घट्यो उपभोक्ता क्रयशक्ति, खुम्चियो आयात

घट्यो उपभोक्ता क्रयशक्ति, खुम्चियो आयात
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : समग्रमा आम उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले बजारमा मागको कमी हुँदा आयात हरेक महिना खुम्चिँदै आएको छ। गत आर्थिक वर्षको फागुनको तुलनामा चालु आवको सोही अवधिमा आयात २.६६ प्रतिशतले घटेको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो।

गत आवको फागुनमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख आयात भएकोमा यसवर्ष भने घटेर १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। तर, गत माघसम्ममा कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ कायम भएको थियो। वार्षिक रूपमा आयातमा कमी देखिए पनि एक महिनाको अन्तरमा भने १ खर्ब ३२ अर्ब २८ करोड बढी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।  

बजारमा माग न्यून भएकाले पनि आयात घटेको भन्सार विभागको भनाइ छ। समग्रमा आयातको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थ, फलाम र सवारी साधन बढी छ। तर, वार्षिक रूपमा भने गत आर्थिक वर्ष अत्याधिक आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले नियन्त्रण गरेकाले अहिले यसको परिणाम देखिन थालेको हो। तर, अघिल्ला वर्षको तुलनामा आयात घट्दा बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा पनि कम भएको बैंकर्सहरू बताउँछन्। 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी आन्तरिक बजार चलायमान नहुँदा आयातमा कमी आएसँगै बैंकमा लगानीयोग्य पुँजी अधिक हुनुको एउटा कारण भएको बताउँछन्। विकास निर्माण तथा निजी आवास निर्माणमा सुस्तता आएकाले पनि अधिकांश आयातमा कमी आएको व्यवसायीको ठहर छ। गत माघमा पनि कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको थियो। 

आयात मात्रै होइन देशभित्र उत्पादित उद्योग तथा कलकारखानाको उत्पादन क्षमतामा कमी आउँदा निर्यात पनि घटेको छ। गत आवको तुलनामा चालु आवको फागुनसम्ममा निर्यात ३.९९ प्रतिशतले घटेको छ। नेपालबाट गत वर्षको ८ महिनामा कुल १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। यसपटक निर्यात घटेर १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार गत वर्षको तुलनामा ४ अर्ब १७ करोड ८७ लाख ४४ रुपैयाँले निर्यात घटेको छ। रेमिट्यान्सको आकार बढ्दै गर्दा र निर्यातको आकारमा कमी आउँदा मुलुक परनिर्भरतातर्फ उन्मुख हुने खतरा रहेकोमा अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्। अब सरकारले आन्तरिक लगानीमा जोड दिएर उत्पादन नबढाए मुलुकको अर्थतन्त्र संकटमा पर्न सक्नेबारे अर्थविद् डा.चन्द्रमणि अधिकारी सरकारको ध्यानाकर्षण गर्छन्।  

कुल आयातको तुलनामा निर्यातको हिस्सा धेरै नै कम छ। नेपालको अर्थतन्त्र आयातित वस्तुमै निर्भर रहयो। जसले गर्दा निर्यातको हिस्सा कुल आयातको करिब १० प्रतिशत हाराहारीमा मात्रै हुने गरेको छ। नेपालले १ लाख रुपैयाँको आयात गर्दा १० हजार रुपैयाँ मात्रै निर्यात गर्न सकेको छ। यसैकारणले नेपालले सधंै व्यापार घाटा बेहोर्नु परेको हो। यसअवधिमा पनि नेपालको आयातको आकारभन्दा निर्यातको आकार झन घटेकाले व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ बराबरको छ। गत वर्ष व्यापार घाटा अझै बढी थियो। गत आवको ८ महिनामा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबरको थियो। यसबीच व्यापार घाटा भने २.५२ प्रतिशतले घटेको छ। यसअनुरूप नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँ कायम छ। यो गत वर्षको भन्दा २.७८ प्रतिशतले कम हो। जबकी गत आर्थिक वर्ष ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो। 

वीरगन्ज भन्सार कार्यालयबाट साढे ३ खर्ब आयात

आयात तथा निर्यातका ३० भन्सार विन्दुमध्ये सबैभन्दा बढी वीरगन्ज नाकाबाट वस्तुहरू भित्रिएको छ। यहाँबाट कुल आयातको ३४.२७ प्रतिशत वस्तु आयात भएको छ। उक्त भन्सार विन्दुबाट मात्रै ३ खर्ब ५३ अर्ब ४ करोड रुपैयाँ हाराहारमिा आयात भएको छ। बढी आयात गरेको वीरगञ्ज नाकाबाट निर्यात भने कुलको १९.४६ अर्थात १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको मात्रै गरेको छ।  यसैगरी, बढी आयात गर्ने दोस्रोमा रहेको भैरहवा भन्सार नाकाबाट १ खर्ब ५७ अर्ब १३ करोड रुपैयाँ बराबरको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.