वित्तीय सूचकमा अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौं पटक पायो त्रिपल ए रेटिङ
काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ए रेटिङ पाएको छ। इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई 'इक्राएनपी-आईआर त्रिपल ए' को रेटिङ पुनः पुष्टि गरिदिएको हो।
यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरू पुरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको बुझाउँछ। इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधार मानेर उक्त उच्च स्तरको रेटिङ दिएको बताएको छ। जसमा बैंकको सीआरएआर, निष्कृय कर्जा (एनपीएल)लगायतका विभिन्न वित्तीय सूचकहरू छन्।
हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६० प्रतिशत मात्रै छ। जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो। हाल अन्य वाणिज्य बैंकहरूको औषत एनपीएल नै ३.६३ प्रतिशत रहेको छ। साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दावी छ।
लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाहरूप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन्।