महिलामा लगानी भनेको समग्र समाजको समृद्धि हो
तारा क्षेत्री सेभ द चिल्ड्रेन– नेपाल र भुटान कन्ट्री अफिसकी पहिलो नेपाली कन्ट्री डाइरेक्टर हुन्। सेभ द चिल्ड्रेनसँग ताराको यात्रा सन् २००० मा सुरु भएको थियो, जहाँ उनले सुरुमा एचआईभी प्रोग्रामिङ पहलको नेतृत्व गरेकी थिइन्। सार्वजनिक स्वास्थ्य र सामाजिक विकासको गहिरो समझको साथ, एचआईभी, टीबी र मलेरिया प्रोग्रामिंगमा विशेषज्ञता, प्रमुखको भूमिका ग्रहण गरिसकेकी छिन्। उनीसँग अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा गरिएको कुराकानीको अंश।
यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी रहेको छ। यसको वास्तविकता कस्तो देख्नुहुन्छ ?
महिलामा लगानी गर्नु भनेको उनीहरूको क्षमताको पहिचान गर्नु र अघि बढ्न आवश्यक स्रोतसाधन, अवसर र समर्थन प्रदान गर्नु हो। महिलामा लगानी भनेको अन्ततः समग्र समाजको अधिक प्रगति र समृद्धि हो।
सेभ द चिल्ड्रेनमा, हामी सबै किसिमका महिलाहरूको आवाज र उनीहरूको सञ्जाल निर्माण गर्न केन्द्रित हुँदै आइरहेका छौं। बालबालिकाको जीवनमा प्रभाव पार्न परिवर्तनको उत्प्रेरकको रूपमा महिलाहरूको भूमिकालाई स्वीकार गरिएको हो।
कार्यस्थलमा समान अवसरहरू प्रदान गर्नु, शिक्षा, प्रशिक्षण र नेतृत्व पदहरूमा पहुँच प्रदान गर्न सके महिलाहरूले वित्तीय स्वतन्त्रताको अवसर पाउन सक्छन्। फलस्वरूप यसले बालबालिकाहरूको सकारात्मक भविष्यको नेतृत्व गर्न सक्छ।
हाम्रा कार्यक्रमहरू समाज सबैभन्दा कम प्रतिनिधित्व भएका समूहका बालिकाहरूमा गुणस्तरीय शिक्षा प्रदानमा पनि केन्द्रित रहेको छ। किनकि बालिका शिक्षा र सीप विकास कार्यक्रमहरूमा लगानी गर्दा उनीहरूमा पूर्ण क्षमताको विकास हुन्छ र समाजको प्रगतिमा योगदान गर्न सशक्त बनाउन सकिन्छ भन्ने हाम्रो मान्यता छ।
यस कारण हामीले बालविवाह र महिला तथा बालिकाविरुद्ध हुने हिंसाजस्ता लैंगिक विरोधी आख्यान र हानिकारक सामाजिक मूल्यमान्यताहरूको सामना गर्न बनेका कार्यदिशा वा पहलहरूमा लगानी गर्न आवश्यक छ। सरकार र सरोकारवालाहरूसँग सहकार्य गरी महिलाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, कानुनी र न्याय प्रणालीलाई सुदृढ गर्न र लैंगिक समानताको दिशामा प्रगतिलाई गति दिन आवश्यक छ। सबैभन्दा महŒवपूर्ण कुरा, यी सबै हुनका लागि हामीले महिला र बालिकाहरूको कुरा सुन्नुपर्छ र कुराकानीका सबै तहमा उनीहरूको आवाज र सहभागिता सुनिश्चित गर्नुपर्छ।
नेपालमा भएका ठूला संस्थाहरूमध्ये एक संस्थाको महिला राष्ट्रिय निर्देशकको हैसियतामा केकस्ता चुनौतीहरू सामना गर्नुपरेको छ ?
अहिलेको वर्तमान विकास परिदृश्यलाई हेर्ने हो भने, धेरै गैर सरकारी संस्था (आईएनजीओ) र विकास एजेन्सीहरू महिलाहरूले नेतृत्व गरिरहेका छन्। यो विषयमा महिलाहरूले फड्को मारेको देखिन्छ। महिलाहरूले सहयोगी र निर्णयकर्ताको रूपमा समाजमा आफ्नो स्थान सुरक्षित गरिहेका छन्।
यस परिवर्तनलाई हेर्दा आशा गर्ने ठाउँ छ। तर, अझै पनि सामाजिक मूल्य र मान्यता निरन्तर पितृसत्तात्मक ढाँचाबाट अघि बढिरहेको छ। महिलाहरूलाई सीमान्तकृत गर्ने तथा उनीहरूको निर्णय गर्ने र नेतृत्व क्षमताको बारेमा रुढिवादी धारणाहरू राख्ने प्रवृत्ति अझै पनि कायम छ।
अझ सिमान्तकृत, यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूको अस्तित्वमाथि नै प्रश्न। संविधानले नै अंगीकार गरेको समावेशीयताको कार्यान्वयन छ त ? हामी यसको सामना कसरी गर्न सक्छौं ? यो नै हाम्रो चुनौती हो। यी मान्यताहरूलाई चुनौती दिन लगनशील भई काम गरेर, परिवर्तनका लागि दृढतापूर्वक वकालत गरेर, सहकार्यको संस्कृतिलाई बढावा दिएर र सुशासन, पारदर्शिता र जवाफदेहिताका सिद्धान्तहरूलाई मूर्तरूप दिन जरुरी छ।
नेतृत्वदायी पदमा महिलालाई नियुक्त गर्नु मात्र पर्याप्त नभई परिवर्तनलाई प्रभावकारी विकास गर्न, नेतृत्व गर्न र अगाडि बढाउन आवश्यक स्रोत र अवसरहरूमा महिला नेतृहरूको पहुँच सुनिश्चित गर्नुपर्छ। यसमा उनीहरूलाई उनीहरूको भूमिकामा फष्टाउन आवश्यक समर्थन र आवश्यक स्रोत तथा साधनहरू प्रदान गर्नु आवश्यक छ।
सेभ द चिल्ड्रनेको कार्यक्रमहरूमा लैंगिक समानतामा अहम् र अपरिहार्य देखिन्छ। यसलाई वास्तविकतामा कसरी स्थापित गर्न सकिन्छ ?
सेभ द चिल्ड्रेनमा, हामी इन्टरसेक्सनल लेन्सको माध्यमबाट लैंगिक समानताको दृष्टिकोण राख्छौं। सबैलाई एकै रूपमा हेर्नुभन्दा, हाम्रा कार्यक्रमहरू, वकालत, साझेदारी र सञ्चालनहरू प्रभावकारी रूपमा सीमान्तकृत र कम प्रतिनिधित्व भएका समूहहरूसम्म पुगिरहेका छन् कि छैनन् भनेर सोध्ने गर्छौ।
हामी परामर्श, ग्रहणशीलता र कार्यक्रम र वकालत डिजाइनको समयमा सबै आवाजहरूको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने गर्छौं। लैंगिक समानता केवल संख्यामा भन्दा पनि वास्तविकतामा हुनुपर्छ। महिला, बालिका र सीमान्तकृत समूहका आवाजहरूलाई निर्णय प्रक्रियासम्म पुर्याउन आवश्यक सीप, स्रोत, शक्ति र पहुँचको सुनिश्चित गर्छौं। हाम्रो संस्थाले जैविक रूपमा छुट्टिएको महिला र पुरुषको लैंगिक पहिचानलाई मात्र नहेरी समष्टितामा काम गर्दै आइरहेको छ।
हामी परम्परागत लैंगिक मापनहरूभन्दा बाहिर गएर उनीहरूको कुरा सुन्छौं र समान अवसर दिन्छौं। हामी यो सुनिश्चित गर्न प्रयास गर्दछौं कि उनीहरूलाई पनि समान अवसर, सम्मान, पहुँच र प्रभावको साथ सामाजिक परिवर्तनको प्रक्रियाको नेतृत्व गर्न समावेश, संलग्न र सशक्त पारियोस्।
तपाईंले भेटेकामध्ये कुनै प्रभावशाली महिला वा किशोरीको बारेमा भन्न चाहनुहुन्छ ?
सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको हैसियत र त्योभन्दा अघिको नेतृत्वदायी भूमिकाको दौरान थुप्रै उल्लेखनीय व्यक्तिहरूलाई भेट्ने सुअवसर पाएको छु। त्यसमा एक किशोरीको घटना सम्झना आउँछ।
ती किशोरीले सेभ द चिल्ड्रेनको सहयोगले सर्लाहीमा पहिलो पटक बालिका क्रिकेट टोलीमा सामेल हुन सफल भएको मलाई बताइन्। क्रिकेटमा सहभागिताले उनको आत्मविश्वास मात्र बढाएन, बालविवाहजस्ता हानिकारक सामाजिक मान्यताहरूप्रति उनको जागरुकता पनि बढायो।
क्रिकेटलाई अँगालेर, र आत्मनिर्भर उन्मुख भएर उनले कम उमेरमा विवाह गर्नु परेन। र अहिले आफ्नो समुदायमा बालविवाहविरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेकी छिन्। ग्लोबल फन्डमार्फत, हामी एचआईभी संक्रमित व्यक्तिहरू, इन्जेक्सन ड्रग प्रयोगकर्ताहरू, एलजीबीटीक्यूआई + समुदाय, र महिला यौनकर्मीहरूसहितप्रमुख जनसंख्याहरूसँग संलग्न छौं। हाम्रा कार्यक्रमहरूले सुरक्षित स्थानहरू सिर्जना गर्छन् जहाँ कम प्रतिनिधित्व भएका आवाजहरूले उनीहरूका महŒवपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सक्दछन्।
अन्तःक्रियात्मक दृष्टिकोण अपनाएर, हामी महिला र किशोरीहरूलाई हानिकारक सामाजिक मूल्यमान्यताहरूलाई चुनौती दिन र उनीहरूको हौसला र आवाजहरू बढाउने कौशलको ज्ञान दिने काम गर्छौ। उदाहरणका लागि, हाम्रा जीविकोपार्जन कार्यक्रमहरूले महिला किसानहरूलाई उद्यमशीलता सीप र बीउ अनुदान प्रदान गरेर उनीहरूलाई उनीहरूको आफ्नै व्यवसाय सुरु गर्न सहयोग पुर्याएको छ। फलस्वरूप, यी सशक्त र आर्थिक रूपले स्वतन्त्र महिलाहरूले आफ्ना उद्यमहरूलाई विविधीकरण गरेका छन्, उनीहरूका बच्चाहरू, विशेषगरी उनीहरूका छोरीहरूको सुरक्षा र शिक्षा सुनिश्चित गरेका छन्, र कम उमेर र जबर्जस्ती विवाहलाई रोकेका छन्।
सेभ द चिल्ड्रेनले लैंगिक न्यायको सम्बन्धमा जलवायु न्यायको वकालत गरेको देखेका छौं। यसलाई थप प्रष्ट्याउन सक्नुहुन्छ?
लैंगिक न्याय जलवायु न्यायसँग आन्तरिक रूपमा जोडिएको छ। नेपालजस्तो विकासोन्मुख मुलुकका महिला तथा किशोरीहरू, विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूले जलवायु संकटको असमान प्रभावहरू सहनु परेको छ।
उदाहरणका लागि, बालिकाहरूले अक्सर आफ्नो परिवारका लागि पानी र खाना ल्याउने जिम्मेवारी वहन गर्छन्, जलवायु संकटले उनीहरूलाई लामो दूरीको यात्रा गर्न बाध्य पार्छ, जसले गर्दा स्कुलमा ढिलासुस्ती हुन्छ। यसबाहेक, स्वच्छ पानीको पहुँचको कमीले मासिक धर्मको स्वास्थ्य र स्वच्छतालाई खतरामा पार्छ, जसले बालिकाहरूको स्कुल छोड्ने दर बढाइरहेको छ।
जलवायु परिवर्तनले पनि बालविवाहमा वृद्धि भएको छ किनभने अभावको सामना गरिरहेका परिवारहरूले स्रोतसाधनका लागि आफ्ना छोरीहरूको विवाह गर्ने गरेका छन्। जलवायु संकटले महिला र बालिकाहरूलाई असमान रूपमा प्रभावित गर्दछ, विद्यमान लैंगिक असमानतालाई बढावा दिन्छ र उनीहरूको जीविकोपार्जन, स्वास्थ्य र सुरक्षामा महŒवपूर्ण खतराहरू खडा गर्दछ। तथापि, जलवायु परिवर्तनको प्रभाव समान छैन। जलवायु संकटलाई सम्बोधन गर्न अन्तर्मुखी र लैंगिक दृष्टिकोणबाट सुविचारित प्रयासको आवश्यकता छ।
विश्वको जनसंख्याको आधा हिस्सा ओगटेको भएता पनि महिला र बालिकाहरू प्रायःजलवायु परिवर्तनको छलफलमा सीमान्तकृत हुन्छन्, जसले उनीहरूको सशक्तीकरण र समावेशीकरणको तत्काल आवश्यकतालाई उजागर गर्दैन।
महिलाहरूले विपद्को अवस्थामा पहिलो प्रतिक्रियाकर्ता, विपद् जोखिम न्यूनीकरणमा नेतृत्वकर्ता र विपद्पछिको पुनस्र्थापना प्रयासमा योगदानकर्ताको रूपमा महŒवपूर्ण भूमिका खेल्छन्, जसले गर्दा समुदायको उत्थानशीलता र एकतालाई बलियो बनाउँछ।
अन्त्यमा पुरुषलाई अलग्याएर महिला अधिकार भने सुनिश्चित हुँदैन। महिलाले अधिकार महिलाको मात्रै विषय हैन, समाजको विषय हो र समाज अगाडि बढ्न महिला अधिकारको सुनिश्चितता हुनुपर्छ। यसमा सबैको साथ चाहिन्छ। अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा सधैंभन्दा केही फरक ढंगले सोचौं र सबै महिलाका अधिकारको सुनिश्चित गरौं।