महिला कृषि उद्यमीलाई किसान कार्ड

महिला कृषि उद्यमीलाई किसान कार्ड
सुन्नुहोस्

काठमाडौं : कृषक महिलाहरूले बिउबिजन किन्न नगदको सट्टा क्यूआरसहितको किसान कार्डको प्रयोगबाट सजिल्यै खरिद गर्न पाउने भएका छन्। किसान कार्डले बैंक वा वित्तीय संस्थाहरूमा पहुँच नभएका समुदाय, विशेषगरी महिला कृषि–उद्यमीलाई वित्तीय सेवाहरूमा पहुँच प्रदान गर्दछ। 

राजधानीमा आयोजित एक कार्यक्रममा सप्तरी अगिनसार कृष्णा श्रवण गाउँपालिका–१, जन्डोल सदाटोलकी सिर्जनाकुमारी चौधरी विपन्न वर्गमा परेको साना किसानले यस्तो कार्ड पाएपछि दंग छिन्। कृषि उत्पादनबाट भएको आम्दानीको घरखर्च कटाएर बैंकमा बचत गर्ने बानी गरेकी चौधरी आफू किसानीमै निर्भर भएकाले अब यो कार्डको प्रयोगले झन् खेती बढाउने योजनामा छिन्।

उनी भन्छिन्, ‘सुरुमा साढे २ कट्ठा जग्गा भाडा लिएकोमा अहिले १० कट्ठा लिएर काम गरिरहेकी छु। म किसानमै निर्भर छु। यो कार्डको प्रयोगले बिउबिजनलगायतका उत्पादन ल्याएर किसानी पेसालाई माथि उठाउँछु।’ उनीसँगै किसान कार्ड पाएका सिराहा र सप्तरीका ६ जना (वीणा मण्डल, सविताकुमारी मण्डल, शोभादेवी दास, सरस्वतीकुमारी सदा) पनि अब कार्डको प्रयोगबाट सीधै कृषि उपजका बिउबिजन किन्न पाउनेमा खुसी छन्। 

भगवानपुर–१, सिमुरियाका सविताकुमारी मण्डलले भनिन्, ‘विगतमा कृषि उत्पादन सामग्रीका लागि पेपर भौचर प्राप्त गरेका थियौं जसबाट हामीले पोषणजन्य खाद्यवस्तु उत्पादन गरी उपयोगका साथै बेचबिखनसमेत गर्यौ। अब किसान कार्डमार्फत कृषि सामग्रीका साथै बैंकले प्रदान गर्ने ऋणसुविधामा सहज रूपमा पहुँच प्राप्त गर्ने अपेक्षा राखेका छौं।’ 

कृषक, स्थानीय सरकार तथा बैंकका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा विभिन्न जिल्लाका ६ प्रतिनिधि महिला कृषकलाई किसान कार्ड वितरण गरिएको हो। केयर नेपालले एनआईएमबी, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र राष्ट्रिय कृषक समूह महासंघसँगको साझेदारीमा पहिलो चरणमा नेपालको उदयपुर, सप्तरी र सिराहा जिल्लाका सीमान्तकृत समुदायका ६ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई किसान कार्डमार्फत वित्तीय सेवा प्रदान गर्ने भएको हो। 

केयर नेपालले बुधबार ललितपुरमा वित्तीय सेवामा पहुँचसम्बन्धी किसान कार्ड पहलको शुभारम्भ कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा केयर नेपाल तथा एनआईएमबी बैंकबीच यस सहकार्यका लागि सम्झौतापत्र आदानप्रदान गरिएको छ। सम्झौता केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पा र 
बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईईओ) महेश शर्मा ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

भूमिहीन तथा सीमान्तकृत महिला किसानहरूको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यका साथ केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको साझेदारीमा वित्तीय सेवामा पहुँच विस्तार गर्न नगदरहित कारोबारमा आधारित किसान कार्ड पहलको सुरुवात गरेको हो। केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पा भन्छिन्, ‘हामीले वित्तीय सेवामा पहुँचसम्बन्धी पहलमार्फत भूमिहीन तथा सीमान्तकृत महिला किसानलाई आर्थिक सशक्तीकरण गर्ने दिशामा महŒवपूर्ण कदम चालेको छौं। 

यो पहलले महिला तथा सीमान्तकृत किसानलाई दिगो रूपले आफ्नो कृषि व्यवसाय अघि बढाउनका लागि आर्थिक रूपमा सक्षम बनाउनेछ।’ यस्तै, बैंकका चिफ अपरेटिङ अफिसर (सीओओ) राजेश शर्मा नेपाल राष्ट्र बैंकबाट क्यूआर कोडमा आधारित किसान कार्ड वितरण गर्ने पहिलो बैंक भएको दाबी गरे। यसअघि सरकारले दिएको सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको सुनाउँदै उनले अब यो कार्डले भने नगदभन्दा आवश्यक वस्तुका लागि भुक्तानी गर्ने भएकाले सदुपयोग हुने बताए।

 किसान कार्डबाट सुविधा
किसान कार्डले किसानलाई ऋण सुविधामा पहुँच प्रदान गराउने र कृषि क्षेत्रभित्र नगदरहित कारोबारलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ। अत्याधुनिक क्यूआर कोड तथा ओटीपी (वन टाइम पासपोर्ट) प्रणालीमा आधारित प्रविधिको उपयोग गरी किसान कार्डमार्फत किसानले सहज एवं सुरक्षित तवरले कृषि सामग्री, उपकरण र आवश्यक कृषि सेवाहरू खरिद गर्न र मर्मतसम्भार खर्च तिर्न सक्नुका साथै स्थानीय कृषि व्यवसायीसँग कृषि उत्पादनको बिक्रीसमेत गर्न सक्नेछन्।

यस प्रक्रियामा आर एन्ड डी इन्नोभेटिभ सोलुसनले प्रविधिमा सहजीकरण, व्यवसाय तथा वित्तीय क्षमता अभिवृद्धि र मूल्य शृंखलाको प्रभावकारी समन्वयका लागि सहजीकरण गर्नेछ। यस्तै, राष्ट्रिय कृषक समूह महासंघ, नेपालले किसानको पहिचान, कृषि प्रसार र वित्तीय संस्थासँग समन्वय गर्नेछ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कृषकको बैंक खाता खोली किसान कार्ड वितरण तथा कार्डको उपयोगिताबारे साक्षरता प्रदान गर्नेछ। 

किसान कार्डमार्फत किसानले वित्तीय संस्था, सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने ऋण सुविधा, छुट तथा अनुदानमा पहुँच अभिवृद्धि गर्ने आशा गरिएको छ। यस सहकार्यले किसानलाई आफ्नो कृषि व्यवसाय विस्तार गर्न, वित्तीय साक्षरता अभिवृद्धि गर्न र जीविकोपार्जनमा सुधार गर्न आवश्यक आर्थिक स्रोतहरू उपलब्ध गराउने लक्ष्यसमेत राखेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.