स्वस्थ जीवनको एउटा गन्तव्य

स्वस्थ जीवनको एउटा गन्तव्य

रजहर गाउँ साँच्चै सुन्दर ठाउँ हो। उत्तरतर्फको हरियाली वन, दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्ज र पवित्र नारायणी नदीको काखमा अवस्थित रजहर देवघाट र त्रिवेणीजस्तै पर्यटकीय गन्तव्य पनि हो। देवचुली नगरपालिकाको एउटा गाउँमा सामुदायिक प्राकृतिक चिकित्सालयले १३ वर्षदेखि अनवरत सेवा दिइरहेको छ। यहाँ प्रवेश गर्नेबित्तिकै जो कोहीको पनि मन प्रफुल्लित हुन्छ। यहाँका कर्मचारीले गर्ने व्यवहार नितान्त शालीन र बिरामीमैत्री छ।

चिकित्सालय देश–विदेश बस्ने र लामो समयसम्म निरन्तर काम गरेर विश्राम चाहिरहेका या कुनै पनि रोगले सताएर दुःखपूर्ण जीवन बाँचिरहेका रोगीहरूको लागि महŒवपूर्ण गन्तव्य हुन सक्छ। जहाँबाट मानिसले नयाँ जीवन पाएका छन्। यो चिकित्सालयका कारण स्थानीय बासिन्दाले त सेवा पाएकै छन् साथमा ५० भन्दा बढी मानिसले रोजगारी पनि पाएका छन्। स्थानीय स्तरमा आर्थिक गतिविधि बढेका छन्। यहाँ प्रायः तीन किसिमका मानिस स्वास्थ्यलाभलाई आउने गरेको पाइन्छ। पहिलो खालका मानिसमा रोग निदानको अन्तिम विकल्प खोज्ने प्रकृतिका रोगीहरू जस्तै पहिलो स्टेजका क्यान्सर लागेका रोगी, किड्नीको डायलासिस गर्न आवश्यक ठानिएका रोगी, प्रेसरको कारणले अंग नचल्ने अवस्था अर्थात् प्यारालाइसिस भएका बिरामी, अप्रेसनबाहेक विकल्प छैन भनिएका नसा तथा हाडजोर्र्नीका बिरामी साथै अन्य विविध गहिरो र जटिल प्रकृतिका रोग लागेका मानिस।

दोस्रो प्रकृतिका मानिसमा टन्सिल, पिनास, अल्सर, सुगर, प्रेसर, अनिन्द्रा, ढाड दुख्ने, महिनावारी गडबढी, दम, बाथ, कलेजोका रोग, कब्जियत, पायल्स, माइग्रेन, मानसिक रोग आदिसम्बन्धी रोगीहरू आउँछन्। जो एकदेखि दुई महिनामा ठीक भएर जान्छन्। तेस्रो प्रकृतिका बिरामी भन्नाले रुघा, खोकी, ज्वरो, अपच तथा शरीर शुद्धीकरणका लागि आउने बिरामी। शरीर सर्भिसिङका लागि आउने बिरामी जो आफ्नो स्वास्थ्यप्रति सजग छन्् र रोग लाग्नुभन्दा अघि नै निदानका उपायहरू खोज्छन्, ती आउँछन्। अथवा, सानातिना रोगहरू लागेका छन् भने पनि १० देखि १५ दिन बसेर निको भएर जानेहरू पनि छन्। मूलतः विदेशी भूमिमा बसेर एकोहोरो प्रकृतिका कामहरू गर्ने र शारीरिक एवं मानसिक रूपले विक्षिप्त भइसकेका मानिसले धेरैभन्दा धेरै फाइदा लिएको दृष्टान्त छ यहाँ।

लाग्न सक्छ, यति राम्रो र प्रभावकारी चिकित्सालय यो ठाउँमा कसरी स्थापना भयो ?  करिब १७ वर्षअगाडि यस ठाउँका स्थानीय युवा व्यवसायी हरि सापकोटा निकै नराम्रोसँग बिरामी पर्नुभयो। विभिन्न अस्पताल चाहार्नुभयो तर उहाँको स्वास्थ्यमा सुधार आएन। गाउँलेले भिजेका परेलीहरू लिएर उहाँलाई अन्तिम उपायका लागि गोरखपुरको प्राकृतिक चिकित्सालयमा उपचार गर्न बिदाइका हात हल्लाए। पाँच महिनाको उपचारपछि उहाँ पुनर्जीवन भएर फर्कनुभयो। पोखरामा रहेको एक प्राकृतिक चिकित्सालयमा तीन वर्ष स्वयंसेवक बनेर सेवा दिनुभयो। त्यसपछि आफ्नो ठाउँमा फर्किएर प्राकृतिक चिकित्सालयको स्थापना गर्ने सोच बन्यो।

सबै मिलेर महायज्ञ लगाए। महायज्ञमा १ करोड ४३ लाख रुपैयाँ रकम उठ्यो। जुन रकमले पोखरामा सञ्चालनमा रहेको चिकित्सालयलाई स्थानान्तरण गरिदियो। ५२ शय्यासहितको भौतिक संरचना निर्माण गरी २०६७ सालबाट अस्पताल सञ्चालनमा आयो। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले १० बिघा जग्गाको भोगाधिकार र नेपाल सरकारको पहिलो अनुदान २० लाखबाट २०६८ सालमा चिकित्सालयको उद्घाटन गर्नुभयो। जहाँ सयजना बिरामीलाई दैनिक रूपमा सेवा दिन सक्नेगरी शय्याहरूको व्यवस्था गरिएको छ। महिला तथा अशक्तका लागि छुट्टै किसिमको उपचार युनिटहरूको व्यवस्था छ। उच्च राजनीतिक तथा सरकारी निकायका व्यक्तित्वहरूको भ्रमण, अनुगमन एवं अवलोकनका कारण तथा उपचार लिएर सकारात्मक नतिजा प्राप्त हुन थालेपछि सरकारको पनि यस कार्यको बढोत्तरीका लागि ध्यान आकर्षण भएको पाइन्छ।

यसैको उपजको रूपमा ६२ कोठाको करिब आठ करोड लगानीमा बिरामी आवास भवनको निर्माण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटकपटक गरी पूर्ण अनुदानमा निर्माण गरेको छ। गण्डकी प्रदेश सरकारको पूर्ण अनुदानमा ३० लाखको लगानीमा निर्मित आधुनिक महिला उपचार भवन तथा गण्डकी प्रदेश र केन्द्र सरकारको संयुक्त लगानीमा मोडर्न नेचुरोपेथी ट्रिटमेन्ट एवं टिचिङ अस्पताल भवन निर्माणाधीन छ। १३ करोड ३७ लाखको लगानीमा रहेको उक्त भवनको हाल ५ करोडबराबरको रकम निकासा र काम सम्पन्न भएको छ। अपुग ८ करोड ३७ लाख नेपाल सरकारसँग माग गरिएको छ। यहाँ २३ कोठे सुविधासम्पन्न आवासगृह पनि छ। श्यामकृष्ण स्मृति भवनले चिनिने यो आवासगृह गौरादेवी प्रधानले स्किन सोराइसिस र दमको उपचारकै क्रममा श्रीमान्को निधनपछि स्मृतिमा निर्माण गरिएको हो।

चिकित्सालयका व्यवस्थापक हरि सापकोटा भौतिक निर्माणका अन्य काममा के गर्न सकिन्छ भन्ने सन्दर्भमा भन्नुहुन्छ– ‘अधुरा भवनहरूको समयभित्रै निर्माण हुन आवश्यक छ। कम्पाउन्ड वाल लगाउनुपर्ने तथा योगध्यानका लागि हलको निर्माण गर्नुपर्ने, उपचार उपकरणहरू, ल्याब्रोटरी र फिजियोथेरापीलाई व्यवस्थित गर्नुपर्ने, हाइड्रोथेरापीका लागि वाटर पुल र स्विमिङ पुलको निर्माण गर्नुपर्ने, मोडर्न नेचुरोपेथी ट्रिटमेन्ट एवं टिचिङ अस्पताल भवन सम्पन्न भएपछि हाल सञ्चालनमा रहेको ५२ शय्याको मूल भवनलाई सुविधासम्पन्न ज्येष्ठ नागरिक उपचार केन्द्रको रूपमा विकास गर्नुपर्ने अवस्था छ।’

चिकित्सालयका सामाजिक गतिविधि पनि अनुकरणीय छन्। कोरोनाको कहर चलिरहेको बेला यस चिकित्सालयमा आठ सयभन्दा बढी कोरोना संक्रमितले सेवा प्राप्त गरे। सो समयमा बिरामीहरूको मृत्युदर शून्य प्रतिशत रह्यो। व्यवस्थापक सापकोटा थप्नुहुन्छ– ‘चिकित्सालयले स्थानीय समूह, संघ, संस्था, स्कुल कलेज, सहकारीसँग सहकार्य गर्दै योग र प्राकृतिक चिकित्साको महत्व, जीवनशैली सुधारसम्बन्धी जनचेतना सञ्चालन गर्दै आएको छ। बिरामीलाई आवश्यकता र अवस्था हेरी छुट र निःशुल्क उपचार गरेको छ।’

विकासविद् शर्मा चिकित्सालयका सेवाग्राही हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.