कांग्रेस महासमितिको संकल्प, अब एक्लै चुनाव लड्ने

कांग्रेस महासमितिको संकल्प, अब एक्लै चुनाव लड्ने

काठमाडौं  : सत्तासीन कांग्रेसले अबका कुनै पनि चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने संकल्प गरेको छ। महामन्त्री गगनकुमार थापाले ‘एक्लै चुनाव लड्नुपर्ने’ भनी पेस गरेको सांगठानिक प्रस्तावलाई महासमिति बैठकले बिहीबार सर्वसम्मत पारित गरेको हो। फागुन ७ बाट सुरु भएको महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन, प्रवक्ता प्रकाशशरण महतले पेस गरेको आर्थिक प्रतिवेदन र श्याम घिमिरेले पेस गरेको आर्थिक लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भयो। केन्द्रीय समितिको अबको बैठकले परिमार्जनसहित सबै प्रस्तावलाई अन्तिमरूप दिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 

महासमिति बैठक मुख्य गरी अबको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बहसमा केन्द्रित भएको थियो। संस्थापन पक्षको असहमतिबीच महामन्त्री थापाले उक्त प्रस्ताव बैठकमा पेस गरेका थिए। ‘....नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू शुभेच्छुक तथा समर्थकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं। र, हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं,’ महामन्त्री थापाको संगठानिक प्रस्तावमा छ। यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरूले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने मत छलफलमा राखेका थिए। तर, शेखर कोइराला, महामन्त्री थापालगायत संस्थापन इतर पक्षीय नेताहरूले अबको चुनावमा गठबन्धन गर्न नहुने मत राखेका थिए। 

महामन्त्री थापाको प्रस्तावमा ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुप¥यो’ भन्ने उल्लेख छ। गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साँझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्ने महामन्त्री थापाको प्रस्तावमा छ। ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने छौं,’ थापाले उल्लेख गरेका छन्।

बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए। त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए। तैपनि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो। महामन्त्री गगन थापाले निर्णायार्थ पेस गर्दा कसैले विरोध गरेका थिएनन्। महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए। 

अर्का महामन्त्रीको समसामयिक राजनीतिक प्रस्तावमा समावेश गरिएको विषय व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण भन्ने शीर्षकमा रहेको व्यक्ति बहिर्गमनको पद्घति भन्ने शीर्षकमा रहेको पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको छ। यसकै अर्को प्रतिरूप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ। 

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाललाई १, २, ३, ४ को सिद्घान्तले बाँध्ने पद्घतिको प्रस्ताव गर्छ। राष्ट्रपति पदको शपथ ग्रहण केवल एकपटक, प्रधानमन्त्री बढीमा दुईपटक, मन्त्री तीन र सांसदको शपथ अधिकतम चारपटक। भन्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले भने बैठकमा प्राप्त सुझावको आधारमा आगामी केन्द्रीय समितिको बैठकले प्रतिवेदनहरू परिमार्जन गर्ने बताए। देउवाले समापन समारोहमा बोल्दै भने, ‘यहाँ पास भएका प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकले पास गर्ने छ।’ देउवाले कांग्रेसको नीति कार्यक्रम व्यवहार समयसापेक्ष दूरदर्शी र जिम्मेवार रहने हुँदा अनुकूल अथवा प्रतिकूल अवस्थामा भए पनि कांग्रेसले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए। 

उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले ठूला परिवर्तन र क्रान्ति मध्यमार्गी पार्टीको रूपमा सधैं उभ्याएकोले कांग्रेस दायाँबायाँ कतै नझुकी देशको हितका एजेन्डामा भूमिका निभाउन कांग्रेसलाई फेरि इतिहासले जिम्मा दिएको बताए। उनले अहिले सरकारमा सहभागी भएका कांग्रेसका साथीहरूले शिर झुकाउने काम नगरेको उल्लेख गर्दै भने, ‘९ जना साथी हामी सरकारमा छौं। हामी ९ जनाले पार्टीले शिर झुकाउनुपर्ने गलत काम केही गरेका छैनौं। हामीले कमजोरी सच्चाउने प्रयास गर्दै भ्रष्टाचार नियन्त्रणमा लागेका छौं।’ अर्का उपसभापति धनराज गुरुङले पार्टीसँग गर्ने काम धेरै भएकाले अहिले गठबन्धन गर्ने कि नगर्ने झगडा गरेर बस्ने बेला नभएको बताए। ‘यति महत्वपूर्ण समयमा झगडा गरेर बस्ने बेला होइन। भ्रष्टाचार निमिट्यान्न पार्न लागौं। सम्पत्तिको छानबिन गरौं भनेर मैले भन्दै आएको छु।’

महामन्त्री थापाले कांग्रेसले सबै वर्ग क्षेत्रलाई सम्हालेर लैजाने पार्टी कांग्रेस भएको बताए। ‘अहिले सरकारमा छौं। यो मौकामा राम्रोसँग काम गरौं,’ थापाले भने, ‘ काम नगर्ने मन्त्रीलाई घर पठाऊँ। सरकारमा बसेको बेला आफ्नो क्षमता पनि देखाआंै।’ महामन्त्री थापाले भने, ‘१२ लाख नयाँ कार्यकर्ता थप गरेर संगठन सशक्त बनाएर जाऊँ। पार्टी संगठन बलियो बनाऔं। अनि त्यसपछि हामी कसैको सहारामा हिँड्नु पर्दैन। पार्टी धेरै सशक्त हुन्छ। सतहका कार्यकर्तासँग सदैव हामीलाई दिएको जिम्मेवारी हामी पूरा गर्छौं। देश बन्दैन हुँदैन भन्ने भाष्य परिवर्तन गर्ने जिम्मेवारी हाम्रो हो।’

महामन्त्री विश्वप्रकाश शर्माले महासमितिको बैठकमा गठबन्धनको चर्चा जति धेरै भए पनि कांग्रेसभित्र देशको स्थिति परिस्थिति सँगै धेरै विषयमा छलफल भएको बताए। गठबन्धनका गर्ने नगर्ने विषयले मात्रै प्राथमिकता पाएको जस्तो बाहिर देखिए पनि बैठकमा त्यस्तो नभएको शर्माले दाबी गरे। ‘त्यो विषयका अलावा धेरै महत्वपूर्ण विषयमा छलफल भयो। खुला छलफल भयो। देशको स्थितिका बारे छलफल भए। गुनासोहरू पोखिए। असन्तुष्टिहरू पोखिए,’ शर्माले भने।

शर्माले पार्टी रूपान्तरणका लागि प्राइमरी इलेक्सन २०८४ सालबाट नै सुरु हुने बताए। महामन्त्री शर्माले भने, ‘कुनै पनि तहमा उम्मेदवार उठाउँदा त्यही भूगोलमा रहेका साथीहरूको भावनाअनुसार त्यहीका साथीहरूले छनोट गर्न पाउने प्राइमरीको पद्धतिबमोजिम त्यसलाई पाइलेट प्रोजेक्टका रूपमा लिएर जाने निर्णय गरेका छौं। महासमिति बैठकमा उभिएर कांग्रेस संकल्प गरिरहेको छ। व्यवस्थामा परिमार्जन गर्छौं। अवस्थामा रुपान्तरण गर्छौं,’ शर्माले भने।

पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पाटीभित्र एक अर्काको आलोचना नगरेर विपक्षको आलोचना गर्न सुझाव दिए। कस्तो खाले बदमासी गरिरहेका छन्। कस्तो खाले प्रवृत्ति देखाइरहेका छन् ? त्यतातिर आलोचना र विरोध गर्न उनले सुझाव दिए।

गठबन्धन गर्नै नपर्ने गरी संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। गठबन्धन गर्ने नगर्ने कुराहरू आइरहेको बताउँदै उनले भने, ‘गठबन्धन गर्नै पर्ने गरी संगठन निर्माण गरौं। गठबन्धन गर्नै नपरोस् भनी संगठन निर्माण गरौं न कि अहिले के गर्ने कसो गर्ने भन्ने विषयमा धेरै अलमल गर्नुपर्ने आवश्यकता छैन।’ महासमितिको समापनमा सहमहामन्त्री बद्री पाण्डेले कांग्रेस निराशाबाट आशाको उज्यालो छर्ने पार्टी भएको भन्दै सबैलाई एउटै छहारीभित्र राखेर आशाको सञ्चार गर्न सक्नुपर्ने बताए। उनले भने, ‘अर्को वर्ष महासमिति बैठक गर्दा शक्तिशाली पार्टी हो भनेर उत्साह ल्याउने गरी सबै संगठन निर्माणमा लागौं।’ 

सहमहामन्त्री किशोर सिंह राठोरले गठबन्धनको विषय अहिले नै एजेन्डा बन्न आवश्यक नभएको बताए। ‘यो ४ वर्षपछि निकाल्ने विषय हो,’ उनले भने, ‘यसैमा रुमल्लिनु आवश्यक थिएन। हामी यो पार्टीलाई एक्लै लड्ने र जित्ने बनाउन विविध एजेन्डा यहाँ उठाएर काम गर्न सक्थ्यौं। कांग्रेस पार्टी एक्लै लड्दा पनि बहुमत ल्याउँदै आएको हो। आज गठबन्धन हुँदा पनि यो अवस्थामा पुगेको छ। त्यसैले गठबन्धनको विषयमा अहिले गलफत गर्ने समय हैन।’

सहमहामन्त्री भिष्मराज आङदाम्बेले नविन उचाईमा पु¥याउने कांग्रेस बनाउन सबै एक जुट भएर लैजान आवश्यक रहेको बताए। अर्का सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले महिला विभेद र महिला सहभागिता सँगै पार्टीको चिन्ताको विषयले महासमितिको बैठकमा स्थान पाएको बताइन्। ‘रूखमा भोट हाल्न नपाएको विषय उठ्यो तर रूखमा भोट हाल्न पाउँदा पनि नहाल्ने क्रियाशील सदस्यहरूलाई पनि मेरो यो प्रश्न छ किन भोट हाल्नुभएन ?’ उनको भनाइ थियो।  

यस्तै, समापनमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इतिहासलाई सम्मान गर्दै कांग्रेस एक ढिका भएर लाग्नुपर्ने बताए। ‘एकातिर इतिहासप्रतिको जिम्मेवारी अर्कोतिर वर्तमान पुस्ताको समस्या सम्बोधन गर्दै भावी पुस्तालाई पार्टी विचार, मूल्य र आदर्शसँग अवगत गराउने सोच नै कांग्रेस भावना हो, बीपी विचार हो,’ कोइरालाले भने। पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनस्र्थापित गर्न पार्टी एकताबद्ध हुँदै अगाडि बढ्नुको विकल्प नभएको कोइरालाले बताए। कांग्रेस युवा नेता भूपेन्द्रजंग शाहिले महासमितिको बैठक धेरै पछि आयोजना गर्नु र शान्तिपूर्वक सम्पन्न गर्नु नै उपलब्धि भएको बताए। महासमितिले आमनागरिकका जल्दाबल्दा समस्याका विषयमा स्पष्ट सन्देश दिन यो बैठक चुक्यो। यो बैठकले जनताले भोगिरहेका समस्या, पार्टी आमूल रूपान्तरणको खाका, पार्टी एकताको सन्देश र आमरूपमा नया ऊर्जा उत्साह दिन सकेन।

पार्टीका प्रचार विभाग प्रमुख विश्वकर्माले महासमिति बैठकले शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता जाहेर गरेको बताए। महासमिति बैठकले १२ बुँदे निष्कर्ष निकालेको छ। जसअनुसार कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध वैधानिक रूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गरिएको छ। यस्तै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै अगाडि बढ्ने पनि बताएको छ। मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने १२ बुँदे निष्कर्षमा छ। तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरूलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रतिखबरदारी गरिने पनि महासमितिको निर्णय छ। यस्तै, किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएका पीडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्घता कांग्रेसले गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.