्यको बोटमा सुन्तलाको फूल १० प्रतिशत मात्र बाँकी रहेको बताए। 

रैनादेवी छहराको अमलावास, सोमादी, ताङ्गसिगल, मुझुङ्ग क्षेत्रमा लगाएका सुन्तला खेतीको आधा भन्दा बढी असिनाले फूलहरू झरेको कृषकहरूले जानकारी गराएको  गाउँपालिकाका अध्यक्ष रुक्माङ्गगत भट्टराईले बताए। रैनादेवी छहरा मुझुङ्गले  सुन्तला बगैँचामा हावाहुरी र असिनाले फूलेको सुन्तलाको फूल ८० प्रतिशत झरेको वडाध्यक्ष हुमान सिंह कार्कीले जानकारी दिए।  अत्यधिक असिना परेको कारण दुई दिनसम्म कृषकहरूको बारीमा असिना रहेको वडाध्यक्ष कार्कीले बताए। 

कृषकहरूबाट क्षतिको  विवरण संकलनको काम भइरहेको छ। बढी नोक्सानी सुन्तला खेतीमा भएको उनले बताए। गएको सिजनमा मुझुङ्गले   डेढ करोड रुपैयाँको सुन्तला बिक्री गरेको थियो।  यसै गरी पालिकाको वडा नम्बर ४ मा अमलावास क्षेत्रमा हावाहुरी र असिनाले सुन्तलाको फूल झारेर बगैंचा सेताम्मे बनाएको छ। 

बगनासकाली गाउँपालिका भित्र पनि असिना पानी हावाहुरीले कृषकहरूको कृषि उत्पादनमा लाखौं रुपैयाँको क्षति पुगेको  कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताए। वडा नम्बर ५, ६, ७ र ८ मा रहेका ठूला ठूला प्लाष्टिक टनेलमा पूर्ण क्षति भएको विवरण कृषकहरूबाट आएको कृषि शाखा प्रमुख कोइरालाले बताए। 

पाल्पाको बगनासकाली, तानसेन नगरपालिका र पुर्वखोला गाउँपालिकामा पनि सबैभन्दा बढी नोक्सानी सुन्तला खेतीमा भएको छ। अत्यधिक असिना परेको कारण अधिकांश सेतै फूलेको फूल भुइँमा खसेको छ। यकिन क्षतिको विवरण संकलन भइरहेको पालिकाहरूले जनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.