जितपुरसिमरा क्रिकेट कपः भैरहवाविरुद्ध जनकपुरको महत्वपूर्ण जित

जितपुरसिमरा क्रिकेट कपः भैरहवाविरुद्ध जनकपुरको महत्वपूर्ण जित
सुन्नुहोस्

सिमराः जितपुरसिमरा क्रिकेट कप प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले विजयी भएको छ। समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो। 

यो जितसँगै जनकपुरले प्रतियोगिताको फाइनलमा पुग्ने आशा जीवित राखेको छ। पहिलो खेलमा मकवानपुरसँग ३१ रनले पराजित भएको जनकपुरलाई प्रतियोगिताको उपाधि होडमा उभिन भैरहवाविरुद्ध फराकिलो जित आवश्यक थियो। 

अब भैरहवालाई पनि प्रतियोगिताको फाइनलमा पुग्न समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार मकवानपुरलाई फराकिलो जित निकाल्नुपर्ने हुन्छ। अन्तिम खेलमा भैरहवा विजयी भए रनरेटका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ। तर मकवानपुरले जित हात पारे समूह विजेता हुँदै उसले पर्सा क्रिकेट संघसँग फाइनल खेल्नेछ। 

वर्षाका कारण एक दिन पछाडि सारिएको खेलमा जनकपुरले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन जोडेको थियो। जनकपुरका लागि हिमांशु दत्तले २५ बलमा ४७ रन बनाए। ओपनरका रुपमा आएका दत्तले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए। 

यसैगरी जनकपुरका लागि अखिलेश ठाकुरले २५, रुपेश यादवले अविजित १८, चन्दन यादवले १७ र पर्शुराम यादवले १४ रन बनाए। भैरहवाका सन्तोष यादवले चार विकेट लिए। चार ओभर बलिङ गर्दै यादवले २२ रन खर्चेर चार विकेट हात पारेका थिए। भैरहवाका अजय चौहानले दुई र इकलख वर्सीले एक विकेट लिए। 

जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवाले १७.६ ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्रै जोड्न सफल भयो। भैरहवाका लागि अमर मिश्रले २५, प्रकाश गिरीले १४, सन्तोष यादवले १३, मनिष थापाले १२ र निश्चल चौधरीले १० रन बनाए। अन्तिम विकेटका रुपमा रहेका महेश भार घाइते भएका कारण भैरहवाले ९ विकेटमै इनिङ समाप्तिको घोषणा गरेपछि जनकपुर ४८ रनले विजयी भएको हो। 

जनकपुरका रुपेश यादव, रोहन यादव र अभिजित मण्लले समान दुई विकेट लिए भने विशाल सुस्लिङ, साइमोन रोय, बी धवन सहनीले समान एक विकेट हात पारे। जनकपुरका कप्तान दत्त प्लेयर अफ दि म्याच घोषित भए। उनलाई जितपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले पुरस्कृत गरेकी थिइन्।

जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने आशा जीवित राखेको जनकपुरले अब समूह ‘बी’ को अन्तिम खेलको नतिजा पर्खनेछ। समूह ‘बी’ बाट फाइनलमा पुग्ने टोलीले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसँग उपाधिका लागि भिडन्त गर्नेछ। आयोजक जितपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबविरुद्ध जित निकाल्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिता फाइनल खेल चैत १० गते हुनेछ। 

अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.