कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै भागेश्वर
![कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै भागेश्वर](https://annapurnapost.prixacdn.net/media/albums/Krishi-Dadeldhura1_AqqPPTAcy5_srYgkZHgEy.jpg)
डँडेलधुरा : डँडेलधुराको भागेश्वर गाउँपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै छ। आलुखेती, किवी, च्याउ र अन्य तरकारी खेती र कृषि उपजलगायत कृषिजन्य वस्तु उत्पादनमा भागेश्वर आत्मनिर्भर बनिरहेको हो।
गाउँपालिकाले दुग्धजन्य पदार्थ उत्पादनका लागि पनि कृषकमा प्रत्यक्ष लगानीका साथै अनुदान प्रदान गरिरहेको छ। गाउँपालिकाले कृषि उत्पादनलाई बढाउन कृषक समक्ष र विद्यालयमा शिक्षण सिकाइसहित विद्यार्थीलाई सीप हस्तान्तरण गरी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि उत्प्रेरित गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। गाउँपालिका कृषि विकास इकाइ बगरकोट, डँडेलधुराको आव २०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सञ्चालित कार्यक्रम कार्यान्वयन गरी आत्मनिर्भर बन्ने सूचकांक तयार पारिरहेको छ। आलु उत्पादनमा आत्मनिर्भर बन्नका लागि व्यावसायिक आलुखेती गर्ने कृषकलाई ५० प्रतिशत मूल्य अनुदानमा २ सय ८ क्विन्टल कार्डिनल जातको आलु बिउ, १ सय ४ कृषकलाई वितरण गरेको छ।
हिउँदे सिजनमा आलुको उत्पादन लिइसकेका कृषकबाट तथ्यांक संकलन गर्दा प्रतिरोपनी ६ देखि ८ क्विन्टल आलु उत्पादन भएको कृषि शाखा बगरकोटले जनाएको छ। अन्य साग र तरकारीका लागि पनि बिउ वितरण गरेको जनाएको छ। पोषणमैत्री वडा घोषणा अभियानअन्तर्गत वडा– २ का सबै विद्यालयमा करेसाबारी निर्माण तथा सामग्री सहयोग गरेको छ। विद्यार्थीलाई करेसाबारी निर्माणमा सहभागी गराई पोषण विशेष कार्यक्रम सञ्चालन भएको छ। साथै भागेश्वर– ४ को कैलपाल र वडा– ५ चुल्ललाई किवी खेतीका लागि किवी नर्सरी बिरुवा उपलब्ध गराइएको छ।
गाउँपालिका अध्यक्ष हेमराज चटौतले कृषक क्षमता विकास कार्यक्रममा भागेश्वर– १ र ३ का दुर्गम बस्तीका १० कृषक समूहमा च्याउ खेतीसम्बन्धी स्थलगत तालिम सञ्चालन गरी कन्ये जातको च्याउ र तरकारी बिउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)