अप्रत्याशित धोका भयो : कांग्रेस

अप्रत्याशित धोका भयो : कांग्रेस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कांग्रेसले प्रधानमन्त्री प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको हर गर्दै यसलाई ठूलो धोकाका रूपमा लिएको छ। प्रधानमन्त्रीले गठबन्धन एकाएक फेरेपछि समीक्षा गर्न बोलाइएको पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको तर धोका पाएको बताए। 

बैठकमा देउवाले भनेका थिए, ‘ओलीजीले पटकपटक भेट्न प्रस्ताव गर्दासमेत गठबन्धन तलमाथि होला कि भनेर मैले भेट्न खोजिनँ। तर प्रचण्डजीले भित्रभित्रै धोका दिनुभएको रहेछ। प्रचण्डजी धोकेबाज हुनुहुँदो रहेछ।’

देउवाले अगाडि भने, ‘उहाँले पछिल्लो समय निकै निहुँ खोज्दै आउनुभएको थियो। महासमितिमा उठेका विषयमा पनि धेरै केरकार भएका हुन्। धोका दिनका लागि पूरै आन्तरिक तयारीमा लाग्नुभएको रहेछ। पछिल्लो समय निकै भेटघाट बाक्लिएको कुरा सुन्दै आएको थिएँ। उहाँले अहिले नभए पनि दुई, चार महिनापछि धोका दिन तयारी अवस्थामा हो जस्तो देखियो। महिनापछि पनि धोका नै दिने स्थिति रहेछ। उहाँको स्वभाव धोकेबाज रहेछ।’

बैठकमा मन्त्रीहरूको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भए पनि प्रधानमन्त्रीले औपचारिक रूपमा मन्त्रीहरूको राजीनामा नमागेकाले मन्त्री आफैंले स्वयं राजीनामा दिनुपर्ने आवश्यकता नरहेको बताएका थिए।  

गत वर्षको १० पुसमा भत्किँदा पनि हामीले नै जोडेका थियौं भन्दै कांग्रेसका मन्त्री डा. प्रकाशशरण महतले भने, ‘चुनावअगाडि भएको गठबन्धनप्रति हामी अहिले पनि प्रतिबद्ध छौं। प्रधानमन्त्री आफैं अर्को बाटो हिँड्नु भएको हो। सरकारमा सहभागी हामीले राम्रो गर्ने प्रयासमै थियौं। अहिले मन्त्री हेरफेर गर्नु भनेको महिनौंदेखिको कसरतले हो। अहिले आकस्मिक प्रयासले सम्भव भएको हैन। मन्त्रीलाई जश नदिनु त्यो एउटा सामान्य बहाना हो।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले अप्रत्याशित निर्णय गरेको बताए, ‘प्रधानमन्त्री प्रचण्डजीले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काउनुभयो। कांग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका खेल्छ।’

सभापति देउवाले पार्टीबाट मन्त्री भएकाहरूलाई आइतबार निवास बूढानीलकण्ठमा बोलाएर जुनसुकै बेला राजीनामाका लागि तयार रहन भनेका थिए। तर गए राति नै बालुवाटारमा भएको छलफलबाट नयाँ समीकरण बनाउने सहमति प्रधानमन्त्री दाहालले गरेपछि कांग्रेसले उक्त कदमलाई अप्रत्याशित र अविश्वसनीय भनेको छ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन टुट्दा कांग्रेसलाई तत्कालका निम्ति घाटा भए पनि दीर्घकालका लागि फाइदा हुने बताएका थिए। ‘गठबन्धन टुट्दा तत्कालका लागि घाटा देखिन्छ। हाम्रा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरूका पद गएका छन्। उहाँहरूले सरकारबाट जनतामा डेलिभरी दिने अवसर टुटेको छ। कांग्रेसलाई अर्को अवसर आएको छ, जनतामा जाने र पार्टी निर्माणमा लागेर पार्टी जरैदेखि बलियो बनाउने।’ 

उनले भने, ‘जनता केन्द्रित पार्टी संगठनमा लागौं। जनता केन्द्रित गरेपछि कसैसँग गठबन्धनको बाध्यता गर्न आवश्यक छैन। हिजो पनि हामी माओवादी केन्द्रकै आग्रहमा गठबन्धनमा गएका थियौं। तर हामी एक्लै चुनावमा जान सक्ने शक्ति छ।’ हिजो २०७९ को चुनावमा कांग्रेस एक्लै चुनावमा जान खोजेको हो। स्थानीय तहको चुनावदेखि नै माओवादी कांग्रेससँग गठबन्धनमा थियो। कोइरालाले भने, ‘प्रचण्डजीले जनतासँग गरेका वाचा भुल्नु भयो। अब उहाँलाई नै जनताले सोध्छन् हामीसँग गरेका वाचा खोइँ ? भन्दै।’

कोइरालाले गठबन्धन टुट्दैमा निराश हुनुपर्ने आवश्यकता नरहेको भन्दै ‘पार्टीमा एकता र सहकार्यको संस्कृतिसहित नागरिकका समस्या सुन्नेमा लागौं।’ अब प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सहभागी हुने तय भए पनि अरू दलको विषयमा भने कुनै टुंगो लागेको छैन। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.