मुस्ताङको मार्फा खोलामा चैतमै बहाब उच्च
जोमसोम : हिउँदयाम सकिएर मनसुन सुरु भएसँगै मुस्ताङको मार्फास्थित मार्फा (राज) खोलाको बहाब उच्च भएको छ। हिउँदमा निकै सानो हुने मार्फा खोला आइतबार दिउँसो खोलाको सतह बढेको हो।
राष्ट्रिय गौरवको बेनी-जोमसोम राजमार्ग सडकमा पर्ने मार्फा उर्फ राज खोलाको सतह बढेको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए।
बर्सेनि साउन र भदौ महिनामा बढ्ने राज खोला यसवर्ष चैत महिनामा बढेको उनले बताए। उनले लेदो र गेग्रानसहित खोलाको सतह वृद्धि भएको जानकारी दिए। यद्यपि अहिले सम्म खोलाले धार परिवर्तन नगरेको स्थानीय लालचनको भनाइ छ। खोलाको सतह बढेपछि जोमसोमबाट बेनी र बेनीबाट जोमसोम आउने सवारीलाई समस्या उत्पन्न भएको बताए। ‘अहिलेसम्म खोला बढे पनि खोलाले धार परिवर्तन गरेको छैन, धार परिवर्तन भयो भने त सवारी साधन तथा पैदलयात्रीलाई आउजाउमा समस्या हुन्छ।
मार्फामा राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिरहेको छ। मार्फा र छुसाङमा गरी २१ करोड लागतमा पक्की पुल निर्माण गर्न २०७५ सालमा हिमढुङ एण्ड ठोक्कर ईमोटल जेभी कन्टक्सनले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो।
तर, साढे २ वर्षमा सक्नु पर्ने पक्की पुल निर्माण कम्पनीको ढिलासुस्तीले अझै पुल निर्माण हुन सकेको छैन। हाल त्यहाँ ३ स्पानमध्ये २ स्पानको स्ल्याप ढलान भएको छ। आयोजना अन्तर्गत मार्फा खोलामा ३ स्पानको १२० मिटर पक्की पुल निर्माणाधीन अवस्थामा छ। छुसाङमा ३ स्पानकै ९० मिटरको पुल निर्माणाधीन अवस्थामा छ। मुस्ताङको मार्फा खोलामा पक्की पुल निर्माणमा विलम्ब हुँदा त्यहाँ बर्खायाममा सवारी साधनलाई निकै समस्या हुने गरेको छ।