८ वर्षदेखि निरन्तर नाफामा विद्युत् प्राधिकरण : ६ महिनामै १५ अर्ब नाफा, १३ अर्बको निर्यात

८ वर्षदेखि निरन्तर नाफामा विद्युत् प्राधिकरण : ६ महिनामै १५ अर्ब नाफा, १३ अर्बको निर्यात
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। यो प्राधिकरणको अपरिष्कृत विवरण हो। गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो।

गत वर्षको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको सोही अवधिको नाफा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी छ। आव २०७२/०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विद्युत् खरिद, प्रशासनिक, आयोजनालगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको  विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले उल्लेख्य नाफा कमाउन सफल भएको बताउँछन्। प्राधिकरणले पहिलोे ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ। यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ।

null

प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो। समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ।

१३ अर्बको विद्युत् निर्यात, २ अर्बको आयात 

नेपाल विद्युत् प्राधिकरणको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि. एनभीभीएनलाई बिक्री गरिरहेको छ। 

एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। ६ महिनामा १ अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ। सुक्खायाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। समीक्षा अवधिमा २२ करोड ५ लाख युनिट विद्युत् आयात गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.