ललिता निवासले सिकाएको सबक

ललिता निवासले सिकाएको सबक
सुन्नुहोस्

बहुचर्चित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणबारे अदालतले दिएको फैसलापछि नेपाली बजार तातिएको छ । भूमिसम्बन्धी मुद्दामा अदालतले गरेको हालसम्मकै ठूलो फैसला भएकाले पनि फैसलाको आशयबारे बिभिन्न कोणबाट बहस हुनु स्वाभाविकै हो । विशेष अदालतले अभियोग लगाएका तत्कालीन उपप्रधानमन्त्री एवं भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित तीनजना मन्त्रीलाई सफाइ दिनुपछाडि पनि भिन्न तर्क र आकलन चलिरहेछ । सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उपप्रधानमन्त्रीसहित मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिसमेत गरी १ सय ७५ जना विपक्षी बनाइएको सन्दर्भमा पनि आआफ्नै तर्क सुनिएका छन् ।

भ्रष्टाचारको आरोपमा १ सय १० जनालाई र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाइएको हो । यही ललिता निवास जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ । यस मुद्दामा राजनीतिदेखि प्रशासनिक र संवैधानिक निकायका व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको थियो । तर, पूर्वप्रधानमन्त्रीहरूलाई बयान मात्रै लिइएको छ । साथै राजनीतिक व्यक्तिहरू चोखिने र कर्मचारी र अन्य संलग्नहरू मात्र कारबाहीमा पर्नुले आमनागरिकमा भने केही चिसो पसेको देखिन्छ । विशेष अदालतले ६५ जनाको जग्गा जफत गर्ने फैसला गरेको हो । अब ललिता निवास र त्यस आसपासको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा हुने फैसला गरेको छ । यसले माटोप्रतिको बेइमानी जसले गरे पनि एकदिन कारबाही भोग्नुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

कसरी सरकारी जमिन निजीकरण हुन्छ र त्यसमा कस्ता व्यक्तिहरू संलग्न हुन्छन् भन्ने एक ज्वलन्त उदाहरण बनेको ललिता निवास प्रकरणको यो फैसलाले सरकारी जमिनमात्र फिर्ता आएको छैन, सरकारी जमिनमा कुदृष्टि लगाउनेहरूलाई एउटा गतिलै सबक पनि सिकाएको छ । साथै यो फैसलामा ललिता निवासको सम्बन्धमा निर्णय गर्ने पूर्वमन्त्रिपरिषद् पूरै जिम्मेवार हुने आशय प्रकट गरिएको छ । आमनागरिक तहमा उठेको राजनीतिक नेतृत्वलाई मात्र उन्मुक्ति भन्ने प्रश्नको जवाफ पनि यो फैसलाले दिएको हुनुपर्छ । यी चारवटै मन्त्रिपरिषद्को निर्णयकर्ता प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई मुद्दा चलाउनुपर्ने आशय फैसलामा देखिन्छ । यदि त्यसो हो भने न्याय सबैलाई बराबर हुनुपर्छ भन्ने भाष्य स्थापित होस् । होइन भने कागजमा लेखिएको कानुनको कुनै अर्थ हुने छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.