दोहोरो नागरिकता लिने व्यक्ति पक्राउ
काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले दोहोरो नागरिकता लिने एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ स्थायी ठेगाना भएको राजु गुरुङले काभ्रेबाट पनि नागरिकता लिएको पाइएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
गुरुङलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले थप आवश्यक अनुसन्धानका लागि आइतबार पठाएको डीएसपी श्रेष्ठले बताए। गुरुङले काभ्रे जिल्ला बनेपा नगरपालिका-१४ बाट ३०-०१-७४-१०९७७ नम्बरको जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता र सोही नागरिकताका आधारमा राहदानी समेत लिएको देखिएको प्रहरीले जनाएको छ।
गुरुङले स्थायी काठमाडौं महानगरपालिका-४ बाट २७१०६०/१२०२०५ नम्बरको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र सोही नागरिकताका आधारमा राहदानी लिएको देखिएकाले थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
उनले स्थायी ठेगाना जन्मस्थान चितवन जिल्ला भरतपुर उपमहानगरपालिका-९ राखेर नागरिकता बनाएको र सोही नागरिकताका आधारमा काभ्रे जिल्लाबाट र काठमाडौंबाट नागरिकता लिएर राहदानी बनाएको देखिएकाले पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।