‘होलिस्टिन’ गाईबाट सशक्त बन्दै सिन्धुलीका महिला

‘होलिस्टिन’ गाईबाट सशक्त बन्दै सिन्धुलीका महिला

 काठमाडौं  : बर्सेनि साढे ४ लाख युवा शक्ति अध्ययन तथा रोजगारीका लागि बिदेसिरहेको बेला सिन्धुलीको कमलामाई नगरपालिकाकी १७ वर्षीया उमा सुवेदी भने स्वदेशकै कृषिमा भविष्य देख्छिन्। यसैले ११ कक्षामा अध्ययनरत उनी किसान पेसालाई नै अँगाल्ने अठोटका साथ सक्रिय छिन्। सुवेदी भन्छिन्, ‘आयआर्जनको क्षेत्र कृषि नै बनाउँछु। यसमै भविष्य देखेकी छु। यसैबाट आर्थिक रूपमा सशक्त बन्छु।’ उनको यो भनाइ मात्रै होइन यथार्थतामा उनले कृषि उद्यमीको थालनी पनि गरिसकेकी छन्।

दैनिक औसत ३० लिटर दूध दिने कोरियाको होलिस्टिन बाच्छी ‘गाम्सा’ उनले गत फागुन १ गते उपहारस्वरूप प्राप्त गरिन्। नेपालको दुग्ध क्षेत्रको विकासका लागि दक्षिण कोरियाले २०७९ साल पुसमा नेपाललाई १ सय वटा उच्च आनुवंशिक गुणको बाच्छी र ८ वटा प्रजनन साँढे उपहारस्वरूप प्रदान गरेको थियो। सुवेदी भन्छिन्, ‘उहाँहरूको उपहारलाई लापरबाही गर्नु भएन, संरक्षण गरेर उपयोगी बनाउनुुपर्छ। यसले हामीलाई आर्थिक रूपमा सशक्त बनाउँछ।’ 

सिन्धुलीको कमलामाई नगरपालिकाका ५१ घरधुरीका महिला किसानलाई ८० ओटा होलिस्टिन बाच्छी उपहार स्वरूप दिइएको थियो। यसमध्ये गैयादेवी महिला उद्यमी स्वावलम्बी समूहकी गुणकुमारी घिमिरेले पाल्दै आएको मालीगाईले गत माघ २३ गते जन्माएको बाच्छी सुवेदीलाई ६ महिनापछि लैजाने सर्तमा फागुन १ गते आयोजित उपहार प्रदान समारोहमामार्फत औपचारिक हस्तान्तरण भयो। 

धेरै ठाउँमा छिटो पुग्न सकिने टर्निङ प्वाइन्ट भएकाले सिन्धुलीलाई गाईपालनका लागि उचित स्थान मानिन्छ। यहाँ स्थापित नेपालकै अग्रणी कोरिया–नेपाल मोडेल डेरी भिलेजमा नमुना किसान बन्ने तालिम पाएका ५१ जना साना घरेलु कृषकहरूले पशुपालनबाट सुनौलो भविष्य सजाएका छन् र कृषिमा नै भविष्य देख्नेहरूका निम्ति उनीहरू सफल उदाहरण भएका छन्। 

यसैमध्ये पहिलो लाभ लिइसकेकी छन् गैयादेवी महिला उद्यमी स्वावलम्बी समहकी घिमिरेले। उक्त उन्नत प्रजातिको मालीगाईले बाच्छी ‘गाम्सा’लाई जन्माएपछि दैनिक औसत ३०–३२ लिटर दूध दिन थालेपछि उनलार्ई आर्थिक लाभ भएको छ। यसअघि लोकल गाईले दैनिक २–३ लिटर र जर्सी गाईले दैनिक ५–६ लिटर दूध दिन्थे। थोरै परिमाणमा दूध हँुदा किसानी पेसाबाट मात्रै आयआर्जन गर्ने ढुक्कको स्थिति थिएन तर अब यो पेसाले आर्थिक रूपमा सशक्त हुन सक्नेमा उनी ढुक्क छिन्। घिमिरे भन्छिन्, ‘आर्थिक रूपमा सशक्त बन्न उन्नत जातको गाईपालनले मद्दत पुर्‍याउनेछ। धेरै दूध दिने अर्थात् उन्नत नश्लको यो एउटा मात्रै छ। एउटै गाईबाट प्रशस्त आम्दानी लिन्छु भन्नेभन्दा पनि यो सुरुवात हो। यसले आम्दानीको बाटो खोलिसक्यो।

गाउँमा यी गाईहरू आएपछि विस्तारै आर्थिक परिवर्तन देखिन थालेको छ। यसले महिला सशक्तीकरणको पाटोलाई सबल बनाउन सघाएको छ। घिमिरेले भनिन् करिब एक महिना दूध बेचेपछि यसको नियमित आम्दानी कति हुन्छ भनेर यकिन हुन्छ।’ नजिकैको विद्यालयमा ११ र १२ कक्षामा नेपाली विषयसमेत अध्यापन गर्दै आएकी उनी गाईबाट नियमित कमाइ हुन थालेपछि अर्को थप्ने सोचमा छिन्। शिक्षण पेसा र गाईपालनलाई एकैसाथ अगाडि बढाइरहेकी घिमिरे भन्छिन् ‘आम्दानी राम्रो भयो, सन्तुष्टि भयो। दूधको बजारीकरण भयो भने शिक्षण छोड्न सकिन्छ तर अहिल्यै गाईमात्रै पाल्ने गरी हामफाल्ने स्थिति छैन। अहिले दूधको बजारीकरणमा समस्या छ’ उनले भनिन्। उनका श्रीमान् भोला अधिकारी पूर्ण रूपमा किसानी काम गर्छन्। घरव्यवहार सोही आम्दानीमै निर्भर छ। दिनभर गाईपालनमा एक जना खट्नु नै पर्छ। खटाइअनुसार अब आयआर्जन हुन थालेकाले आयआर्जन राम्रै हुनेमा अधिकारी पनि विश्वस्त छन्। 

यता स्नातक उत्तर्णि गरेकी ३४ वर्षीया सम्झना दाहालले पनि कृषिलाई नै आफ्नो पेसा बनाएकी छन्। कमलामाई नगरपालिका–५ की दाहाल सुरुमा यो गाई दुधालु हुन्छ, धेरै आम्दानीको बाटो हुन्छ भनेपछि उनलाई यसैमा रम्ने मोह जागेको थियो। स्नातकसँगै जेटीए पनि अध्ययन गरेकी दाहालले २०६६ सालमा विवाह गरेपछि बालबच्चा भएसँगै बाहिर काम गर्ने माहोल जुरेन। यसैबेला हेफर इन्टरनेसनल नेपालले महिलाहरूको समूह गठन गर्‍यो। एउटा अधिकृतको तलबबराबरको आम्दानी होलिस्टिन उन्नत जातको गाईबाटै हुन्छ भन्ने सुनेपछि किसान पेसा नै रोज्न प्रोत्साहित भएको उनले सुनाइन्। दाहाल भन्छिन्, ‘बरु घरमै बसेर गाईपालन गरौं न, किन दुवैजना जागिरमा जानुपर्‍यो भन्ने सोच आएर गाई पाल्न थालें। अझ सुरुमा बालबच्चा भएकाले गाईको बारेमा पहिल्यै सरहरूले धेरै दूध उत्पादन हुने, तपाईंहरूलाई एकजना अधिकृतबराबरको आम्दानी घरमै उत्पादन गराउँछौं।’

किसानहरूलाई माथिल्लो तहको किसान बनाउँछौं भनेर प्रोत्साहन गरेकाले पनि प्रेरित भएको बताउँछिन्। उनले पालेको होलिस्टिन प्रजातिको गाई जेठ १९ गते ९ महिना पूरा हुन्छ। यसपछि गाईको दूधबाट आयआर्जन बढाउनेमा उनी उत्साहित छिन्। अहिलेसम्म एउटा गाईलाई करिब १ लाख ६० हजार रुपैयाँबराबरको खर्च भइसक्यो। अब उनी गाईको दूधबाट लगानी उठाउने प्रतीक्षामा छिन्। उनी भन्छिन् ‘आफू पढेकी मान्छे किसानी काम भनेर कहिल्यै यसबाट भाग्न खोजिन।’ सुरुमै पनि १० लिटर दूध दिने होलिस्टिन क्रस गाई पाल्दै आएकाले यो काम गरे भनेर पछुतो नलाग्ने बताउँछिन्। 

हाल, मोडेल डेरी भिलेजमा ६७ अन्य होलिस्टन बाच्छीहरू गर्भवती छन्। यी गाईको दूध उत्पादन औसतमा दैनिक ३० लिटरभन्दा बढी हुने अनुमान गरिएको छ, जुन नेपालका गाईको औसत दूध उत्पादनभन्दा तीन गुणा बढी हो। कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेल पनि अब बजारीकरणको समस्या नहुन अन्तर्राष्ट्रिय स्तरमै बिक्री गर्ने विकल्पहरू खोजिने बताउँछन्। यो नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन सबै लागिपरेका छन्। यो प्रजातिको एउटै गाईले छाकमा २० लिटरसम्म दिँदा दैनिक ४० लिटर हाराहारीसम्म दिन्छ।

मेयर पोखरेल भन्छन्, ‘घरमै बसेर एउटै गाईबाट ६०–७० हजार रुपैयाँ कमाउन सकिन्छ। यसलाई गोठ विस्तार गरेर ५ सयमा लैजाँदैछौं। अहिले यो नगरपालिकाको २ वटा वडाबाट ५ वटामा विस्तार गर्न कृषक छनोट गरिएको छ। यसका लागि कृषकको समूह बढाईंदै छ। यस अनुरूप दुग्ध उत्पादन बढ्न थालेपछि सहकारीमार्फत डेरीको रूपमा सञ्चालन गरेपछि जनताको जीवनस्तरमा आकाशपातालको फरक हुन्छ।’ यसले बाहिर जानुपर्ने अवस्था पनि अन्त्य हुने उनको ठहर छ। यद्यपि सिन्धुली सबैभन्दा कम वैदेशिक रोजगारीमा जाने संख्यामा पर्छ। यहाँका किसान जुनार, सुन्तला उत्पादन, पशुपालनजस्ता कृषिमै आधारित भएकाले वैदेशिक रोजगारमा कम गएका हुन्। उनका अनुसार अहिले यो नगरपालिकामा मात्रै करिब पाँच हजार घरधुरी कृषिमै आधारित छन्। 

यसै अनुरूप सिन्धुलीमा कोरिया–नेपाल मोडेल डेरी भिलेजको फागुन १ मा औपचारिक उद्घाटन भइसकेको छ। यसलाई नेपालका लागि कोरियाका राजदूत ताएयोङ पार्क र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले उद्घाटन गरेका थिए। यससँगै नेपालको दुग्ध क्षेत्रमा कोसेढुंगा सावित भएको छ।

यसैक्रममा सचिव डा. पौडेलले होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरणलगायतका लागि मन्त्रालयले सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे। डा. पौडेल भन्छन्, ‘कमलामाई नगरपालिकाका–४ र ५ मा जस्तै होलिस्टाइन जातका गाई अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ। यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ। कृषि क्षेत्रको मेरुदण्डका रूपमा रहेका साना किसानका लागि दिगो विकास र समृद्धिलाई प्रवद्र्धन गर्ने गरी डेरी क्षेत्रलाई आधुनिकीकरण गर्ने दिशामा यो सराह्रनीय कदम हो।’ यता कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइनजस्ता उन्नत जातका गाईपालनबाट यहाँका किसानको जीवनस्तर उकास्नेमा ढुक्क छन्। 

यसैले अब दुग्ध क्षेत्रमा लक्षित गरेर परियोजना अघि बढेको छ। यस परियोजनाका आगामी पाँच वर्षसम्मका लक्ष्य नै मोडेल डेरी भिलेजको सफल सञ्चालन र राष्ट्रियस्तरमा यसको पहिचान गर्ने, पाँच सय घरधुरीमा उत्कृष्ट पशुपालन प्रविधिको अवलम्बन, साइलेज प्लान्ट निर्माण तथा सञ्चालन, पहिलेदेखि पाल्दै आएका सबै होल्सटेन वर्णशंकर गाईहरूमामा कृत्रिम गर्भाधानका लागि उच्च गुणस्तरका कोरियन सिमेनको प्रयोग गरी वंश सुधार गर्ने, उत्पादन गरेका सफा र शुद्ध दूध एकै ठाउँमा सहकारीमार्फत संकलन, सोको गुणस्तरीय प्रशोधन, तथा उच्च मूल्यमा बजारीकरणको लागि बुटिक डेरी स्थापना तथा सञ्चालन गर्ने लगायतको योजना रहेको छ। यो कार्यक्रमको दिगोपना छ। 

पशुपालनमा नवीनतम प्रविधिहरूको अवलम्बन गर्दै सञ्चालन गरिने यो कार्यक्रम पूर्ण रूपमा वातावरण मैत्री हुनेछ। डाले तथा बहुवर्षे भुइँ घाँसहरूको अधिकतम उत्पादनका साथ सञ्चालन गरिने घाँसमा आधारित पशुपालन, मलमूत्रको उचित व्यवस्थापन र कार्यक्रममा आबद्ध सबै कृषकको घरघरमा बायोग्यास प्लान्टको सञ्चालन र उत्पादित लेदो मल तरकारीखेती तथा घाँसखेतीमा प्रयोग गरिने हँुदा यो परियोजना पूर्ण रूपमा वातावरण मैत्री र दिगो हुनेछ। 

त्यसैगरी परियोजनाको समाप्तिपछि यसको साझेदार र सहकर्मी संस्था कमलामाई नगरपालिकाले यसको पूर्ण अपनत्व लिई निरन्तरता दिनेछ। यसैगरी प्रदेश सरकार मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रबाट समेत निरन्तर सहयोग रहनेछ। यसको साथै कार्यक्रमको समूहहरूमा आबद्ध सम्पूर्ण महिला सदस्यहरू कानुनी मान्यता प्राप्त एक सफल सहकारी संस्थाको सदस्यको रूपमा रूपान्तरण हुने र आफ्ना सदस्यहरूलाई व्यावसायिक कृषक बनाउँदै लग्ने हँुदा संस्थागत रूपमा पनि परियोजना दिगो रूपमा सञ्चालन हुनेछ।

    कोरियाको होलिस्टिन बाच्छी ‘गाम्सा’ ले दैनिक औसत ३० लिटर दूध दिन्छ।
    सिन्धुलीको कमलामाई नगरपालिकाका ५१ घरधुरीका महिला किसानलाई ८० ओटा होलिस्टिन बाच्छी उपहार स्वरूप दिइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.