दलहरू सिद्धान्तच्युत हुनुहुँदैन
राजनीतिक दलका शीर्ष नेतृत्व यथास्थितिवादी हुन् भन्ने छाप जनतामा परेको छ। शीर्ष नेतृत्वप्रति जनता आशावादी छैनन्। शीर्ष नेतृत्वले नयाँ पुस्तालाई वातावरण बनाइदिनुपर्छ। नयाँ पुस्ताले पनि आफ्नो मात्र बखान गरेर हुँदैन। परिवर्तनका लागि तयार हुनुपर्छ। जवाफदेही हुनुपर्छ।
प्रतिद्वन्द्व स्वाभाविक
अलोकतान्त्रिक पार्टीभित्र मात्र बहस हुँदैन। लोकतान्त्रिक दलभित्र नेताहरूबीच प्रतिद्वन्द्वात्मक लडाइँ हुनु स्वाभाविक हो। नीति, सिद्धान्तका विषयमा पार्टीभित्र छलफल हुनु राम्रो हो। प्रतिस्पर्धा पनि स्वस्थ हुनुपर्छ। तर, पार्र्र्टीलाई अहित हुने गरी वा पार्टी विभाजन नै हुने खालको काम गर्नुहुँदैन।
सिद्धान्तमा अडिग
लोकतान्त्रिक शासन प्रणालीमा पार्टीभित्र र अन्य पार्टीबीच प्रतिस्पर्धा राम्रो पक्ष हो। यो लोकतन्त्रका लागि पनि राम्रो मानिन्छ। अहिले नेपाली कांग्रेसभित्र जुन बहस भइरहेको छ, त्यो राम्रो हो। प्रगतिशील र जनमुखी हुनुपर्ने विषय उठेको छ भने त्यो झन् राम्रो हुन्छ। पार्टीको आधारभूत सिद्धान्त के हो ? त्यसमा नेताहरू अडिग हुन सक्नुपर्छ। लरबरिनु हुँदैन।
उपलब्धिको रक्षा
जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुनुपर्छ। जनताले निर्णय गरिसकेका उपलब्धिहरूको प्रतिस्थापन गर्ने बहस कल्याणकारी होइन। बहसका क्रममा कोही प्रतिगमनतिर जाउँ भनेर उकास्ने पनि हुन्छ। कांग्रेसमा पनि संविधान संशोधन गरी हिन्दू राष्ट्रका लागि कुरा उठ्न थालेको छ। यी कुराहरू प्रगतिशील पनि होइनन् र पार्टीलाई पनि हित गर्दैन। पार्टीलाई कसरी अगाडि बढाउने र सशक्त पार्ने विषयमा हुने बहस सकारात्मक हुन्छ। चुनावी रणनीति र चुनावी गठबन्धन गर्ने÷नगर्ने विषयमा बहस हुनु स्वाभाविक हो।
(प्राडा लोकराज बराल, राजनीतिक विश्लेषक हुन्।)