जितपुरसिमरा क्रिकेट कपमा पर्साको विजयी सुरुवात

जितपुरसिमरा क्रिकेट कपमा पर्साको विजयी सुरुवात
सुन्नुहोस्

सिमराः आयोजक जितपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जितपुरसिमरा टी–२० क्रिकेट कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो।  

पर्साका जीतमा अकिब अंसारी र अनुज चौहानले उत्कृष्ट ब्याटिङ गरेका थिए। टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो। १४ रनमै तीन विकेट गुमाएको पर्सालाई अकिब र अनुजले सम्हाल्दै सम्मानजनक स्थितिमा पुर्‍याएका थिए।  

अकिबले ६३ रन बनाउँदै अर्धशतक बनाए। आयोजकका कप्तान सुरज लामाको बलमा पेभेलियन फर्किनु अघि ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए।  यसैगरी अनुज चौहानले ३५ बलमा ३७ रन बनाउँदा पर्साका अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्।

आयोजकका लागि कप्तान सुरज लामाले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए भने अजय पटेलले तीन विकेट र  आजाद अंसारीले दुई विकेट लिए।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी सम्मिलित पर्साले १३७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आयोजक ५९ रनमै समेटियो। आयोजकका लागि इर्षाद अख्तरले १३ र अनिल खड्काले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन्।

पर्साका अल्फाज अंसारी, सम्साद मन्सुरी, अरबाज अंसारी र अकिब अंसारीले समान दुई/दुई विकेट लिए। पर्साका अकिब खेलको प्लेयर अफ दि म्याच घोषित भए। अकिबलाई शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डलले दुई हजार नगद र ट्रफी प्रदान गरेका थिए। शुभारम्भ कलेजले प्लेयर अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको थियो। 

प्रतियोगिता अन्तर्गत आइतबार पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लबबीच खेल हुनेछ। अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्। 

चैत्र १० गतेसम्म हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। राउण्ड रोबिनका आधारमा सञ्चालन प्रतियोगिताको समूह विजेताले उपाधिका लागि भिडन्त गर्नेछन्। प्रतियोगिता आयोजनाका लागि मधेस प्रदेश क्रिकेट संघ, बारा क्रिकेट संघ, पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकीय सहयोग गरिरहेको छ। 

यसअघि जितपुरसिमराका नगर प्रमुख राजन पौडेलले ब्याटिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.