दोलखाको नाँ गाउँमा बिजुली पुग्यो
दोलखा : जिल्लाको गौरीशंकर गाउँपालिका–९ को रोल्वालिङ उपत्यकामा पर्ने विकट नाँ गाउँमा विद्युत पुगेको छ। उक्त गाउँमा तीन दिनअघि बिजुली पुगेको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोलार प्लान्टमार्फत् विद्युत सेवा प्रदान गरेको हो।
विद्युत् र टेलिफोन सेवा पुर्याउन चुनौती रहेको नाँ गाउँमा प्राधिकरणको विद्युत् ल्याउन टाढा भएपछि सोलार प्लान्टबाट विद्युत सेवा सुरु गरिएको हो।
गाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अर्थात् ३ करोड १४ लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ९८ हजार गरी कूल ३ करोड ४८ लाख रुपैयाँ लगानी रहेको छ।