थकाली समुदायको तोरन्ल पर्व सुरु
जोमसोम : थकाली समुदायको तोरन्ल पर्व सुरु भएको छ। मुस्ताङको थाक सातसय क्षेत्र तथा त्यस आसपास बसोबास गर्ने थकाली समुदायका नागरिकहरूले तोरन्ल पर्व मनाउँछन्।
मुस्ताङमा मार्फाली थकाली समुदायले भने यसपर्वलाई तेरमी पर्वका रुपमा मनाउने गरेका छन्। थकालीहरूको तोरन्ल पर्व दिवंगत भएका व्यक्तिहरूको नाममा पितृ पूजा, भूमी पूजा र परम्परागत तारा खेल खेलेर मनाउने प्रचलन छ।
तोरन्ल पर्वमा पितृ पुजाका साथसाथै छोरी ज्वाईलाई माइतीघर बोलाउने प्रचलन रहेको थकाली समुदायकी स्थानीय रजनी शेरचनले बताइन्। पर्वमा ३ दिनसम्म पितृ पूजा हुने र अन्नबाली सप्रियोस भनेर भूमि तथा प्रकृति पूजा गर्ने प्रचलन रहेको उनले बताइन्।
तोरन्ल पर्वको बेला पुरुषहरूले खेल्ने तारो खेल पर्वको महत्वपूर्ण विशेषताको रुपमा लिने गरिन्छ। जोमसोममा तोरन्ल पर्व १५ दिनसम्म मनाउने प्रचलन छ।