कर्णालीले बनायो मानसिक स्वास्थ्य रणनीति

कर्णालीले बनायो मानसिक स्वास्थ्य रणनीति
मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति निर्माणका विषयमा अन्तर प्रदेश स्तरीय अनुभव आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै। तस्बिर : बिस्नप्रसाद न्यौपाने।

वीरेन्द्रनगर : कर्णाली प्रदेशले मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति निर्माण गरी लागु गरेको छ।  कर्णाली प्रदेश मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति निर्माण गरी लागु गर्ने पहिलो प्रदेश बनेको छ। 

रणनीति निर्माण र त्यसको कार्यान्वयन अवस्थाबारे सिकाइ आदान प्रदान गर्न तीन प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएर अन्तर प्रदेश स्तरीय अन्तरक्रिया गरिएको छ। निर्माण प्रक्रिया र त्यसको कार्यान्वयन बारे अनुभव सुन्न लुम्बिनी, गण्डकी र मधेश प्रदेश सरकारका मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका हुन्।  

प्रदेश स्तरमा मानसिक स्वास्थ्य रणनीति कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष र अवसरको विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक विकास मन्त्रालय कर्णाकी प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले मानसिक स्वास्थ्यलाई सवल बनाउन रणनैतिक कार्ययोजनाले बल पुगेको बताए। कार्यक्रममा कर्णाली प्रदेशको मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति निर्माण समितिका सदस्य कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा.शुसिल समदर्शीले कर्णालीमा मानसिक स्वास्थ्य समस्याका बिरामी धेरै भए पनि त्यसको उपचारका लागि विशेषज्ञ जनशक्तिको अभाव रहेको बताए। उनले भने, 'कर्णाली प्रदेश अस्पतालमा २ जना विशेषज्ञ डाक्टर छौँ। अन्य जिल्लामा जनशक्ति छैनन्। मानसिक स्वास्थ्य समस्याको उपचार नगरिकको पहुँचमा छैन। कर्णालीमा वयष्क जनसंख्याको ११.७ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको छ।' 

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना लागु गरी सबै आधारभूत तहका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न कार्यक्रम सुरु गरिएको बताए। उनले कर्णालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, विभेद र  हिंसाजन्य समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गए पनि सरकार त्यसको निर्वारणका कार्यनीति बनाएर काम गर्न लागेको बताए। 

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले कर्णाली प्रदेशले मानसिक रोग निवारणका लागि सुरु गरेको पहल आफूहरुका लागि उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने बताइन्। कार्यक्रममा अन्य प्रदेशका मन्त्री तथा सचिवहरुले मनोमानसिक स्वास्थ्यमा गरिएको कामको बारेका जानकारी गराएका थिए। लुम्बिनि प्रदेश स्वास्थ्यमन्त्री राजु खानालले मानसिक रोग लुम्बिनी प्रदेशमा पनि चुनौतिको रुपमा रहेको बताए। उनले अहिले लुम्बीनी प्रदेशमा करिव १४ हजार मानसिक रोगबाट ग्रसित रहेका बताए। 

कार्यक्रममा डा. बासुदेव कार्कीले यस रोगका विरुद्ध पर्याप्त औषधी नहुनु, दक्ष जनशक्ति नहुनु, अनुगमन तथा मूल्याङ्कन नहुनु र मनोपरामर्शकर्ताको अभावले समुदाय स्तरसम्म उपचारलाई सहज बनाउन कठिनाइ रहेको बताए। मानसिक रोगका विरुद्ध सरकारलाई सहयोग गर्दै आएको बीस दुतावासका प्रतिनिधि प्रतिक्षा सिम्खडा बास्कोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना बनाउने कर्णाली प्रदेश सरकार पहिलो भएको भन्दै यसको उपचार सेवा पालिकास्तरसम्म सहज बनाउन आग्रह गरिन्। 

सिएमसी नेपालका प्राविधिक निर्देशक समेत रहेका वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तीनै तह संघ प्रदेश र स्थानीय सरकार योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.