महासमिति बैठक : संस्थापन पक्षधर गठबन्धनकै पक्षमा, इतर पक्ष–विपक्षमै

महासमिति बैठक : संस्थापन पक्षधर गठबन्धनकै पक्षमा, इतर पक्ष–विपक्षमै
सुन्नुहोस्

काठमाडौं : अबका निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने ? कांग्रेस महासमिति बैठकको मुख्य विवाद यसैमा छ। संस्थापन पक्षको ‘असहमति’ बीच महामन्त्री गगन थापाले ‘एक्लै चुनावमा जानुपर्ने’ प्रस्ताव महासमिति बैठकमा गरेका छन्। उक्त प्रस्तावमा संस्थापन पक्ष र इतर पक्षका नेताहरू ‘गुट’ मा बाँडिएर धारणा राख्न थालेका छन्।

बुधबारको छलफलमा संस्थापन पक्षीय जिल्ला अध्यक्षहरूले गठबन्धनबारे अहिल्यै निर्णय गर्न नहुने धारणा राखे। तर, इतर पक्षीय जिल्ला अध्यक्षहरूले चुनावी गठबन्धनका कारण कांग्रेस कमजोर भएको तर्क गरे। 

कांग्रेस स्याङ्जाका सभापति राजु थापाले चार वर्षपछिको चुनावका लागि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नु उपयुक्त नभएको मत राखे। ‘प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ,’ थापाले भने, ‘कांग्रेसले गठबन्धन नगर्ने नीति पारित गर्‍यो भने सत्तागठबन्धन टुट्न सक्छ।’

कैलाली सभापति नारायणदत्त भट्टले पनि चुनावी गठबन्धनबारे निर्णय गर्ने उपयुक्त बेला नभएको बताए। उनले भने, ‘भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिति आउन सक्छ,’ भट्टले भने, ‘गठबन्धन तत्कालीन आवश्यक्ता हो। २०८४ सम्म देशमा के–के हुन्छ ? कम्युनिस्टहरू एक हुन्छौं भनेका छन्। अनि के हुन्छ ? कांग्रेस पार्टी भोलि कसरी सफल हुन्छ ?’ 

कांग्रेस रौतहटका सभापति सुनीलकुमार यादवले गठबन्धन रणनीतिक विषय भएको बताए। ‘गठबन्धनबारे अहिले निर्णय गर्न आवश्यक छैन,’ उनले भने, ‘गठबन्धन राजनीतिक स्थायित्वका लागि गरिएको हो। भ्रष्टाचारका बारेमा कडा नीति हुनुपर्छ।’ सर्लाही सभापति सुरेन्द्र सिंहले गठबन्धनका बारेमा नीतिगत निर्णय गर्न आवश्यक नभएको भन्दै विधान को अक्षरंशः पालना गर्नुपर्ने र गुट उपगुटको अन्त्य गर्नुपर्ने बताए।

पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले गठबन्धनबारे अहिले नै बोल्न आवश्यक नभएको बताए। ‘०७४ मा गठबन्धन नगर्दा पार्टीको कुन हालत थियो भन्ने कुरा बुझ्न आवश्यक छ,’ उनले भने, ‘पार्टीका २० हजार क्रियाशील सदस्य छन्। तर, भोट १० हजार मात्रै आउँछ।’ पार्टीलाई भोट नहाल्ने क्रियाशील सदस्य किन चाहिए ? भनेर उनले प्रश्न गरे। महोत्तरी सभापति नागेश्वर यादवले कांग्रेसलाई सुधार गर्ने विषयमा प्रतिवेदनहरू अपुग भएको बताए। अहिले गठबन्धनको कुरा बेमौसमी भएको भन्दै युवालाई कसरी कांग्रेसलाई समेट्न सकिन्छ भन्नेतिर ध्यान दिनुपर्ने बताए।  

धनुषाका सभापति योगेन्द्र पन्जियारले भने चुनावी गठबन्धन गर्न नहुने मत राखे। ‘अब गठबन्धन गर्नुहुँदैन,’ उनले भने, ‘मधेसमा कांग्रेस कमजोर भइसक्यो।’ 

हुम्ला सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउनुपर्ने बताए। सिरहाका सभापति रामचन्द्र यादवले सरकारमा जान गठबन्धन अनिवार्य भए पनि चुनावअघि गठबन्धन आवश्यक नभएको बताए। रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओलीले जाजरकोट र रुकुमपश्चिमको भूकम्पले पुर्‍याएको क्षतिको विषयलाई प्रतिवेदनमा नसमेटिएको गुनासो गरे। उनले गठबन्धनको विषयमा हतार गरेर निर्णय गर्न नहुने बताए। 

ललितपुर सभापति जितेन्द्र श्रेष्ठले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने बताए। ‘अहिले नै गठबन्धनबारे निर्णय गरेर अघि बढ्दा उचित हुँदैन,’ उनले भने, ‘परिस्थितिअनुसार पछि निर्णय गरिनुपर्छ।’ गोरखा सभापति नन्दु न्यौपानेले पार्टी आफ्नै खुट्टामा उभिन नसकेको बताए। ‘गोरखामा गठबन्धन दलको विचार नमिलेका कारण समस्या भएको छ,’ उनले भने, ‘नेपाली समाजमा कांग्रेसको ठूलो योगदान छ र आफ्नो विचार र सिद्धान्तमा अडिग रहनुपर्छ।’ 

मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेसलाई विकास निर्माणसँग जोड्ने र भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्ने बताए। ‘कांग्रेसले भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्छ र परराष्ट्र नीतिको सही कार्यान्वयन गर्न आवश्यक छ।’ बागलुङ सभापति जितबहादुर शेरचेनले पार्टीमा देखिएको निराशालाई चिर्दै अघि बढ्नुपर्ने बताए।  उनले गठबन्धन रणनीति कुरा भएको र त्यो तत्कालीन समयमा निर्णय गर्नुपर्ने धारणा राखे। 

नवलपरासीका सभापति महेन्द्र जिसीले जनताले प्रदेश सरकारलाई जोकरका रूपमा लिएको बताए। म्याग्दी सभापति खमबहादुर गर्बुजाले म्याग्दीमा गठबन्धन नगरी चुनाव जित्ने अवस्था नरहेको बताए। बर्दिया सभापति अरुण राठौरले गठबन्धन सरकार बनाँउदा मात्रै आवश्यक हुने बताए। बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेलले पनि कांग्रेस एक्लै निर्वाचनमा जाने आँँट गर्नुपर्ने बताए।

प्युठान जिल्ला सभापति विष्णु गिरीले गठबन्धनको विषयले महासमिति बैठकमा प्रवेश पाउनु गलत भएको बताए। दाङ जिल्ला सभापति शंकर डाँगीले गठबन्धनको मर्मलाई बुझेर कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने बताए। पाल्पा जिल्ला सभापति हिमाल श्रेष्ठले चुनावी गठबन्धनले गर्दा धेरै कांग्रेस पिडीत बन्नुपरेको बताए। रोल्पा जिल्ला सभापति किशोर आचार्यले गठबन्धनले गर्दा कांग्रेसको चुनाव चिन्ह नै हराउने अवस्था आएको उल्लेख गरे। 

रसुवाका सभापति पेम्बा छिरिङले केन्द्रले गठबन्धनबारे जबरजस्ती निर्णय लिन नहुने बताए। तनहुँ जिल्ला सभापति जितप्रकाश आलेले युवा पलायन बढ्दै गएको र स्थानीय तहमा पार्टी संरचनामा राख्ने योग्य मान्छे नै नपाउने स्थिति सिर्जना भएको बताए।  

सुर्खेतका कार्यबाहक सभापति टोपबहादुर रावतले कांग्रेसको नीति नै सहकार्य भएको बताए। जाजरकोट सभापति वेदराज सिंहले गठबन्धन रणनीतिक कुरा नभएको बताए।’

सल्यान सभापति केशबहादुर विष्टले नीतिगत कुरा लेखेर नभई व्यवहारले पार्टीलाई नीतिमा चलाएर देखाउनुपर्ने बताए। जुम्लाका सभापति कर्णबहादुर शाहीले गठबन्धन कसका लागि गर्ने र कसका लागि नगर्ने भन्ने विषय जिल्लालाई दिनुपर्ने बताए। 

कांग्रेसको कोशी प्रदेशका जिल्ला सभापतिहरूले कोशीमा भएको पहिचानको आन्दोलनको विषयको उठान गरेका छन्। कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। ताप्लेजुङ सभापति गजेन्द्र तमुले कोशीमा पहिचानको मुद्दा कांग्रेसले मिलाउनुपर्ने बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.