भक्तपुरमा हत्या घटनामा संलग्नको आरोपमा एकजना पक्राउ
काठमाडौं : प्रहरीले भक्तपुरको सूर्यविनायक-८स्थित रोधन बस्नेतको गोठमा मृत अवस्थामा भेटिएका गोपालप्रसाद ढकालको हत्या आरोपिलाई पक्राउ गरेको छ। तेह्रथुम छथर गाउँपालिका-२ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा बस्दै आएका ढकालको कोठाभित्र शव भेटिएको थियो।
गोपालको श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको भन्दै जगाती प्रहरी वृत्तमा फागुन १० गते उजुरी दिएकी थिइन्। श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिएर आउनु भनी फोन आएको उनले प्रहरीलाई बताएकी थिइन्।
सोही सूचनाका आधारमा खोजतलासका क्रममा फागुन ११ गते बस्नेतको घरमा ढकालको शव भेटिएको थियो। अनुसन्धानका क्रममा सुवालले नै हत्या गरेको खुलेपछि शनिबार पक्राउ गरिएको उपत्यका उपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनको साथबाट ढकालको मोबाइल र ज्याकेट बरामद भएको छ। घटनापछि उनी फरार थिए। काभ्रेपलाञ्चोक मण्डन देउपुरनगरपालिका-६ बाट पक्राउ परेका सुवासलाई थप अनुसन्धान लागि प्रहरी बृत्त जगाती भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।