१४४ वर्षपछि कोटीहोम
अछाम : अछामको वैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको हो। कोटीहोम महायज्ञ साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म सञ्चालन हुनेछ।
पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा ६/६ वर्षमा गरिने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२÷१२ वर्षमा गरिने महालक्ष्यहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न तयारी थालिएको मुलआयोजक समितिले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैद्यनाथ धामको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्। अल्प, मध्य र दीर्घकालीन रूपमा छुट्याएर पूर्वाधार निर्माण गरिनुपर्नेमा उनको जोड थियो।
अछामको वैद्यनाथ धाममा बिहीबारबाट सुरु भएको कोटीहोम महायज्ञको उद्घाटन गर्न पुगेका राष्ट्रपति पौडेलले चार धाममध्येको एक वैद्यनाथ धामको महत्व र महिमाका विषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको बताए।उनले बैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौंगुणा बढी पुण्य प्राप्त हुने जनविश्वास रहेको बताए। वैद्यनाथ धामजस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षरणका लागि तिनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए।
‘सुदूूरपश्चिम देवालयहरू, देवी देवताको बास भएको पुण्यभूमि हो। यहाँ बडिमालिका, खप्तड, वैद्यनाथ, उग्रतारा, शैलेश्वरी जस्ता धामहरू छन्। म आज अछाम आउन पाएर धन्य भएको छु’, राष्ट्रपति पौडेलले भने। उनले सुदूरपश्चिम ऋषिमुनिहरूले तपस्या गरेको तपोभूमि, पवित्रस्थल, कला संस्कृतिले भरिपूर्ण रहेको प्रदेश भएको बताए।
पर्यटनको सुरुवात तीर्थाटनबाट भएको भन्दै नेपालमा पछिल्लो समय धार्मिक यात्रासँगै पर्यटनको विकास भएको बताए।
वैद्यनाथलाई थप आकर्षणको केन्द्र बनाएर पर्यटकीय गन्तव्यकारूपमा स्थापित गर्नसके लाखांै पर्यटकहरू भित्रिने र आर्थिक आम्दानी हुनेमा राष्ट्रपति पौडेलले जोड दिए। उनले भने, ‘यसरी धार्मिक रूपमा पर्यटकहरू आए आम्दानीको स्रोत पनि बढ्छ, कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ।’
पवित्र तीर्थस्थल वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, बैदिक सनातन धर्म संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि कोटीहोम सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले बताए।
कोटीहोम सम्पन्न गर्नका लागि डेढ करोड रकम खर्च हुने अनुमान गरिएको कुँवरले बताए। १४४ वर्ष अर्थात् डेढ शताब्दी आफैंमा एक इतिहास भएको भन्दै कुँवरले कोटिहोम गर्ने र देख्न पाउने अहिलेका पुस्ताका भाग्यमानी भएको बताए।
वैद्यनाथ धामको ऐतिहासिक कुराहरू उजागर गर्न नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले महत्वपूर्ण सन्देश दिन नेपालका प्रख्यात जगत गुरुदेखि विभिन्न धार्मिक व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको मूलआयोजक समितिका वरिष्ठ उपाध्यक्ष भरत कुमार स्वाँरले बताए।