खोला खन्ने आन्दोलनको २४ घण्टा नबित्दै उत्खनन बन्द गर्न प्रदर्शन

खोला खन्ने आन्दोलनको २४ घण्टा नबित्दै उत्खनन बन्द गर्न प्रदर्शन
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलाको उत्खनन पूर्ण रुपले बन्द गर्न माग गर्दै स्थानीयहरू प्रदर्शन गरेका छन्। 

खोला उत्खनन गर्न पाउनुपर्ने माग गर्दै ट्याक्टर व्यवसायीहरू नगरपालिकाको कार्यालय घेराउ गरेको २४ घण्टा नबित्दै नगरपालिका अगाडि खोलाको उत्खनन पूर्ण रुपले बन्द गर्न प्रदर्शन भएको हो।

धनुषाको मिथिला नगरपालिकाले खोला उत्खननमा रोक लगाएपछि गिट्टी बालुवा उत्खनन गर्ने ट्याक्टर व्यवसायीहरू आइतबार नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका थिए। त्यस आन्दोलनको २४ घण्टा नबित्दै औरही नदि तटका गाउँ विश्रामपुर र श्रीपुरका सयौंको संख्यामा स्थानीयहरू ढल्केवर चौकबाट मार्च पास गर्दै नगरपालिका पुगेर प्रदर्शन गरेका हुन्। 

नागरिक समाजको ब्यानर बोकेका उनीहरू खोला उत्खनन पूर्ण रुपमा बन्द गर, माफियाहरू होसियार, खानेपानी मुहानको श्रोत सुनिश्चित गर, मानव बस्तीको रक्षा गर लगायतको चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए। नगरपालिका पुगेका उनीहरू मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसमक्ष आक्रोश पूर्ण गुनासो पोखेका छन्।

नगरपालिकाले खोला उत्खननमा रोक लगाएको भनिएपनि आंशिक रुपमा भइरहेको निरन्तरको उत्खनन गाउँबस्ती नै जोखिममा परेको आन्दोलनमा सहभागी स्थानीयहरूले नगरप्रमुख महतोलाई सुनाए। जनताका नाममा बनेको तटबन्ध संकटमा परेको, खानेपानीको मुहान समेत सुकिर पानीको हाहाकार भएको, खेतीयोग्य जमिनहरू खोला बनेकोलगायतका समस्याहरू उनीहरूले सुनाएका थिए।

स्थानीयहरूको गुनासो सुनेपछि नगरप्रमुख महतो आफूहरू नागरिकका समस्याहरूप्रति गम्भीर रहेको बताए। ‘तपाईंहरूले उठाउनु भएको माग न्यायोचित छ। यो समग्र जनताको माग हो। हामी पनि तपाईंहरुको पक्षमा छौं,’ आन्दोलनमा सहभागीहरूलाई सम्बोधन गर्दै नगरप्रमुख महतोले भने ‘त्यसैले त हामी खोला खन्नेलाई रोकेका छौं। क्रसरलाई बन्द गराएको सबैलाई थाहै होला। जबरजस्ती गर्नेलाई निर्मम कारबाही गरिरहेका छौं।’

नागरिक र समुदायको अहितमा आफूहरू कुनै काम नगर्ने नगरप्रमुख महतोले विश्वास दिलाए। खोला उत्खनन रोक्न सुरक्षा निकायको विशेष भूमिका रहने गरेको उनले बताए। विधि र प्रक्रिया विपरीत खोलामा मनपरी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै स्थानीयहरूको यो मागलाई कार्यपालिकामा पेश गर्ने उनले प्रतिबद्धता जनाए।

ठेक्का नै नलाएको खोलामा निर्वाध रुपमा अनियन्त्रित उत्खनन भएपछि नगरपालिकाले क्रसर उद्योगहरू बन्द गराउँदै उत्खननमा पूर्ण रोक लगाएपछि खोला उत्खननका विषयमा पेचिलो बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.